0
गोल्डेन न्यूज संवाददाता
पोखराको कोमागाने पार्कमा यही चैत २९ गतेबाट संचालन हुने चौधौं फेवा नव वर्ष महोत्सव २०७४ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवका आकर्षण र कार्यक्रमहरुबारे जानकारी गराएको थियो । पाँच दिने महोत्सव आगामी बैशाख २ गतेसम्म चल्ने छ । पर्यटन, संस्कृति र खानालाई केन्द्रित गरी आयोजना हुने महोत्सवमा खानाका १५ र ४५ वटा ब्यापारिक गरी ६० स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । फेवा तालको संरक्षण गरौं भन्ने नाराका साथ आयोजना हुने महोत्सवले नेपाली संस्कृतिको रक्षा गर्ने उद्देश्य पनि बोकेको संयोजक तुलाचनले सुनाए । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले फेवा महोत्सव संघको मात्र नभई सम्पूर्ण पोखरेलीको महोत्सव भएको बताए ।  सामान्य देखि पाँच तारे होटलका परिकार एउटै थलोमा चाख्ने अवसर समेत महोत्सवले उपलब्ध गराउने उनले सुनाए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महोत्सव सफलताको कामना गर्दै परिस्कृत ढंगले महोत्सवलाई अगाडि बढाउन सुझाव राखे । महोत्सव उद्घाटन अघि विहान साडे १० बजे लेकसाइड स्थित खहरेचोकबाट सुरु हुने झाँकी सहितको ¥याली महोत्सव स्थल कोमागाने पार्कमा पुगी सभामा परिणत हुने संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यसैगरी महोत्सवको क्रममा चैत ३० गते आठ बजे बसुन्धरा पार्कबाट डुंगा दौड र ३१ गते हल्लनचोक बाट पर्यटक दौड सुरु हुने छ । 
३१ गते नै मध्यरात १२ बजे नयाँ वर्षको स्वागत कोमागाने पार्कमा गरिने कार्यक्रम छ ।
यसैबीच महोत्सवको अवसरमा संघले ‘जाउँ है पोखरा’ कार्यक्रमका प्याकेजहरु उपलब्ध गराउने भएको छ । प्याकेज अन्तर्गत घुमघाम, शैक्षिक भ्रमण, मधुमास र साहसिक प्याकेज समेटिएको संघका अध्यक्ष बिकल तुलाचनले बताए । प्रति ब्यक्ति वा जोडीका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँ बीचको मूल्यमा प्याकेज बनाइएको छ भने फेवा तालमा बोटिङ, बञ्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृष्यावलोकन जस्ता विविध सुविधाहरु समेटिएको छ । घुमघाम प्याकेजमा एक जनाको २ हजार ९ सय ९० देखि दुई जनाको अधिकतम १३ हजार ३ सय ९० रुपैयाँको प्याकेज रहेको संघले जनाएको छ । शैक्षिक प्याकेजमा एक जनाको १ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ । त्यसैगरी मधुमास जोडीको ७ हजार रुपैयाँदेखि १४ हजारसम्मको प्याकेज शुल्क तोकिएको छ भने साहसिक प्याकेजमा एक जनाको ९ हजार ९ सय ९० देखि जोडीको २१ हजार १ सय १० रुपैयाँसम्मको प्याकेज रहेको संयोजक तुलाचनले बताए ।

Post a Comment

 
Top