0
गोल्डेन न्यूज संवाददाता
यति डेभलपमेण्ट बैंकका पूर्व कर्मचारी भगवान बराल लुटेराको समूहबाट गोली लागेर घाईते भएको तीन बर्ष वितिसक्दासम्म पनि अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । टाउकोमा गोली लागेर घाइते भएका बरालको उपचारका लागि विभिन्न दाताहरुबाट ३६ लाख रुपैयाँ भन्दा सहयोग प्राप्त भएको थियो । सबै रकम उपचारमा खर्च गरिएपनि उनको अवस्था अर्झ सामान्य अवस्थामा फर्किन नसकेको उनका दाजु पशुपति बरालले जानकारी दिए ।  उनका अनुसार घाईते बरालको  कम्मरमुनिको भागले राम्रोसंग काम नगरेपनि दुई हात तथा बौद्धिक रुपमा काम गर्न सक्ने अवस्थामा  छन् । उनले भने–“मेरो भाइलाई मृत्युको मुखबाट बचाउने अभियानमा जो जसले सहयोग गर्नु भयो, सबैप्रति हामी ऋणि छौं, आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गर्दछौं ।”  बाबु र आमा समेत अपाङ्गता भएकोले भाइका लागि अपाङ्गमैत्री ढंगले काम गर्न सक्ने वातावरण मिलाईदिन बैंक तथा वित्तिय संस्थाहरुसंग उनले आग्रह गरे । बरालको उपचारमा संलग्न व्यक्ति तथा विभिन्न संघ–संस्थाहरुलाई उनको परिवारले शुक्रबार पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ (पुम्दी–भुम्दी) तिलाहार आफ्नै निवासमा सम्मानसहित धन्यवाद ज्ञापन गरेको छ ।  २०७१ वैशाख १५ गते पोखराको न्यूरोडको मेघा सहकारीमा लुटेराको एक समूहले बरालमाथि गोली प्रहार गरी ३१ लाख लुटेका थिए । लुटेराको ५ जनाको समूह मध्ये एक जना अझै फरार छ । फरार अभियुक्तको यथाशीघ्र खोजी गरी कार्वाही गर्न पनि बरालको परिवारले माग गरेको छ ।  यति डेभलपमेण्ट बैंक पोखरा शाखामा जुनियर असिष्टेन्टको रुपमा काम गरेका बराल मेघा सहकारी संस्थाबाट रकम बैंकमा डिपोजिट गर्न सहकारीबाट बाहिर निस्कने वित्तिकै लुटेराको समूहले गोली प्रहार गरेर रकम लुटेको थियो । उनको उपचारका लागि यति डेभलपमेन्ट बैंकले २२ लाख ८ हजार रुपैयाँ, बराल समाज दक्षिण कोरियाबाट ३ लाख ६७ हजार, मुक्तिनाथ विकास बैंकबाट एक लाख १ हजार १ सय ११ र  विभिन्न संघ–संस्थाबाट आर्थिक सहयोग उपलब्ध भएको भगवान बराल सहयोग समितिका अध्यक्ष षडानन्द बरालले बताए । उनको नाममा मुद्धति खातामा १० लाख रुपैयाँ राखिएको खडानन्दले जानकारी दिए । बराल वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष घनश्याम बरालले घाईते बरालको दिगो आय आर्जनका लागि उनको क्षमताले भ्याउने गरी रोजगार दिलाउन वित्तिय संस्थाहरुसंग आग्रह गरे । उनले भने–“देशमा अधिकांश भवन तथा कार्यालयहरु अपाङ्गमैत्री छैनन, अब ती भवन तथा कार्यालयहरु अपाङ्ग मैत्री बन्नुपर्दछ, यस्ता व्यक्तिलाइ रोजगारको खाँचो छ ।” पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २२ का वडा सचिव रामप्रसाद पौडेलले घाइते बरालको थप उपचारका लागि अझै सहयोग आवश्यक भएको बताए । 
समितिका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बी वानका अध्यक्ष राजेन्द्र बराल, बराल वंश प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय सचिव सरोज बराल, आमा घर पाठशाला अध्यक्ष मोतीप्रसाद पौडेल, स्थानीय कांग्रेस नेता होम प्रसाद बराल, मेघा सहकारीका विष्णु प्रसाद तिवारी, बराल समाज दक्षिण कोरियाका संयोजक सन्तोष बराल, सदस्य अर्जुन बराल लगायतले बरालको क्षमता अनुसारको रोजगार आवश्यक रहेको बताएका थिए । घाईते बराल हाल घरमा र हरियोखर्क हस्पतालमा फिजियोथेरापी गराउँदै आएका छन । उनी हाल चारपांग्रे स्कुटर चलाएर पोखरा बजार समेत आउन थालेका छन् ।

Post a Comment

 
Top