0
राजाराम पौडेल
लोक लय आधारित पप गीत गाएर देश विदेशमा परिचित बनेको नेपथ्य समूहको प्रस्तुतिलाई दमदार बनाउन अमृत गुरुङको जोश नै काफी देखियो । उनको जोश हेर्न लायक देखिन्थ्यो । उनको जोशमा पोखरेलीले खुलेरै साथ दिए । गीत गाउनुभन्दा बढी अमृत नाँचे, उर्फिए, कुर्लिए अनि दर्शकको ध्यान खिचिनै रहे । घडिमा साँझको सात बज्न केहि मिनेट मात्र बाँकी थियो । जिन्स पाइन्ट, जिन्स कोर्ट, खरानी रंगको टिर्सट, सेतो चश्मा अनि लामो फुलेको कपाल बाटेर अमृत गुरुङ स्टेजमा देखिए ।  अरुबेला फुटवल खेल खेल्ने ठाउँ पोखरा रंगशालाको फुटबल मैदानमा नै स्टेज बनाइएको थियो । स्टेज सँगै फुटबल ग्राउण्डमा प्रस्तुति हेर्ने दर्शकको भिड थियो नै । भिआइपी प्याराफिटमा बसेर कन्र्सट हेर्नेहरु पनि थिए । अरु कार्यक्रम जस्तो निर्धारित समय भन्दा ढिला सुरु हुने र अवेरसम्म कार्यक्रम चलिरहने भएन । निर्धारित गरिएको समयमानै कार्यक्रम सुरु भयो । र निर्धारित समयमै समापन पनि । कार्यक्रम सञ्चालन गर्नको लागि कोही उद्घोषक पनि थिएन । जर्बजस्त रुपमा हुटिङ माग्नु पर्ने अवस्था पनि आएन । तीन वर्ष पछि आफ्नो होम टाउनमा नेपथ्यले गरेको कन्र्सटमा मौसमले पनि साथ दियो । अन्य दिन लगातार असिना पानी परेको पोखरामा शनिबार विहानैदेखि मौसम खुल्यो । साच्चै नेपथ्यले दर्शकको मात्र नभएर पोखराको प्राकृतिक सुन्दरताको साथ पायो ।  फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको रुपमा पोखरामा कन्र्सट भएको हो । कन्र्सटको आयोजना पोखरा भिमकालिपाटन सिमपानीका किरण गुरुङ र सोनाम गुरुङले गरेका थिए । हुन त कार्यक्रम कुनै संस्थाको आयोजनामा नभई व्यक्तिको आयोजनामा हुनु राम्रो नभएको भनेर टिकाटिप्पणी सामाजिक सञ्जालमा भए ।
कार्यक्रम गर्नुको उद्देश्य भने कास्की ल्वाङघलेलको गौरी शंकर मनिलाल उच्च मावि र साविक ल्वाङ्घलेलमा रहेको गौरी शंकर मनिलाल माविको सहयोगार्थ थियो । कार्यक्रमको सुरुवातमा कुरुप अनुहार हो यहाँ कोही साथी छैन बोलको गीत गाउँदै स्टेजमा देखिए । साहित्यकार सरुभक्तले लेखेको, पोखरेली कलाकार विक्रम गुरुङले कम्पोज गरेको यस गीतबाट शुभारम्भ गरेका उनको प्रस्तुति दुईघण्टा अवधिसम्म रह्यो । त्यसपछि भेडाको उन जस्तो, छेक्यो छेक्यो देउराली डाँडा, आगनैभरी, शिर फुल सिरैमा, खान्न म त लामपाते सुरती, साइली माइली मेलैमा, जोमसोमे बजारमा, जोगले हुन्छ भेट, हो राम्मा राम्मा, आमा, कोशीको पानी, गाउँ गाउँबाट उठ, हिमाल चुचुरे, मै नाचे छमछमती, रेशम, तालको पानी, तिमि पनि नेपालि म पनि नेपाली गरी नयाँ तथा पुराना १८ वटा गीत सुनाए । यि गीतहरु सुनाउँदा अमृत घरी जोशीन्थे, घरी भावुक बन्थे । आमा बोलको गीत सुनाउदाँ उनी भक्कानिए पनि । गीत सुनाउँदैै गर्दा उनले विभिन्न प्रसंग झिक्दै दर्शकलाई हौसाए । धेरै कुरा देशकै बारेमा गरे । सबैै जात जाती र भाषा भाषीका नेपाली मिलेर वस्नु पर्नेमा जोड उनले