0
सामान्य भाषामा भन्दा हड्डी कमजोर हुने अवस्थालाई ओस्टियोपोरोसिस भनिन्छ भने मेडिकल भाषामा हड्डीको बोन मिनरल डेन्सिटी जवान मानिसको तुलानामा २.५ स्टान्डर्ड डेभिएसनभन्दा कम भएको अवस्थालाई मानिन्छ । प्रत्यक्ष रूपमा ओस्टियोपोरोसिसबाट केही समस्या नभए पनि अप्रत्यक्ष रूपमा यसबाट शरीरमा दीर्घकालीन असर परेको पाइन्छ । यो रोगको प्रमुख समस्या भनेको हड्डी यति धेरै कमजोर हुन्छ कि सामान्य प्रकृतिको चोटपटकले पनि शरीरका प्रमुख हड्डीहरू सजिलैसँग भाँच्चिन पुग्छन् । विशेषगरी बुढाबुढी उमेरका मानिसहरूमा बाथरुममा चिप्लिएर, घरभित्रको कार्पेटमा अल्झिएर अथवा भित्तामा ठोक्किएर हड्डी भाँच्चिन गई जटिल प्रकृतिको शल्यक्रिया गर्नुपरेको तितो अनुभव हामीहरूमध्ये धेरै मानिसहरूलाई हुनसक्छ । वैज्ञानिक तरिकाले विश्लेषण गर्दा उमेर पुगेका मानिसहरूमा हड्डी भाँच्चिने प्रमुख कारण ओस्टियोपोरोसिस नै हो । अर्को रोचक तथ्य के छ भने बुढाबुढीहरूको हिपजोर्नी भाँच्चिएमा सामान्यतया शल्यक्रियाको आवश्यकता पर्छ । अन्यथा हिपजोर्नीको हड्डी यत्तिकै जोडिने सम्भावना एकदम न्युन हुने भएकाले बुढाबुढीहरू बिस्तारामा लामो समयसम्म थला पर्न सक्छन् । यसबाट यो कुरा प्रस्ट हुन्छ कि ओस्टियोपोरोसिसको कारणबाट परिवार लगायत समाजमा ठूलो आर्थिक भार थपिनुका साथै स्वास्थ्यमा समेत प्रतिकूल असर परेको देखिन्छ । विश्वभर ५ देखि ८ प्रतिशत पुरुषमा र १० देखि ४० प्रतिशत महिलाहरूमा ओस्टियोपोरोसिस भएको अनुमान गरिन्छ । पचास वर्षको उमेरमा १५ प्रतिशत मानिस र ७० वर्षभन्दा बढी उमेरका ८० प्रतिशत मानिसहरूमा यो समस्या भएको पाइन्छ । सबैभन्दा पछिल्लो रिपोर्टलाई विश्लेषण गर्दा संसारभरि वर्षे्नि ९० लाख भाँच्चिएका हड्डीहरू केवल ओस्टियोपोरोसिसको कारणले मात्र भएको पाइन्छ । नेपाल लगायत विकासोन्मुख देशहरूमा ओस्टियोपोरोसिसबाट कति संख्यामा मानिसहरू पीडित छन् भन्ने कुरा आँकलन गर्न गाह्रो भए पनि त्यतिकै अनुपातमा यो समस्या ब्याप्त छ ।
प्रत्यक्ष रूपमा ओस्टियोपोरोसिसका कुनै लक्षणहरू नदेखिए पनि कहिलेकाहीं मेरुदण्डका हड्डीहरू थिचिएर शरीर कुप्रनुका साथै हड्डीहरू कमजोर भएको महसुस हुनसक्छ । धेरैजसो अवस्थामा यो रोगबाट नाडी, मेरुदण्ड र हिपको हड्डीहरू भाँच्चिन्छ । बिना कुनै कारण अथवा सामान्य चोटले मेरुदण्डको हड्डी भाँच्चिदा बिरामीहरूले अस्वाभाविक रूपमा ढाड दुखेको महसुस गर्छन् र कहिलकाहीं भाँच्चिएको हड्डीले ढाडको नसा थिच्दा थप समस्या पनि हुनसक्छ । 
