0
गोल्डेन न्यूज संवाददाता
यही चैत २९ गतेबाट पोखराको कोमागाने पार्कमा सुरु हुने पाँच दिने १४औं फेवा नव वर्ष महोत्सवमा झाँकी र आमा समूहरुको विशेष प्रदर्शन रहने भएको छ । विभिन्न जातजातिका झाँकी महोत्सव उद्घाटन अघि स्थानीय खहरेबाट कोमागाने पार्कमा पुग्ने छ ।  बढी भन्दा बढी जातजातिका संस्कृतिमा आधारित झाँकी महोत्सवमा संलग्न गराउने प्रयास भइरहेको महोत्सवका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ र वरपरका आमा समूह र झाँकीसँग सम्बन्धित व्यक्तित्वहरु सँग संघले छलफल कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । फेवा तालको संरक्षण गरौं भन्ने मुख्य नाराका साथ गत वर्ष झै यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले महोत्सव गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको तालको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको संघका महासचिव एवं प्रचार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए । 
महोत्सव ४० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको संघले जनाएको छ । अघिल्लो बैशाखको विनासकारी भूकम्प र त्यसपछिको नाकाबन्दीले थिलोथिलो पारेको पर्यटनलाई उकास्ने उपायको रुपमा पनि महोत्सव रहेको छ । डुंगा दौड, पर्यटक दौड, लोक र दोहोरी गीतका कार्यक्रम, बाल उद्यान लगायतका आकर्षण महोत्सवले समेट्ने छ । महोत्सवका पाहुनालाई संघले विशेष छुटको समेत व्यवस्था गर्ने तयारी गरेको छ ।







Post a Comment

 
Top