0
गोल्डेन न्यूज संवाददाता
आशन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै सत्तारुढ दल माओवादी केन्द्रले पोखरा लेखनाथ महानगरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पोखरामा शुक्रवार आयोजित महानगर स्तरीय चुनावीसभामार्फत पोखरा लेखनाथ महानगरको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्र लेखन समितिका संयोजक झलकपाणी तिवारीले १६ पृष्ठ लामो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक प्रतिबद्धता पत्रमा आगामी पाँच बर्ष भित्र पोखरा लेखनाथ महानगरलाई अत्याधुनिक शहर बनाउने उल्लेख छ । 
महानगरको विभिन्न पाँच क्षेत्रलाई सेटलाइट सिटीको रुपमा विकास गर्ने माओवादीको चुनावी प्रतिबद्धता छ । महानगरको मुख्य केन्द्र र यसका ग्रामिण प्रभाव क्षेत्र वीचको पारस्परिक अन्तरसम्बन्ध सुदृढ बनाउन र विकेन्द्रित शहर निर्माण गर्न वडानम्बर ३३ बागमारा (जनताको चौतारा), वडा नम्बर ३१ (मोहरिया), १३ (कसेरी), १९ (पुरनचौर), २५ (हेमजा) र वडानम्बर १७ (विरौटा) मा सेटलाइट सिटी विकास गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । सेटलाइट सिटीलाई चक्रपथ मार्फत जोडिने र शहरका मुख्य केन्द्रसम्म दु्रत मार्ग तथा यातायात सञ्जालले जोड्नुको साथै ती स्थानमा संभाब्यताका आधारमा कृषि, पशुपालन, तरकारी, पहाडी तथा हिमाली जडिवुटी, फलपूmल खेतीसँग सम्बन्धित प्रशोधन, प्याकेजिङ तथा उत्पादन उद्योग स्थापना गर्ने चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

महानगरको वडानम्बर २७ अर्चले, २२ पुम्दीभुम्दी, १९ सराङकोट, २१ निर्मलपोखरी र वडानम्बर २६ पुरानो राखी लाई पहाडी पर्यटकीय नगरका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । सम्बन्धित विज्ञहरुको सहभागितामा ‘उच्चस्तरीय पोखरा लेखनाथ महानगर शहरी विकास आयोग’ गठन गरी महानगरको वृहत गुरुयोजना तर्जुमा गर्दै एक बर्ष भित्र कार्यान्वयनमा ल्याउने उल्लेख छ । महानगरको भूउपयोग नक्सा १ बर्ष भित्र तयार गरी कार्यन्वयन थालिने, महानगरभित्रका राजमार्ग अन्तर्गतका सडक कम्तिमा ४ लेनको बनाउने, वातावरणमैत्री पोखरा उपत्यका चक्रपथ निर्माण गर्ने, महानगरका प्रमुख सडकहरु मा आवश्यकताका अनुसार आकाशे पुल निर्माण गर्ने, चौविसै घण्टा महानगरमा बस सेवा सञ्चालन गर्ने माओवादी केन्द्रको प्रतिबद्धता छ ।
चुनावी सभालाई संवोधन गर्र्दै माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताए। उनले संविधान संशोधनले असन्तुष्ट मधेसी र जनजातिका माग सम्बोधन भएपछि स्थानीय तहको निर्वाचन उत्सवमय हुने दाबी गरे । आशन्न स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँ र नगरमा पु¥याउने उल्लेख गर्दै मन्त्री शर्माले जनताको प्रत्यक्ष मताधिकारपछि  झण्डै २२ प्रकारका असीमित अधिकार जनताको घरदैलोमै पुग्ने बताए ।
राजनीतिक सहमतिको आधारमा निर्वाचन सम्पन्न गरी पुनः देशलाई द्वन्दमा लैजान खोज्नेलाई जवाफ दिनुपर्ने अहिलेको आवश्यकता भएको उनले बताए । भ्रष्ट्राचारको अन्त्य गरेर देशमा उज्यालो नेपाल अभियान सुरुवात गरेको प्रसङ्ग कोट्याउँदै उनले प्रत्येक घरबाट एक लाख लगानी गर्ने हो भने १० हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने जानकारी गराए ।वैदेशिक रोजगारीमा गएका युवाहरुको एक महीनाको तलब खर्च गर्ने हो भने पाँच वटा ठूला आयोजना बनाउन सकिने बताउँदै मन्त्री शर्माले  योजनाबद्ध विकासको थालनी गर्न सकिए १५ वर्षमै देशलाई समृद्धिको उचाइमा पु¥याउन सकिने दाबी गरे । कार्यक्रममा नेता देव गुरुङले संविधान संशोधनबाट सबै दलको सहमति जुटाउनुपर्ने आवश्यकता औँल्याए। उनले सबै स्वामित्व हुन नदिने षड्यन्त्रले राष्ट्र कमजोर बन्ने स्पष्ट पारे । सिंहदरवारको अधिकार जनतामा पुग्न नदिन षड्यन्त्र भैरहेको भन्दै उनले संविधान संशोधन मार्फत मधेसवादी सहितका दललाई सहमतिमा ल्याउने प्रयास भैरहेपनि सशोधन प्रक्रियामा अवरोध खडा गरी चुनाव बिथोल्न खोजिएको आरोप लगाए । प्रमुख प्रतिपक्षी नेकपा एमाले तर्फ लक्षित गर्दै उनले संसद, सरकार संचालन र न्यायालयमा गत्यावरोध पैदा भइरहेमा राष्ट्रिय अस्मिता समाप्त हुने खतरा औंल्याए । कार्यक्रममा पार्टीका कास्की इन्चार्ज राजकाजी गुरुङ, महिला नेत्री गायत्री गुरुङ, पूर्व अध्यक्ष झलकपाणि तिवारीलगायतले चुनाव हुन नदिन अझैपनि विदेशी शक्ति केन्द्रहरु लागिपरेको आरोप लगाएका थिए। यसअघि पोखराको पृथ्वीचोक बाट सुरु भएको ¥यालीले नगरपरिक्रमापछि चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको थियो ।

Post a Comment

 
Top