0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल पर्यटन व्यवसायी संघको पोखरामा सम्पन्न क्षेत्रीय अधिवेशनले संघको अध्यक्षमा सोम थापालाई पुनः निर्वाचित गरेको छ । राष्ट्रिय पर्यटन व्यवसायी संघको नामबाट स्थापित संघको प्रथम अधिवेशनले नाम समेत परिवर्तन गरि नेपाल पर्यटन व्यवसायी संघ बनाएको र अध्यक्षमा तदर्थ समितिकै अध्यक्ष सोम थापालाई निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा तदर्थ समितिका सचिव शिव अधिकारीलाई चयन गरेको छ भने विधान व्यवस्था गरे अनुरुप संघको ३ जना उपाध्यक्षमा पशुपति शर्मा, नारायण सापकोटा र जीवनाथ गौतम तथा महासचिवमा संगीता पौडेल र उप–महासचिवमा भीम प्रसाद आचार्यलाई चयन गरेको छ । 
यसैगरी संघको कोषाध्यक्षमा कमला गिरी र सह–कोषाध्यक्षमा मन्दरा ढकालका साथै सदस्यहरुमा दयानन्द पोखरेल, निम रानामगर, शंकर अर्याल, नारायण सुवेदी, गणेश थापा, राजेन्द्र अधिकारी, गोविन्द शर्मा र इमनाथ जैशी चयन भएका छन् । संघको नयाँ कार्यसमितिमा रिक्त रहेका ३ जना सदस्य विभिन्न क्षेत्रबाट मनोनित गर्ने व्यवस्था गरिएको छ ।  पोखराका अग्रज पर्यटन व्यवसायी लक्ष्मीबहादुर भट्टराई संयोजक तथा  नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुली र अर्का पर्यटन व्यवसायी टीका पौडेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको हो । 
यसअघि अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै लोकतन्त्रवादीको सहयोग आवश्यक रहेको स्पष्ट पारे । उनले सबै व्यवसायीलाई आफ्नो व्यवसायको प्रवद्र्धन संगै व्यवसायिक स्वतन्त्रताका लागि नेपाली कांग्रेसलाई सुदृढ गर्ने अभियानमा लाग्न समेत आग्रह गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा बहुसंख्यक जनताले भरोषा गर्ने पार्टी नेपाली कांग्रेसमात्र भएपनि समय र आम नागरिकको चाहना बमोजिम कांग्रेस चल्न नसके कांग्रेसको उचाइ घट्ने बताए । राजनीतिक विचार र सिद्धान्तमा नेपाली कांग्रेस बलियो भएपनि नेपाल पत्रकार महासंघ र बार एशोसिएशन जस्ता संस्थामा समेत कांग्रेसको विचार बोक्नेहरुले विजय प्राप्त गर्न कठिनाइ भइरहेको भन्दै नेता पौडेलले नेपाललाई संवृद्ध बनाउन कांग्रेस संवद्ध पर्यटन व्यवसायीले दिएको सुझावलाई कांग्रेसले आत्मसाथ गनुएपर्नेमा जोड दिए । 
नेपाल पर्यटन व्यवसायी संघका केन्द्रीय अध्यक्ष दीपक महतले सरकारी नीतिका कारण पर्यटन व्यवसायी सधैं समस्यामा पर्ने गरेको भन्दै पर्यटन क्षेत्रमा देखिएको माफियातन्त्रको विरोध गर्नुपर्नेमा जोठ दिए । उनले नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसको भागमा परेकोमा खुशी लागेको भएपनि केही दिन अघिमात्र कांग्रेसको भागबाट उक्त मन्त्रालय खोसिंदा आफू जस्ता पर्यटन व्यवसायीलाई पश्चाताप नलागेको स्पष्ट पारे । उनले भने–‘कांग्रेसको मन्त्री आउँदा हामीलाई खुशी लाग्यो तर उनी बाहिरिंदा पनि हामीलाई पश्चाताप लागेन । किनकी उनले कांग्रेस संवद्ध पर्यटन व्यवसायीलाई भेटघाटका लागि समय समेत दिएनन् ।’