दिए । उनले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन दर्शकलाई आग्रह गरे । राम्रो मान्छेलाई भोट हाल्न उनको सुझाव थियो । घुम्न मनपराउने गुरुङले दर्शकलाई देशका विभिन्न भू–भाग घुम्नको लागि उत्साहित गरे । नेपालमा धेरै पर्यटकीय सम्भावना भएको बताउदै नेपालमा भएका धेरै डाँडा काडाहरु घुम्दा धेरै कुरा सिक्ने मौका आफूले पाएको अनुभव सुनाए । उनले पोखरामा विताएका विगत र सहकर्मी साथीलाई समेत सम्झिए । अमृतलाई ड्रममा धुव्र लामा, बेस गितारमा सुदिन शाक्य, मादलमा शान्ति रायमाझी, किर्बोडमा सुरज थापा र गीतारमा निरज गुरुङको साथ थियो । रायमाझीले रोचक तरिकाले बजाएको मादल र निरजले बजाएको गीतारले दर्शकलाई आर्कषित ग¥यो । कार्यक्रम हेर्न पुग्ने महिला र पुरुष दर्शकको लागि छुट्टाछुट्टै ठाउँ तोकिएको थियो । यसले कन्र्सट हेर्न पुग्ने महिलालाई सहजता बनायो । कार्यक्रममा पोखरेली दर्शक, पोखरा घुम्न आएका आन्तरिक पर्यटकको अलावा विदेशी पर्यटक समेत देखिन्थे । नेपथ्य स्थापनको २५ औं वसन्त प्रबेशको अवसरमा पोखराबाट रजत जयन्ती कार्यक्रम सुरु भएको हो । यो वर्ष भरी विभिन्न कार्यक्रम लिएर नेपथ्य देशका विभिन्न भाग पुग्ने तयारीमा रहेको नेपालयका अपर्ण शर्माले बताए । ‘२५ बर्ष अघि अप्रिल एकमा हाम्रो पहिलो एल्वम सार्वजनीक भएको थियो, अप्रिलको पहिलो हप्तामै पोखराबाट सांगीतीक कार्यक्रम सुरुवात भएको छ, यो हाम्रो अभियान देश र विदेशसम्म रहनेछ’ उनले भने ।
कन्र्सट सर्वसाधारणको पहुँचमा कहिले ?
अमृत गुरुङले जहाँ पायो त्यही गीत गाउँदैनन् । गत माघमा पोखरामा आयोजित छैटौं नेपाल साहित्य महोत्सवमा उनी आएका थिए । घर हाम्रो पोखरा सेगमेन्टमा दर्शकमाझ देखिंदा दर्शकको चाहना उनले एक दुई लाइन भएपनि गीत सुनाउन् भन्ने थियो । आग्रह पनि गरे । तर अमृतले मानेनन् । हुनपनि जुनुसुकै कार्यक्रममा पनि गीत सुनाएर हल्का बन्दा लोकप्रियता घट्ने र महत्व नहुने उनलाई राम्रोसँग थाहा छ । यसरी आफ्नो अडान राखेकोले नै अमृतको चाम बेग्लै छ । उनले पहाडका, कुना कन्दराका, दुःख पिडाका, देशप्रेमका सन्देश मूलक गीत गाउँछन् ।  विभिन्न ठाउँको अवलोकन गर्ने र तहाँ रहेको संस्कृतिलाई गीत मार्फत जोड्ने प्रयास उनले गर्छन् । तरपनि उनका कार्यक्रम हेर्न आयस्रोत कम भएका शुभचिन्तकका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ । सायद पोखरामा आयोजित कार्यक्रममा कन्र्सट हेर्नको लागि एक हजार रुपैयाँ टिकट काट्न सर्वसाधरणलाई गाह्रो भयो । पोखरा रंगशालामा आयोजित कार्यक्रम हेर्न अपेक्षाकृत दर्शक थिएनन् ।  हुनत पोखरामा आयोजित अन्य कन्र्सटको तुलनामा संख्या बढी भएपनि नेपथ्यले शनिबार पोखरामा देखिएका दर्शकको संख्यामा सन्तुष्ट हुनु हुदैन । आयस्रोत कम भएका र एक हजार रुपैयाँ टिकट काट्न नसक्ने सर्मथकले सोधेका छन् हामीले नेपथ्यको कन्र्सट हेर्न कहिले पाउने?



Post a Comment

 
Top