0


हरि पन्त
पोखरा ९ वैशाख
नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला लगायतका नेताहरु पहिलो पटक पोखरा आएर पोखरामा रहेका जिल्लावासीसंग मत र आशिर्वाद मागे । अन्य कार्यक्रम बाहेक चुनावकै लागि नेताहरु पोखरा आएको यो पहिलो पटक हो । हालसम्म चुनावमा मत माग्न कांग्रेसबाहेक कुनैपनि पार्टीका कोही पनि नेता पोखरा आएका छैनन् । आशन्न स्थानीय तहको निर्वाचनमा धादिङको सबै तहमा कांग्रेसलाई जिताउन पोखरामा रहेका जिल्लावासीको मत निर्णायक हुने भन्दै धादिङका कांग्रेस नेताहरु पोखरा आएर कांग्रेस विजयी हुने मत र आशिर्वाद मागेका हुन् ।
संविधानसभाको दुवै निर्वाचनमा धादिङको तीन वटै क्षेत्रमा पराजित कांग्रेस यस पटक सबै तहमा जित्ने विश्वासका साथ  अघि बढेको बताइन्छ । पार्टी सचिव विनोद तिमिल्सिनाका अनुसार  यसपटकको चुनावमा विगतमा गरेका गल्ती नदोहो¥याउने गरि कांग्रेस अघि बढेको छ । सचिव तिमिल्सिनाले भने–‘विगतका चुनावमा केही प्राविधिक कमजोरीले कांग्रेस पराजित भएको हो । अब त्यो गल्ती दोहोरिन्न, सबै तहमा कांग्रेसले जित्ने वातावरण बनेको छ ।’
पोखरामा करिब ४० हजार धादिङवासी रहेको आंकलन गरिन्छ, जसमा आधा बढीे कांग्रेसप्रेमी रहेको नेपाली धादिङ कांग्रेसको दावी छ । धादिङ कांग्रेसका नेताहरुलाई पोखरा ल्याउन नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क सदनले चुनावी सभा आयोजना गरेको थियो । त्यही सभामार्फत मत र आशिर्वाद माग्न चुनावको समयमा धादिङमा हुने महत्वपूर्ण कार्यक्रम छोडेर सभापतिसहित आधा दर्जन नेताहरु पोखरा आएका थिए ।
धादिङबाट पोखरा आएका नेताहरुमा सभापति धमला, जिल्ला सचिव विनोद तिमिल्सिना, युवा नेता तिलक रुवाली, त्रिपुरासुन्दरी गाउँपालिकाका उम्मेदवार वासुदेव तिमिल्सिना, क्षेत्रीय सभापति योगबहादुर तामाङ, जिल्ला सदस्य रामप्रसाद अधिकारी, गजुरी गाउँपालिकाका सम्भावित उम्मेदवार मोहन पण्डित लगायत थिए ।  धादिङका नेताहरुले कास्की कांग्रेसका नेताहरुलाई साक्षी राखेर जिल्लावासीसंग मत र आशिर्वाद मागेका थिए ।
सभालाई संवोधन गर्दै कांग्रेस धादिङ जिल्ला सभापति रमेश धमलाले चुनावमा कांग्रेसले जित्ने गरि मत र आशिर्वाद दिन आग्रह गरे । उनले अन्य समय आफ्नो कामका लागि दिन र चुनावका लागि करिब १ हप्तामात्र भएपनि कांग्रेसलाई दिन आग्रह गरे । ‘१ हप्ताको समय दिंदा तपाइँहरुलाई केही घाटा त होला र त्यो घाटा भविष्यमा परिपूर्ति गराउन कांग्रेस तयार छ’, उनले भने–‘म पनि कुनैवेला पेशाकर्मी भएको नाताले पेशाकर्मीको समयको महत्व राम्रैसंग बुझ्दछु । जे जस्तो भएपनि चुनावमा एक हप्ताको समय दिएर कांग्रेसलाई जिताउनुहोस्, त्यसको सावाँ व्याज फर्काउने गरि कांग्रेसले काम गरेर देखाउँछ ।’ सभापति धमलाले स्थानीय तहको चुनावमा कुनैपनि हालतमा कांग्रेसले जित्नुपर्नेमा जोड दिए ।
मुलुकको पटक–पटकको आन्दोलनको नेतृत्व र संविधान निर्माण कांग्रेसले नै  गरेको भन्दै उनले संविधानको सही कार्यान्वयन गर्नका लागि पनि अबको चुनावमा कांग्रेसले नै जित्नुपर्नेमा जोड दिए। जिल्लाका महत्वपूर्ण काम छाडेर चुनावको निम्तो दिन आफूहरु पोखरा आएको भन्दै उनले अबको चुनावका कांग्रेसलाई जिताउन धादिङ आउन आग्रह गरे ।
