0
गोल्डेन न्यूज संवाददाता
नेपालमा वार्षिक करिब ३ लाख २३ हजार महिलाले गर्भपतन गर्ने गरेको एक अध्ययनले देखाएको छ । सन् २०१४ मा त्यसमध्ये आधाजसो गर्भ अनिच्छित भएको प्रमुख अनुसन्धान कर्ता एवं कृपा संस्थाका सह–निर्देशक डा. महेश पुरीले जानकारी दिए । पोखरामा कृपा र सामुदायिक विकास प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको गर्भपतन र अनिच्छुक गर्भधारण विषयक छलफल कार्यक्रममा बोल्दै डा. पुरीले भने–‘सन् २०१४ मा गरिएको अध्ययनमा ३ लाख २३ हजार जतिले गर्भपतन गराएको र यो संख्या १५ देखि ४९ वर्ष समूहका प्रति १ हजार महिलामध्ये ४२ जना रहेको छ । 

नेपालमा भएका गर्भपतनमध्ये आधा भन्दा केही कम अर्थात ४२ प्रतिशतमात्र सरकारले गर्भपतन गर्नका लागि कानूनी मान्यता दिएका संस्थाहरुमा हुने गरेको र बाँकी ५८ प्रतिशत लुकिछिपी अर्थात अवैधानिक किसिमबाट त्यस्तै स्वास्थ्य संस्था, व्यक्ति र गर्भवती महिला आफैले गर्ने गरेको पाइएको छ । कानूनी रुपमा गर्भपतन गराउने मध्ये ३७ प्रतिशतले मात्र सरकारी स्वास्थ्य संस्थामा, ३४ प्रतिशतले एनजिओमार्फत चलेका स्वास्थ्य संस्थामा र बाँकी २९ प्रतिशतले नीजि स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको पुरीले बताए । पश्चिमाञ्चलमा भने ४९ प्रतिशतले एनजिओद्वारा सञ्चालित स्वास्थ्य संस्थामा, ३८ प्रतिशतले सरकारी स्वास्थ्य संस्थामा र १३ प्रतिशतले निजी स्वास्थ्य संस्थामा गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाएमा छ । नेपालमा कुल गर्भ मध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको पनि प्रतिवेदनमा उल्लेख छ । अनुसन्धान अनुसार नेपालमा मध्यमाञ्चलमा सबैभन्दा धेरै ५९ प्रतिशत र सुदूर पश्चिमाञ्चलमा सबैभन्दा कम ३४ प्रतिशत अनिच्छुक गर्भ रहने गरेको उनले बताए ।
उक्त कार्यक्रममा बोल्दै पञ्चिमाञ्चलका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेलले गर्भपतन वैधानिक रुपमा गराउनुपर्छ भन्ने जनचेतना संगै अनिच्छुक गर्भधारण रोक्नुपर्ने खाँचो औंल्याए । उनले स्वास्थ्य क्षेत्रमा संलग्न स्वास्थ्यकर्मी सहित सरोकारवालाहरुको ध्यान यसतर्फ जानुपर्नेमा समेत जोड दिए । 
डा. पौडेलले गर्भपतन गर्ने प्रवृत्ति भुसको आगोझैं सल्किंदै गएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको र पाठ्य पुस्तकमा समेत गर्भधारण र गर्भपतन सम्बन्धी विषय समावेश गर्न र परिवार नियोजनका साधनलाई सर्वसुलभ गर्नुपर्ने बताए । 
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति एवं रासस संचालक समिति सदस्य गंगाधर पराजुलीले सुरक्षित गर्भपतन सम्बन्धी चेतना बढ्दा मातृमृत्यु दरमा कमि आउने र गम्भीर प्रकृतिका बिरामीको संख्या कम हुने भएपनि अनिच्छुक गर्भधारण रोक्न सके धेरै समस्या आफै समाधान हुने बताए । गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक समेत रहेको पराजुलीले अहिलेका युवाहरुको जीवन शैली र अवस्था हेर्दा नेपाली समाजको परम्परा र संस्कृति भन्दा धेरै अगाडि बढेको महसूस हुने र कतिपय गर्भवती महिलाहरुले गर्भधारण गर्ने, सामान्य औषधि प्रयोग गर्ने गरेकोले अनुसन्धानमा सबै कुरा नसमेटिएको हो कि भन्ने प्रश्न गरे । 
उनले लैङ्गिक विभेदका कारण कतिपय महिलाहरु छिमेकी मुलुक भारतमा पुगेर गर्भपतन गर्ने गरेको भन्दै यस विषयमा सरकार र सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. पवनजंग रायमाझी, पर्वतका प्रमुख डा. बुद्धिबहादुर थापा र पोखराकी डा. टुमाया घले लगायतले नेपालमा गर्भपतनको अवस्थाका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाइँले गर्भपतन गराउनु पर्दा सुरक्षित रुपमा गराउन र सकेसम्म अनिच्छुक गर्भधारण रोक्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।  सामुदायिक विकास प्रतिष्ठानका अध्यक्ष टेकमान प्रधानाङ्गले सुरक्षित गर्भपतनका बारेमा जानकारी गराउन सरोकारवालाको  सहभागिता मा कृपाले गरेको अनुसन्धान सार्वजनिक गरिएको बताए ।  कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव नारायणी कोइरालाले गरेकी थिइन ।





Post a Comment

 
Top