ओस्टियोपोरोसिसका कारणहरू विश्लेषण गर्दा प्राकृतिक रूपमा उमेर बढ्दै जानु यसको प्रमुख कारण हो । महिलामा महिनावारी बन्द भएपछि शरीरबाट इस्ट्रोजन हर्मोन उत्पादन नहुने हुँदा हड्डीहरू निकै नै कमजोर हुन आउँछन्, जसलाई पोस्टमेनोपोजल ओस्टियोपोरोसिस भनिन्छ । महिनावारी हुने अवधिमा शरीरबाट निस्कने इस्ट्रोजन हर्मोनले हड्डी बलियो बनाउन ठूलो भूमिका खेलेको हुन्छ । सत्तरी वर्षपछि महिला र पुरुष दुबैमा हड्डीहरू कमजोर हुँदै जान्छन्, जसलाई सेनाइल ओस्टियोपोरोसिस भनिन्छ । छिटो महिनावारी बन्द हुनु, जवानी अवस्थामा नै पाठेघरको शल्यक्रिया गरेर निकाल्नु, अत्यधिक मात्रामा धूमपान र रक्सी सेवन गर्नु, शरीरमा भिटामिन डी र क्याल्सियमको कमी हुनु, नियमित ब्यायाम लगायत हिँडडुलमा कमी हुनु आदि कारणहरूले हड्डीलाई कमजोर हुने अवस्थामा पुर्रुयाउँछ । शरीरमा हर्मोनको सन्तुलन नभएर हुने रोगहरू जस्तै–कुसिन डिजिज, हाइपरथाइरोइडिजम, टर्नर सिन्ड्रम लगायत सानो आन्द्रामा असर गर्ने रोगहरू जस्तै— क्रोहोन्स डिजिज, अल्सरेटिब कोलाइटिस, मिल्क एलर्जी जसले खानामा भएको तत्त्वहरू सोस्न सक्दैन, त्यस्ता मानिसहरूमा पनि हड्डी कमजोर हुनसक्छ । 
मृगौलाले राम्रोसँग काम नगर्ने अथवा डाइलाइसिस गर्नुपर्ने बिरामीहरूमा पनि हड्डी निकै कमजोर हुन्छ । हामीहरूले प्रयोग गर्ने केही औषधिहरूले पनि हड्डी कमजोर बनाउँछन् । त्यसकारण डाक्टरको सल्लाहबिना आफ्नै तरिकाले औषधि सेवन गर्नु राम्रो बानी होइन । विभिन्न रोगमा रामवाणको काम गर्ने स्टेरोइड भन्ने औषधि जुन गाउँ—गाउँमा उपलब्ध हुन्छ, त्यसको नियमित प्रयोगले पनि हड्डी कमजोर हुन्छ । स्टेरोइड बाहेक क्षारेरोगमा दिइने औषधि (फेनिटोइन), रगत पातलो बनाउने औषधि (हेपारिन, वारफारिन), ग्यास्ट्रिकको समस्यामा दिइने औषधि (ओमेप्राजोल) जस्ता औषधि लामो समयसम्म सेवन गर्दा ओस्टियोपोरोसिस हुनसक्छ । थाइरोइड रोगमा खाने औषधिको मात्रा बढी भएमा पनि हड्डी कमजोर हुनसक्छ । यो बाहेक हड्डी कमजोरी हुने समस्या केही मात्रामा वंशाणुगत पनि हुन्छ । अफ्रिकन मूलका मानिसहरूको तुलनामा युरोपियन र एसियन मूलका मानिसहरूमा यो समस्या बढी भएको पाइन्छ ।
माथि उल्लेख गरिएका लक्षण र अवस्थाहरू बाहेक हड्डीमा ओस्टियोपोरोसिस भएरनभएको थाहा पाउनका लागि सबैभन्दा पहिला सामान्य एक्सरे गरिन्छ । एक्सरेबाट हड्डी कमजोर भएरनभएको थाहा पाउनुका साथै मेरुदण्डको हड्डीहरू थिचिएको अथवा भाँच्चिएको पनि थाहा हुन्छ । कहिलेकाहीं ओस्टियोपोरोसिस बनाउने अरू रोगहरू अथवा कारणहरू पनि एक्सरेबाट थाहा हुन्छ । तर हड्डी कमजोर भएर एक्सरेमा देखिनका लागि कम्तीमा ३० प्रतिशत हड्डीको डेन्सिटी कम हुनुपर्ने भएकाले एक्सरेबाट सुरुकै अवस्थामा ओस्टियोपोरोसिस भएरनभएको थाहा नहुन सक्छ । ओस्टियोपोरोसिस सुरुकै अवस्थामा पत्ता लगाउने उत्तम विधि डेक्सा स्क्यानिङ हो । तर यो जांँच सबै ठाउँमा उपलब्ध नहुने, उपलब्ध भए पनि खर्चिलो हुने र डाइग्नोसिस गर्ने यो नै अन्तिम उपाय नभएकाले सबै बिरामीहरूले यो जाँच गर्नुपर्ने जरुरी हुँदैन । किनभने हड्डी कमजोर भएको अवस्था बिरामीको लक्षणहरू, योसंँग सम्बन्धित अरू रोगहरू र सामान्य एक्सरेबाट पनि सजिलैसँंग पत्ता लगाउन सकिन्छ । कहिलेकाहीं रगत जाँचेर अथवा सिटी स्क्यान गरेर पनि हड्डी कमजोरी भएको थाहा पाउन सकिन्छ ।