कार्यक्रममा कास्की कांग्रेसका सभापति कृष्ण केसीले चुनावमा कांग्रेसलाई जिताउन पोखरामा रहेका सबै धादिङवासी जिल्ला फर्कन आग्रह गरे। कास्की कांग्रेसका लागि धादिङवासीले धेरै महत्वपूर्ण गुन लगाएको स्पष्ट पार्दै उनले भने–‘तपाइँहरु चुनावमा जिल्ला फर्कनुहोस्, यसअघि कास्की कांग्रेसका लागि योगदान गर्नुभयो । अबको केही दिन र केही योगदान धादिङ कांग्रेसका लागि दिनुहोस् ।’ ‘धादिङको सबै तहमा कांग्रेसले जित्नेगरि अघि बढ्नुहोस्, तपाइँहरुलाई साथ दिन कास्की कांग्रेस तयार छ’, उनले भने–‘तपाइँहरु धादिङवासी निकै परिश्रमी र त्यागी हुनुहुँदोरहेछ, जतापनि काम लाग्ने ।’
विप्लव माओवादी समूहले चुनाव अभियान विथोल्ने अभियान संचालन गरेकोप्रति संकेत गर्दै सभापति केसीले अहिलेको राजनीतिमा निषेध गर्ने र शत्रु कोही नभएको बताए । ‘२००७ सालमा राणा शत्रु थिए फालियो, २०४६ सालमा पञ्चायत फालियो र २०६२÷०६३ मा राजतन्त्र फालिए’, उनले भने–‘अब फाल्नुपर्ने कोही छैन, शत्रु पनि कोही छैनन्। त्यसैले निषेधको राजनीति होइन दलहरुबीच मित्रता आवश्यक छ ।’
कार्यक्रमको उद्घाटन गर्दै सांसद एवं कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले कांग्रेसले संविधान सभा चुनावमा गरेको वाचा संविधान बनाएर पूरा गरेको भन्दै अबपनि बाचा नभुल्ने स्पष्ट पारे । अहिलेको राजनीतिमा एमाले जिम्मेवार भएर प्रस्तुत हुन नसकेको भन्दै उनले एमालेकै कारण मुलुकको समस्या समाधान हुन नसकेको बताए । उनले भने–‘एमाले आफू सरकारमा रहँदा पनि मधेशको समस्या समाधान गर्न ध्यान दिएन, अहिले पनि ममस्या समाधानमा बखेडा झिकिरहेको छ ।’
कांग्रेसका युवा नेता तिलक रुवालीले स्थानीय तहको निर्वाचन मुलुक, जनता र कांग्रेसका लागि निकै महत्वपूर्ण रहेको भन्दै चुनावमा जसरी भएपनि जिल्ला फर्किन आग्रह गरे । पार्टीको नेता बन्नु भन्दा जिम्मेवार र लोकतान्त्रिक पार्टीको कार्यकर्ता बन्न पाउनु निकै गौरवको अनुभूति हुने भन्दै उनले इतिहास बोकेको गौरवशाली कांग्रेसलाई जिताउन पोखरामा रहेको धादिङवासी कांग्रेस कार्यकर्ताको भूमिका रचनात्मक र महत्वपूर्ण हुने स्पष्ट पारे ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका कांग्रेस उम्मेदवार वासुदेव तिमिल्सिनाले २०७४ साल नेपाली जनताका लागि सुनौलो अवसर रहेको भन्दै अवसरलाई सदुपयोग गर्नका लागि चुनावमा जिल्ला फर्कन आग्रह गरे । उनले भने–‘यो वर्ष निकै महत्वपूर्ण छ । यही वर्षले मुलुक, जनता र कांग्रेसको भविष्य निर्धारण गर्ने हो । त्यसैले तपाइँ कांग्रेसप्रेमीहरु अरु बेला पोखरा बसेर आफ्नो रोजीरोटीमा लागेपनि चुनावमा गाउँ फर्किएर कांग्रेसलाई जिताउनुहोस् । तपाइँ, मुलुक र कांग्रेसको भविष्य तपाइँहरुकै हातमा छ।’
कार्यक्रममा ट्रेड युनियन नेता रामजी कुँवर, विद्यार्थी नेताहरु भानु ढकाल, रामप्रसाद अधिकारी, मोहन पण्डित, धादिङ कांग्रेसका क्षेत्रीय सभापति योगबहादुर तामाङ, कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि प्रा.डा. ठाकुर सिलवाल लगायतले चुनावमा कांग्रेसको गतिविधि र तयारी बारे प्रकाश पारेका थिए ।
सदनका सभापति केदार धमलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति यादु ढकालले र संचालन सचिव माधव लम्सालले गरेका थिए । कार्यक्रममा कांग्रेसको गीतमा सांस्कृतिक कार्यक्रम प्रस्तुत र अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

Post a Comment

 
Top