0
गोल्डेन न्यूज संवाददाता
भौगोलिक हिसावले देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको आकांक्षी धेरै भएपछि कांग्रेस कास्कीले उम्मेदवार छान्न सकेन । सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेपछि कांग्रेस कास्कीले आकांक्षी ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ । उपमेयरमा पनि सबै १५ जनाकै नाम केन्द्रमा सिफारिस गरिएको छ ।  सिफारिस गरिएकामध्ये अधिकांश उम्मेदवार यतिबेला काठमाडौं पुगेका छन् । शुक्रबार दिउसो चलेको चर्चा अनुसार महानगरको मेयरको उम्मेदवार बन्ने अवसर नरेशशंकर पालिखेलाई मिल्ने भएको छ । उनी तत्कालिन पोखरा नगरपालिकाको उपप्रमुख निर्वाचित भएपनि २०५४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रमुखको उम्मेदवार बनेका थिए । तर उनी एमालेका उम्मेदवार कृष्ण थापासंग पराजित भएका थिए । अहिलेपनि एमालेबाट कृष्ण थापा वा मानबहादुर जिसीमध्ये १ जना एमालेकोतर्फबाट महानगरको मेयरको उम्मेदवार बन्ने निश्चित छ । कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने चर्चा गरिएका पालिखे केही दिनअघिसम्म पनि आफू चुनावमा नजाने भन्दै अन्य उम्मेदवारलाई समर्थन गर्ने बताउँदै आएका थिए । 
पालिखेलाई कांग्रेसले उम्मेदवार बनाउने चर्चाले व्यापकता पाएपनि अर्का आकांक्षी रामजी कुँवरले भने पालिखेको चर्चामा सत्यता नभएको बताए । काठमाडौंबाट गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै उनले भने–‘मेयरका अधिकांश आकांक्षी काठमाडौंमा छौं, पार्टीको कुनै संयन्त्रबाट पनि पालिखेको पक्षमा निर्णय गरिएको जानकारी हामीलाई छैन ।’  कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बन्ने चाहना गरेका कुँवरसहित देवराज चालिसे, ऋषि काफ्ले, अशोक पालिखे, रामचन्द्र त्रिपाठी, बाबुराम आचार्य, विन्दुकुमार थापा लगायत अन्यसंग पनि परामर्श नगरि उम्मेदवार तय  नहुने विश्वासमा आफूहरु रहेको अर्का आकांक्षीले बताए । 
कास्की कांग्रेसले उम्मेदवार छान्न पटक–पटक बैठक बसेपनि सहमति जुट्न नसकेको र स्थानीय नेतृत्वले कसैको पनि नाम काट्न नसकेपछि सबैको नाम केन्द्रमा पठाएको हो । पोखराको मेयरको उम्मेदवारका लागि कास्की क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ११, क्षेत्र नम्बर ३ बाट ११ र क्षेत्र नम्बर ४ बाट २ जना गरी ३३ जनाको नाम सिफारिस भएको छ । मेयरका लागि क्षेत्र नम्बर १ बाट पार्टीका जिल्ला सचिव सुदिपमोहन भट्टराईसहित हेममोहन भट्टराई, राजेन्ऽमणी लामिछाने, पुष्प भण्डारी, शिव केसी, रामबाबु भण्डारी, नगेनसिंह ठकुरी, नन्दप्रसाद तिवारी र ठाकुर कँडेल सिफारिस भएका छन् ।  क्षेत्र नम्बर २ बाट ऋषिराम काफ्ले, बाबुराम आचार्य, डा. ईञ्जिनियर परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, बजिरमान श्रेष्ठ, हरिप्रसाद आचार्य, कृष्ण कार्की, फत्तबहादुर गुरुङ, विमलबहादुर कार्की, अशोक पालिखे र विश्व घिमिरे सिफारिस भएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ३ बाट रामजी कुँवर, प्राध्यापक देवराज चालिसे, बिन्दुकुमार थापा, वीरेद्रनारायण विजुक्छे, नरेशशंकर पालिखे, बिष्णुप्रसाद बास्तोला, ऋषिराम सापकोटा, केशवप्रसाद निर्दोषी, देवदत्त कोइराला, रजनी केसी र लोकेन्द्रबहादुर कोइराला सिफारिस भएका छन् । यसैगरी क्षेत्र नम्बर ४ बाट रामचन्द्र त्रिपाठी र दुर्गाप्रसाद तिमिल्सिनाको नाम मेयरको उम्मेद्वारका लागि सिफारिस भएको कांग्रेस श्रोतले बताएको छ । उपमेयरका लागि क्षेत्र नम्बर १ बाट ५ जना, क्षेत्र नम्बर २ बाट ७ जना, क्षेत्र नम्बर ३ बाट २ जना र क्षेत्र नम्बर ४ बाट १ जना गरी कुल १५ जनाको नाम केन्द्रमा सिफारिस भएको छ । उपमेयरमा क्षेत्र नम्बर १ बाट महिला संघ कास्कीकी सभापति कोपिला रानाभाटसहित चन्द्रावती पौडेल, बिन्दुकुमारी भण्डारी, तारा अधिकारी र विन्दु सुवेदी सिफारिस भएका छन् ।  क्षेत्र नम्बर २ बाट उपमेयरमा पत्रकार सरस्वती गुरुङसहित अनिता तिमिल्सिना, माया बराल, सीता गुरुङ, शकुन्तला गुरुङ, हिरादेवी शर्मा, आनन्दी कार्की राणाको नाम सिफारिस भएका छन्। क्षेत्र नम्बर ३ बाट उपमेयरमा सकुन्तला कोइराला र गंगा केसी सिफारिस भएका छन् भने क्षेत्र नम्बर ४ बाट मुक्तिप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।

Post a Comment

 
Top