ओस्टियोपोरोसिसको समस्याबाट नजानिँदो किसिमले आम मानिसहरू पीडित भएका छन् । सामान्य चोट लागेर पनि ठूला हड्डीहरू भाँच्चिदा परिवारले ठूलो आर्थिक भार बहन गर्नुपर्ने हुन्छ । परिवारका हरेक सदस्यहरू बिरामीको हेरविचार गर्न खटिनुपर्ने बाध्यता आउन सक्छ । त्यसकारण हामीहरू सबै यो समस्याको बारेमा केही मात्रामा सचेत हुन जरुरी देखिन्छ । सबैभन्दा पहिला हाम्रो खानपान र रहनसहनमा परिवर्तन ल्यानु जरुरी छ । पहिला–पहिला गाउँका बुढापाकाहरूले गर्ने धूमपान अहिले कलेजमा पढ्ने विद्यार्थीदेखि बौद्धिक वर्गहरूसम्म फैलिएको छ । चिया खाने क्यान्टिनदेखि सार्वजनिक ठाउँहरूमा समेत धूमपान गर्ने धेरै मानिसहरू अहिलेको अवस्थामा भेटिन्छन् । तर निर्धक्कसाथ धूमपान गर्ने मानिसहरूले के कुरा बुझ्न जरुरी छ भने भविष्यमा क्यान्सर, मुटुको समस्या लगायत हड्डी कमजोर भएर दुस्ख पाउने अवस्था धूमपानकै कारणले आउन सक्छ । त्यसकारण धूमपान गर्ने आदत आजदेखि नै त्यागौं, अनि अरूलाई पनि छोड्न सल्लाह दिऔं । नियमित रूपमा रक्सी सेवन गर्दा हड्डी कमजोर हुनेहुँदा यसको मात्रालाई नियन्त्रण गर्न जरुरी छ । रक्सीको मात्रालाई नियन्त्रण गर्नुपर्छ भन्नाले रक्सी सेवन गर्न मिल्छ भन्न खोजिएको होइन । हामीहरूले खाने खानामा पौष्टिक तत्त्वहरू हुन जरुरी हुन्छ । केवल भोक लागेको बेला भात खाएर पेट भर्नेमात्र आदत नबसालौं । 
सागसब्जी, दूध—दही र फलफूलहरू पनि आफूले सकेसम्म खानुपर्छ । खानामा विभिन्न प्रकारका भिटामिनहरू समावेश हुनुपर्छ, विशेषगरी भिटामिन डी, भिटामिन के र क्याल्सियमको भूमिका महत्त्वपूर्ण हुन्छ । नियमित रूपमा बिहान हिँड्ने, अरू समयमा पनि थोरै–धेरै पैदल हिँड्ने बानी हड्डी बलियो पार्ने निकै नै उत्तम विधि हो । तर तीव्र रूपमा औद्योगिकीकरण भैरहेको आजको समाजमा पैदल हिँड्नका लागि नत हामीहरूसँग समय नै छ, न कुनै संकल्प छ । केवल हामीहरू खुट्टाको प्रयोगबिना लामो—लामो दौडमा लागिरहेका छौं ।
