0
गोल्डेन न्यूज संवाददाता
संसदमा सरकारले पेश गरेको संविधान संशोधन विधेयक माथि संशोधन दर्ता गर्न दिइएको ७२ घन्टाको समय सकिनै लाग्दा एमालेका सांसदहरुको तर्फबाट एकल र संयुक्त गरी ३१ वटासहित ४६ वटा संशोधन प्रस्ताव संसदमा दर्ता गरिएको छ । सरकारले पछिल्लो समय संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा विभिन्न साना दलले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् । सरकारको तर्फबाट संसदमा ल्याइएको संशोधन विधेयकमा मधेसी दलहरुसंग भएको सहमति पछि सत्तारुढ गठबन्धनका तर्फबाट पनि संशोधन प्रस्ताव दर्ता हुने भनिए पनि अहिलेसम्म प्रस्ताव भने दर्ता गरिएको छैन । प्रस्ताव दर्ता गर्ने अन्तिम समय आजै साँझ १० बजेसम्म रहेको छ । 
प्रमुख प्रतिपक्षी एमालेले भने सत्तापक्षले संशोधन विधेयकमा थप संशोधनका लागि ल्याउन लागेको ठूलो प्रस्ताव प्रति आश्चर्य व्यक्त गरेको छ । ‘सत्तापक्षले एकातिर हामीसंग संविधान संशोधन पारित गराउने कार्यमा सहयोग मागेको प्रचार गरिरहेको छ,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘तर सरकारले संशोधन चाँही केमा गर्न खोजेको त्यो भने अहिलेसम्म गोप्य राखेको छ । त्यसको बारेमा प्रमुख प्रतिपक्षमात्रै होइन सार्वभौम जनताका प्रतिनिधिलाई गुमराहमा राखिएको छ ।’
संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए भने शनिबार बिहान कांग्रेस सभापति देउवा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सरकारले आइतबार नै संसदमा दफावार छलफल गराएर संसोधन प्रस्ताव पारित गर्ने मनस्थिति बनाएको छ भने एमालेले संसोधन विधेयक माथि परेका संशोधन प्रस्तावलाई समितिमा पठाएर टुंग्याउनुपर्ने बताइरहेको छ ।
यसैबीच प्रमुख विपक्षी एमालेले सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक असफल पार्ने निर्णय गरेको छ । स्थायी कमिटीको शनिबार साँझ बसेको बैठकले संशोधनविरुद्ध उभिन सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गरेको छ । 
‘व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त बिधेयकलाई असफल पार्ने निर्णय गरेको छ,’ सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यसका लागि राजनीतिक दलहरुसाग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ ।’ 
भट्टराईले संशोधनमा उल्लेख भाषालगायतका विषय दीर्घकालीन रुपमा मुलुकको हितमा नभएकाले एमालेले आफ्नो अडान नफेर्ने जानकारी दिए । बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्यौल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट भएका षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । ‘षड्यन्त्रलाई असफल पार्दै घोषित २०७४ वैशाख ३१ मा नै सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ,’ विज्ञप्तीमा भनिएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे ब्रिफिङ गरेका थिए ।
यता, एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।  कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटमा एमाले अध्यक्ष केपी ओलीले यस्तो प्रस्ताव गरेका हुन् । 
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफल गरी ओली निवास बालकोट गएका कांग्रेस नेताहरुले भने दुवै चरणको निर्वाचन तालिका आइसकेकाले पुनःएकैचरणको निर्वाचन गर्न असम्भव हुने बताए । ‘बजेट अघि जेठको ११÷१२ गतेतिर एकैचरणको निर्वाचन गरौं भन्ने प्रस्ताव ओलीजीबाट आयो’कांग्रेस वरिष्ठ नेता पौडेलले भने,‘हामीले दोस्रो चरणको निर्वाचन तालिका आइसकेकले कठिनाई हुने बतायौं ।’

Post a Comment

 
Top