0
गोल्डेन न्यूज संवाददाता
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकता भएको छ । र, राष्ट्रिय जनता पार्टी नामक नयाँ दलको घोषणा भएको छ । पार्टी एकताबाट नेताहरुमा नयाँखालको उत्साह देखिएको छ । विहीबार राजधानीमा ५ पार्टीको एकता घोषणा कार्यक्रम राखिएको थियो । तर, अन्त्यतिर अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी पनि एकतामा सहभागी भयो र ६ पार्टीहरु एक भएको घोषणा गरियो । नेताहरुले यो एकतालाई आपसी लडाइँको अन्त्य भनेका छन् । र, अब आफूहरुलाई बासपास गरेर मुलुकको राजनीति अघि बढ्न नसक्ने बताएका छन् ।
बुधबार मध्यरातमा ५ पार्टीका अध्यक्षहरुले एकता गर्ने र राष्ट्रिय जनता पार्टी बनाउने सहमति गरेका थिए, जसमा विहीबार अनिल झा पनि थपिएपछि ६ पार्टीका नेताले हस्ताक्षर गरेका छन् । दिउँसो पार्टी एकता घोषणा कार्यक्रममा उपस्थित नेता कार्यकर्ता निकै उत्साहित देखिए । एकता सभामा शीर्ष नेताहरुले एकै स्वरमा ‘मधेसी दलहरु मिल्नै सक्दैनन् भन्थे तर, एकता त गरेर देखायौं’ भनेका छन् । तत्कालीन सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘मधेसी पार्टी एकता हुन सक्दैन भन्थे तर, आज त एकता भयो । हामीले आपसी लडाइँ जित्यौं ।’
तत्कालीन फोरम गणतान्त्रिक का अध्यक्ष राजकिशोर यादवले एकताबाट आफू निकै खुसी रहेको बताए । एकता प्रक्रियामा सामेल पार्टीका नेताहरुले पनि अब आफूहरु एक भएको र यो ६ पार्टीको एकता मात्र नभई मधेस विद्रोहको एकता भएको बताए । तराई मधेसका जनताले बारम्बार तिमीहरु मिलेर आऊ भनेको भन्दै उनीहरुले आफूहरुले जनताको चाहना अनुसार एकता गरेको बताए । सरकारले बैशाख ३१ गतेको स्थानीय तह चुनाव जसरी पनि गर्ने भनिरहेका बेला मधेस केन्द्रित ६ पार्टीबीच भएको एकतालाई अर्थपूर्ण मानिएको छ । किनकि उनीहरु संविधान संशोधन नभई चुनाव हुन नदिने अडानमा छन् । एकता प्रक्रियामा आएका दलहरुमात्रै मात्र होइन, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसहितको मधेसी मोर्चा समेत यो चुनाव बिथोल्ने आन्दोलनमा छ । तथापि यो एकताले तराई मधेसमा उनीहरुले गर्ने भनिएको आन्दोलनमा प्रभाव पार्ने देखिएको छ । यससँगै यो नयाँ पार्टी चुनावप्रति नरम हुन्छ कि गरम भन्ने प्रश्न जन्मिएको छ । नयाँ पार्टी घोषणा कार्यक्रममा राष्ट्रिय जनता पार्टीको छातामुनि एकीकृत भएका नेताहरुले संविधान संशोधन नभई चुनाव हुन नदिने संकेत दिएका छन् ।
यथास्थितिमा चुनावमा भाग नलिने संकेत गर्दै अध्यक्ष मण्डलका संयोजक एवं तत्कालीन तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने, ‘३१ गतेको चुनावमा भाग लिनु भनेको वाकओभर दिनु भो । वाक ओभर दिन किन चुनावमा जाने ?’
अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारीले बैशाख ३१ गते चुनाव गरेर देखाउन चुनौती दिए । ‘हामी लोकतन्त्रवादी हो, चुनाव चाहन्छौं तर, वातावरण त हुनुप¥यो नि’ संविधान संशोधन गरेको भोलिपल्टै चुनावमा जान तयार रहेको भन्दै महतोले भने, ‘होइन भने थरुहट–मधेसमा चुनाव गरेर देखाओस् ।’ शरदसिंह भण्डारीले आफूहरुको माग संशोधन नभई देशभर चुनाव हुन नसक्ने बताए । ‘जहाँ चुनाव हुन्छ, त्यो नेपाल हुन्छ’ उनले भने, ‘जहाँ हुँदैन के हुन्छ ?’
चुनावबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई शुक्रबार बिहान साढे ८ बजे बालुवाटारमा बोलाएका छन् । त्यहाँ निर्णायक छलफल हुने नेताहरुको दाबी छ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा र विजय गच्छदार मात्रै होइन प्रतिपक्षी एमालेसमेत मधेसी मोर्चा सहभागी हुन्छ भने दुई चरणमा चुनाव गर्न तयार रहेका छन् । सम्भवतः प्रधानमन्त्रीले शुक्रबार मोर्चाका नेताहरुसँग यही प्रस्ताव राख्नेछन् ।
तर, मोर्चाका नेताहरुको प्रस्तावचाहिँ दोस्रो चरणको निर्वाचनमा भाग लिनका लागि पनि संविधान संशोधन हुनुपर्ने भन्ने रहेको छ । व्यवस्थापिका संसदमा दर्ता भएको पछिल्लो संशोधन प्रस्तावलाई मोर्चाले मानेको छैन । र, एमालेले पनि त्यसमा समर्थन गरेको छैन । सम्भवतः शुक्रबारको बैठकमा सहमतिको विन्दु यो हुन सक्छ कि संशोधन प्रस्तावलाई एमाले र मोर्चा दुबैले समर्थन गर्ने र त्यसलाई पारित गर्दै दुई चरणमा चुनावमा जाने ।
यसैबीच विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बिहीबार एकीकरण भएको छ ।
एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारुलाई सहअध्यक्षको जिम्मेवारी दिइने छ । पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए । यसअघि थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् । त्यसैगरी फोरम लोकतान्त्रिकसँग शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाती पार्टीकी यशोदा लामाले पनि एकता गरेका थिए।






Post a Comment

 
Top