अर्को कुरा ओस्टियोपोरोसिस हुनसक्ने सम्भावित मानिसहरूले चिकित्सकको सल्लाहअनुसार क्याल्सियम र भिटामिन डीको सेवन गर्नुपर्छ । भिटामिन डी खाने मात्रा र तरिका फरक–फरक हुनसक्छ । आफ्नै तरिकाले लामो समयसम्म भिटामिन डी सेवन गर्नु हानिकारक हुन्छ । सामान्यतया ६० हजार युनिट (एक क्याप्सुल) हप्त्तामा एकपटक तीन महिनासम्म खाँदा भिटामिन डीको लेबल रगतमा पर्याप्त हुन आउँछ । त्यसपछि अवस्था हेरेर विशेषगरी बुढाबुढीहरूमा महिनामा एकपटक भिटामिन डी खान आवश्यक हुन्छ महिलामा महिनावारी बन्द भैसकेपछि र पुरुषमा साठी–सत्तरी वर्षको उमेरपछि चिकित्सकको सल्लाहअनुसार क्याल्सियम सेवन गर्दा हड्डी कमजोर भएर भाँच्चिनेसम्मको अवस्थामा पुग्नबाट बच्न सकिन्छ । ओस्टियोपोरोसिसको कारणले एकपटक हड्डी भाँच्चिएपछि अर्कोपटक पनि भाँच्चिने सम्भावाना बढी हुन्छ । त्यस्ता व्यक्तिहरूले पनि चिकित्सकको सल्लाहअनुसार बाइफस्फोनेट (एलिनड्रोनेट) समूहको औषधि सेवन गर्दा हड्डी कमजोरी भएर भाँच्चिने समस्या २५ देखि ७० प्रतिशतले कमी हुन्छ । यो औषधि पनि विभिन्न मात्रा र तरिकाअनुसार दिइन्छ । कुनै इन्जेक्सनबाट पनि दिइन्छ भने कुनै क्याप्सुलको रूपमा हप्तामा एकपटक लामो समयसम्म सेवन गरिन्छ । ओस्टियोपोरोसिसबाट मानिसहरूको ज्यान जोखिममा नभए पनि यसबाट हुने असरहरू जीवनभर पीडादायी हुनेहुँदा यसको बारेमा सचेत हुन जरुरी देखिन्छ ।
केसी सिभिल सर्भिस अस्पतालका अर्थोपेडिक सर्जन हुन् । 

बालबालिकामा थालेसिमिया बढ्दै

नेपालका बालबालिकामा थालेसिमिया नामक रोग बढदै गएको पाइएको छ । समयमै रोगको पहिचान गरी उपचार नभए बालबालिकाको मृत्यु हुन सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । धादिङकी कृष्णा कुमाल जन्मजात थालेसिमियाकी बिरामी हुन् । जन्मेको दिनदेखि नै निदाउँदा उनको नाक बेस्सरी बज्ने गरेको उनका अविभावक सन्दीप कुमालले बताए ।‘ हुर्कंदै जाँदा सामान्यभन्दा फरक हुँदै गई, आमाको दूध पनि खान मानिनँ,’ उनले भने, ‘छाला पनि कहिले रातै कहिले पहेंलै हुन्थ्यो, हामीले खासै वास्ता गरेनौं ।’ बढदो उमेरसँगै कृष्णाको पेट असामान्य तरिकाले फुल्दै गएपछि उनका परिवार आत्तिए । गाउँकै स्वास्थ्यचौकीमा धेरैपटक जाँच गराउँदा पनि उनलाई निको भएन । अवस्था जटिल हुन थालेपछि उनलाई काठमाडौंको कान्ति बाल अस्पताल ल्याइयो । सबै परीक्षणपछि पत्ता लाग्यो– उनलाई थालेसिमिया भएको रहेछ । उनी अहिले ११ वर्षकी भइन् । ३ वर्षदेखि उनको उपचार चलिरहेको छ । उनलाई ३ सातामा एकपटक रगत दिनुपर्ने अवस्था छ । नेपाल थालेसिमिया सोसाइटीले उनको उपचार खर्च व्यहोरिदिएको सन्दीपले बताए ।
सर्लाहीकी रोशनी माझीलाई पनि थालेसिमिया भएको छ । बढदो उमेरसँगै उनमा यो रोग देखिएको थियो । उनी अहिले १५ वर्षकी भइन् । सानैदेखि उनको पेट फुल्ने समस्या रहेको उनले बताइन् । ‘टाउको दुखिरहन्थ्यो, हत्केला, पैताला पहेंलै हुन्थ्यो,’ उनले भनिन्, ‘रिँगटा लागेर लडिरहन्थें, पाँचपटक हातखुट्टा भाँचियो ।’ शरीर पहेंलै हुने भएकाले जन्डिस भएको मान्दै गाउँमा जडीबुटी धेरै खुवाइयो । ७ वर्षसम्म जडीबुटी औषधि चलाउँदा पनि उनको व्यथा कम भएन । त्यसपछि कान्ति बाल अस्पतालमा जाँच गराउँदा थालेसिमिया लागेको थाहा भयो । ७ वर्षदेखि उनी काठमाडौंमै बसेर थालेसिमियाको उपचार गराइरहेकी छिन् । उनलाई महिनामा एकपटक रगत दिनुपर्ने अवस्था छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण नेपाल थालेसिमिया सोसाइटीले उनको सबै खर्च व्यहोरेको छ ।