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कांग्रेसको नेतृत्वमा मुलुकको राजनीतिक परिवर्तन धेरैपटक भएको चर्चा गर्दै यो शताव्दि प्रजातन्त्रलाई निषेध गरेर जान सक्ने अवस्थामा नरहेका कारण कांग्रेसको भविष्य उज्वल रहेको बताए । उनले युवाहरु समेत प्रजातन्त्र र लोकतन्त्रको पक्षमा रहेकाले कांग्रेस बलियो हुँदै गइरहेको दावी गरे । नेपाली कांग्रेसका नेता शोभियत बहादुर अधिकारीले अघिल्लो संविधानसभा निर्वाचनमा आफूले जित्न नसक्नुमा कांग्रेसभित्र बाट अन्तर्घात भएको भन्दै वर्तमानमा भने एमालेलाई भोट दिनेहरुले समेत पश्चाताप गरेको बताए ।
नेपाल पर्यटन व्यवसायी संघका केन्द्रीयल उपाध्यक्ष छिडुप तामाङले पर्यटन व्यवसायीको इतिहास लामो भएपनि कांग्रेसले वेवास्ता गर्ने र कम्युनिष्टहरुले द्वेध चरित्र देखाउन गरेका कारण कांग्रेस भन्दा कम्युनिष्टहरुले बढी फाइदा लिने गरेको बताए । 
संघका सल्लाहकार सुन्दर कुमार श्रेष्ठले पर्यटन व्यवसाय बिना नेपालको संवृद्धि सम्भव नभएको भन्दै कम्युनिष्ट विचार बोक्ने पर्यटन व्यवसायीले विदेशीसंग आफूलाई प्रजातन्त्रवादी भन्ने तर नेपालमा कम्युनिष्टको झण्डा बोक्ने गरेको आरोप लगाए । नेपाली कांग्रेका पोखरा नगरसभापति बजिरमान श्रेष्ठले पर्यटन व्यवसायीले गरेको लगानीलाई जोखिममा पर्न नदिन कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए । 
नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीले पर्यटन लगायत धेरै क्षेत्रमा लगानी गर्नेहरु लोकतन्त्रवादी भएपनि त्यस्ता क्षेत्रबाट संघ–संस्थाको नाममा नेतृत्व गर्नेहरु वामपंथी विचारधारा बोक्नेहरु भएको भन्दै लोकतन्त्रवादी पर्यटन व्यवसायीले आफ्नो व्यवसाय र राजनीतिलाई संगै अघि बढाउनुपर्ने खाँचो औंल्याए । सांसद शारदा पौडेलले एमालेले गरेका नराम्रा कामलाई जनसमक्ष लैजानुपर्नेमा जोड दिंदै आशन्न निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताइन ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दु कुमार थापाले प्रजातन्त्रको संरक्षणका लागि सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए । 
नेपाली कांग्रेसका पूर्व केन्द्रीय आमन्त्रित सदस्य रामजी कुँवरले संख्यात्मक हिसावले पर्यटन व्यवसायी धेरै देखिएपनि संस्थागत नेतृत्वको हिसावले नेकपा एमालेको प्रभाव बढी भएको भन्दै चिन्ता प्रकट गरे । नेपाल पर्यटन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष केशव पाण्डेले सबै संघ–संस्थामा प्रजातन्त्रवादी विचार बोक्नेहरुलाई नै नेतृत्वमा पु¥याउनुपर्ने बताए ।
उद्घाटन समारोहको अध्यक्षता संघका तदर्थ समितिका संयोजक सोम थापाले गरेका थिए भने कार्यक्रममा स्वागत अगुवा महिला पर्यटन व्यवसायी लक्की कार्की र कार्यक्रम संचालन संस्थाका सचिव शिव अधिकारीले गरेका थिए । 
संघको प्रथम अधिवेशनले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेपछि सम्पन्न संक्षिप्त समारोहमा संघका केन्द्रीय उपाध्यक्ष छिडुप तामाङ, नवनिर्वाचित अध्यक्ष सोम थापा, वरिष्ठ उपाध्यक्ष शिव अधिकारी, नेपाली कांग्रेस पोखरा–६ का सभापति बलराम गिरी, पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष सुन्दर कुमार श्रेष्ठ, अगुवा पर्यटन व्यवसायी मदन केसी, रेवानका अध्यक्ष चौबहादुर गुरुङ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, निर्वाचन समितिका सदस्य गंगाधर पराजुली, अर्का सदस्य टीका पौडेल र संयोजक लक्ष्मी बहादुर भट्टराईले शुभकामना प्रकट गरेका थिए ।

Post a Comment

 
Top