0
गोल्डेन न्यूज संवाददाता
कांग्रेस नेता नन्दप्रसाद तिवारीले २ चैतमा पत्रकार सम्मेलन गरी पोखरा लेखनाथ महानगरपालि काको मेयरमा आफ्नो दावी प्रस्तुत गरे । केही दिनपछि कांग्रेसको लेखनाथ नगर समितिले आफूखुसी उम्मेदवारी घोषणा नगर्न निर्देशन जारी गर्रुयो । त्यसपछि कांग्रेस नेताले सार्वजनिक रूपमा भन्दा पनि पार्टीभित्रै आकांक्षा व्यक्त गरिरहेका छन् । कांग्रेसका जिल्ला सभापति कृष्ण केसी महानगरको प्रतिस्पर्धाका लागि अनिच्छुक छन् । तर कांग्रेसबाट आकांक्षीको संख्या झन्डै एक दर्जन छ । ‘पार्टी सभापति पनि आफैं र आउने अरू पद पनि आफैंले दाबी गर्नु नैतिक रूपमा ठीक होइन’, उनले भने । महानगर हाँक्न सभासद् यज्ञबहादुर थापा हुँदै नयाँ–पुराना नेताको खोजी भएको छ ।  सांसद थापा आफैं इच्छुक छैनन्, तर पार्टीको एउटा पंक्ति निर्विवादित छविका उनको उम्मेदवारी कांग्रेसको जितका लागि सहज हुने विश्लेषणमा छ । सभासदबाट राजीनामा गराएर उनलाई मेयर उठाउनुपर्ने पक्षमा कतिपय कार्यकर्ता छन् । सरकारका पूर्वसचिव बाबुराम आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेता देवराज चालिसे, कांग्रेस पोखरा नगर समिति अध्यक्ष बजिरमान श्रेष्ठ, लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, पोखरा नगरपालिका हुँदाका उपमेयर नरेशशंकर पालिखे, उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष अशोक पालिखे, टे«ड युनियन नेता रामजी कुँवर, पूर्व वडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलगायत कांग्रेसबाट मेयर उम्मेदवारको चर्चामा छन् ।
महानगर मेयरको टिकटकै लागि पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बिन्दुकुमार थापाले कांग्रेसको केन्द्रमै ‘लबिङ’ गरिरहेका छन् । गएको महाधिवेशन मा केन्द्रीय कोषाध्यक्षमा उम्मेदवारी दिएर चर्चामा आएका कृष्ण कार्कीले आफूलाई मेयरको उम्मेदवार दाबी गरिरहेका छन् । राप्रपा त्यागेर बसेका उद्योगी सूर्यबहादुर केसीलाई पार्टी प्रवेश गराएर मेयरको टिकट दिने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवाले दिइरहेको स्रोत बताउँछ । तर सूर्यबहादुरले भने आफ्ना छोराका निम्ति टिकट उपलब्ध गराए कांग्रेस प्रवेश गर्ने शर्त राखिरहेको अन्नपूर्ण पोष्ट दैनिकले उल्लेख गरेको छ ।

एमाले नेताले आआफ्नै तरिकाले गृहकार्य गरिरहेका छन् । युवा संघका अध्यक्ष राजीव पहारी, पार्टी केन्द्रीय सदस्य मानबहादुर जीसी, जिल्ला कमिटी अध्यक्ष कृष्ण थापा, नेता श्रीनाथ बराल, उद्योगी नेता धनराज आचार्य र इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व्डिन इन्जिनियर भरत पहारी एमालेबाट उम्मेदवारको सम्भावित पात्र हुन् । पछिल्लो समय विकास र समृद्धिको नारा अघि सारेका लोकप्रिय नेता रवीन्द्र अधिकारीलाई महानगरको नेतृत्वमा ल्याउनुपर्ने धारणा एमालेभित्र र बाहिर थुप्रैको छ । स्वयं रवीन्द्र भने अनिच्छुक छन् । ‘मलाई टिकट दिनु उपयुक्त पनि छैन र मेरो इच्छा पनि छैन’, उनले भने । स्थानीय तहको पुनर्संरचना अनुसार पार्टीको ढाँचा परिवर्तन गरेर निर्मित पोखरा लेखनाथ महानगरपालिका कमिटीको संयोजक एमाले कास्की अध्यक्ष थापा नै बनेका छन् । आफ्नो उम्मेदवारीबारे उनले समय आएपछि मात्रै बोल्ने बताए । माओवादी केन्द्रबाट पार्टी अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, नेताहरू रामजी बराल, झलकपाणि तिवारी, कोमलनाथ बराल र बखानसिंह गुरुङ सम्भावित उम्मेदवारका रूपमा देखिएका छन् । उम्मेदवार छनोटको निष्कर्षमा पुग्न बाँकी रहेको माओवादी केन्द्र कास्की इन्चार्जसमेत रहेको पोलिटब्युरो सदस्य राजकाजी गुरुङको भनाइ छ । ‘चुनावकेन्द्रित कार्यक्रममै छौं’, उनले भने,–‘केही समयमा उम्मेदवार छनोटको प्रष्ट खाका बन्छ ।’ स्थानीय तहको निर्वाचन महिलालाई अग्रस्थान भन्ने मर्मअनुसार मेयरमा महिला र उपमेयरमा पुरुषलाई उम्मेदवार बनाउने तयारीमा लागेको राप्रपा कास्कीका अध्यक्ष जयलाल पुन बताउँछन् । उक्त पार्टीबाट महिलालाई मेयरमा उम्मेदवार बनाउँदा गीता गुरुङ, हरिदेवी अधिकारी, धनु आचार्य र रञ्जना सेन पौडेल सम्भावित हुन् । वैशाख ३१ को चुनाव घोषणा भएको दुई सातापछि नै राष्ट्रिय जनमोर्चाले आफ्ना सम्भावित उम्मेदवारको सूची नै सार्वजनिक गरेको थियो ।

देश र पार्टीका हरेक आन्दोलनमा सहभागी भएको, समाजमा घुलमिल भएको र निरन्तर पार्टीमा प्रतिबद्ध व्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिने कास्की कांग्रेस सभापति कृष्ण केसीको भनाइ छ । ‘दबाब र प्रभावमा आएर उम्मेदवार सिफारिस हुँदैन’, उनले भने । एमाले कास्की अध्यक्ष कृष्ण थापाले पनि आर्थिक र नैतिक चरित्र असल भएको र काम गर्न सक्ने योग्य व्यक्तिलाई उम्मेदवारमा सिफारिस गरिने जानकारी दिए ।

Post a Comment

 
Top