कान्ति बाल अस्पतालका निर्देशक तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. अजित रायमाझीका अनुसार थालेसिमिया शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा देखा पर्ने रोग हो । यो लागेका बिरामीको शरीरमा रगत उत्पादन नहुने उनले बताए । ‘यो रगतसम्बन्धी अति अप्ठयारो आनुवंशीय रोग हो,’ उनले भने । थालेसिमिया रोगीका दम्पतीबाट जन्मने ५० प्रतिशत सन्तानमा यो रोग देखिने उनी बताउँछन् । यसको अरू समाधान नभएकाले बच्चा जन्माउनुअघि सचेत हुनुपर्ने उनले बताए । नेपाल थालेसिमिया सोसाइटीको तथ्यांकअनुसार नेपालमा सन् १९७२ बाट यो रोग पत्ता लागेको हो । सोसाइटीका अध्यक्ष दुर्गा पाठकका अनुसार हालसम्म नेपालमा ५ सय थालेसिमियाका बिरामी पत्ता लागेका छन् । उनले भने, ‘तथ्यांकमा नआएका धेरै बिरामी छन्, चेतनाको कमीले गर्दा उपचार गराउँदैनन् । सोसाइटीको दर्तामा भने हालसम्म १ सय ८२ बिरामीले उपचार गराएको तथ्यांक छ ।
हाल नेपालमा थालेसिमिया रोगको उपचारमा २ लाख ५० हजार रकम लाग्ने अवस्था छ । सामान्य आर्थिक अवस्थाका बिरामीले खर्च धान्न नसक्ने हुँदा सोसाइटीले यस्ता बिरामीको वार्षिक १ हजार शुल्क लिएर उपचार गराउँदै आएको अध्यक्ष पाठकले बताए । वशांणुगत रोग विशेषज्ञ डा. अमित श्रेष्ठका अनुसार शिशु जन्मेको ४ देखि ६ महिनामा यसको लक्षण देखा पर्छ । समयमै रोगको पहिचान र उपचार नभएमा रगतको कमी भई मुटुको समस्या, इन्फेक्सन भएर मृत्यु हुने उनले बताए । नेपालमा थालेसिमिया रोगको जनचेतना नभएकाले यसबाट धेरै बिरामी ग्रसित हुँदै गएको उनले बताए । 
धेरै बिरामी अझै पनि अस्पताल र चिकित्सकको पहुँचमा पुग्न नसकेको उनको भनाइ छ ।रोग लागेका बालबालिकालाई समयमै पहिचान गरी रगतभित्रको मासी 
(बोन म्यारो ट्रान्सप्लान्ट) प्रत्यारोपण गर्न सकिने विशेषज्ञहरू बताउँछन् । तर, उपचार अत्यन्तै महँगो हुने उनीहरू बताउँछन् । कसैकसैले जिन परिवर्तन गरी उपचार गर्ने विशेषज्ञहरू बताउँछन् । तर, यस्तो उपचार धेरै कम मान्छेमा मात्रै सफल हुने उनीहरूको तर्क छ ।
थालेसिमियाको उपचारलाई सरकारले निस्शुल्क गराउनुपर्ने बिरामीहरूको माग छ । यसका बिरामीलाई उपचारका लागि १ लाखसम्म अनुदान दिनेबारेमा छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फातिमा बानु÷इकान्तिपुर


Post a Comment

 
Top