0
गोल्डेन न्यूज संवाददाता
चितवनको नारायाणघाट–मुग्लिन सडक खन्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट पहरो खसेर केही गाडीलाई पुर्दा हालसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सल्यानका रेशराज राना रहेका छन् भने अर्का एकजना ट्यांकरका सहचालक भारत बेतियाका २५ वर्षीय विनयकुमार कोइरी रहेका छन् । काठमाडौंतर्फ जाँदै गरेको ग१०ख ४८४४ नम्बरको मोटरसाइकलमा छोरा सन्दीपसंगै रानासवार थिए । मोटरसाइल पुरिंदा छोरा सन्दीप पनि घाइते भएका छन्, उनलाई उपचारको लागि भरतपुर लगिएको छ । यस्तै ट्यांकर चालक पर्सा लछमुनियाका २५ वर्षीय बानु पटेलको पनि उद्दार पछि भरतपुरमा उपचार हुँदै छ ।  बिहान १० बजेतिर सडक माथिबाट ठूलो पहरो झरेर एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ । ठूला ठूला चट्टानसहितको पहरो खसेर पुरिएको ना६ख ६६६४ को ट्रकलाई झिकिएको छ भने ना४ख ५४१९ नम्बरको ट्याङकर र रा१ख ७७९ नम्बरको मिनिट्रक पुरिएको स्थानबाट झिक्ने कोशिस भइरहेको छ । पहरो झरेपछि सवारी आवागमन सुचारु भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सडकमा रहेको ढुंगा तथा पुनः खस्न सक्ने पहरा पन्छाएर बाटो खुलाइएको हो ।

यसैबीच उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मुग्लिन नारायणगढ सडकखण्डअन्तर्गत घुमाउनेमा भएको दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालद्वारा जारी विज्ञप्तिमा सो घटनालगत्तै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी घटनास्थलमा पुगिसकेका जनाइएको छ । घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको र बाटोमा जम्मा भएका माटो, ढुङ्गा पन्छाउनका लागि तनहुँबाट जेविसी लोडर पठाइसकिएको पनि विज्ञप्तिमा उल्लेख छ ।



Post a Comment

 
Top