0
गोल्डेन न्यूज संवाददाता
पोखरा पृथ्बीचोकको आइल्यान्ड घटाउन पहल भैरहेका बेला अध्ययनका लागि आएका ट्राफिक विज्ञले सबै चोक घटाउनुपर्ने बताएका छन् । सडक विभागले खटाएर पोखरा आएका ट्राफिक विज्ञ डा. पदम शाहीले सबै चोकको निरीक्षण गरेपछि यस्तो निश्कर्ष निकालेका हुन्। डा. शाही चोकहरुको निरीक्षणपछि काठमाडौं फर्केर विभागलाई रिपोर्ट बुझाउने तयारीमा छन् । ‘पोखराका चोकहरु प्राबिधिक रुपले कुनैपनि मिलेका छैनन्’, उनले भने–‘आकार नमिलेकाले ट्राफिक ब्यवस्थापनमा समस्या भएको हो ।’ अध्ययनपछि उनले विभागमा बुझाउने प्रतिवेदनमा सबै चोक घटाउन र ट्राफिक लाइटको ब्यवस्था गर्ने सुझाव पेश गर्दैछन् । १४ मिटर गोलाइको पृथ्बीचोकलाई ३ मिटरमा झार्ने गरी घटाउनुपर्ने उनको निश्कर्ष छ । ‘चोकको आकार ठूलो भएकाले ट्राफिक मुभमेन्टमा असर गरेको छ त्यसैले घटाउनुको विकल्प छैन’–उनले भने ।  पृथ्वीचोक सहित चिप्लेढुङ्गाको विपीचोक, मुस्ताङचोक, शहिद चोक, बिरौटाचोक, अमरसिंह चोक, जिरोकिलोमिटर लगायतका चोकमा रहेको आइल्यान्ड ब्यवस्थापन नगरे सवारी ब्यवस्थापनमा समस्या पर्ने उनले बताएको पिस पोखरा अनलाइनले उल्लेख गरेको छ । सवारी चाप बढ्दै गएकाले भविष्यमा यी चोकका सबै आइल्यान्ड हटाएर स्मार्ट ट्राफिक आइल्यान्ड मात्रै राख्दा उपयुक्त हुने उनको तर्क छ । इन्जिनियरिङ डिजाइनसहित चोकको ब्यवस्थापनका लागि विभागलाई एक साता भित्र प्रतिवेदन बुझाउने उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पृथ्बीचोक क्षेत्रमा एक घण्टाको अवधिमा झण्डै ८ हजार ६ सयसम्म सवारी आवागमन भएको रेकर्ड छ । बढी ब्यस्त समयमा यो चोकमा अत्याधिक सवारी चाप हुनाले ट्राफिक जामको समस्या हुने गरेको छ।  ‘पृथ्बीचोकको सडक क्षमता ३ हजार देखि ३ हजार ५ सयसम्म हो तर दोब्बर भन्दा बढी सवारी चापले ब्यवस्थापनमा समस्या छ’, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले भने–‘पृथ्वीचोक क्षेत्रमा अहिलेको सवारी चाप अत्यधिक हो ।’ आइल्यान्डको कारण सवारीको गति कम गराउन मद्धत पुग्ने, दुर्घटनामा कमि हुने लगायतका फाइदा भएपनि आइल्यान्डको आकार ठूलो र सडकको साइज सो अनुसार नहुँदा सवारी जामको समस्या हुने गरेको उनले स्पष्ट पारे । अहिले लखन थापाको सालिक राखिएको पृथ्बीचोकस्थित आइल्यान्ड चाक्लो र भद्धा छ । हाल एउटै चोकमा बढी सवारी ओहोरदोहोर हुने समयमा ६ जना सम्म ट्राफिक प्रहरी खटाउनुपर्ने बाध्यता छ । एकातर्फ बसेका ट्राफिकले अर्को तर्फबाट आएको सवारी नदेख्ने भएकाले सवारी आवागमन गराउन पनि निकै कठिन हुने गरेको छ । आइल्यान्डको आकार घटाउन सकेमा ट्राफिक ब्यवस्थापनमा पनि केहि सुधार आउने प्रहरी निरीक्षक अधिकारीले बताए । 
यातायात व्यवस्था कार्यालय गण्डकीमा अहिलेसम्म साना ठूला गरी एक लाख ६४ हजार सवारी दर्ता भएका छन् । यी सवारी मध्ये ६० प्रतिशत पोखरामै गुड्छन् । अन्त दर्ता भएका सवारी पनि पोखरामा भएर चल्ने तथा पृथ्बी, भूपी शेरचन र सिद्धार्थ राजमार्ग अन्तर्गत चल्ने सवारीको चाप पनि पृथ्बीचोक क्षेत्रमा पर्छ ।

पोखराको चोक व्यवस्थापन गर्ने बिषयमा सरोकारवाला सबै पक्षसँग बारम्बार छलफल भएका थिए । यसअघिको छलफलमा विभिन्न नाममा चोक कब्जा गरेकाहरुले आइल्यान्ड सानो बनाउने पक्षमा सहमति जनाएका छन् । चोक व्यवस्थापनका लागि प्राविधिक टोली खटाएर काम भइरहेको सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख प्रेमप्रकाश खत्रीले बताए । बिज्ञ टोलीले प्रतिवेदन आएपछि विभागको निर्णय आउने र आइल्यान्ड ब्यवस्थापन गरिने उनले बताए । पृथ्बी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र बहादुर केसीले आइल्यान्ड रिसाइज गर्दा अहिले भैरहेको अस्तब्यवस्तता कम हुने विश्वास ब्यक्त गरे । तर उनले आइल्यान्ड मात्रै नभइ सडकनै रिसाइज गर्नुपर्ने आवश्यकता औल्याए । सडक विभाग, विद्युत प्राधिकरण, खानेपानी संस्थान र टेलिकमको समन्वयमा सडक विस्तार र ब्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।





Post a Comment

 
Top