0
गोल्डेन न्यूज संवाददाता
पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले सोही अवसर पारेर राजधानीको लाजिम्पाटमा सरसफाइ तथा चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगतग गरिमा विकास बैंकले शनिबार काठमाडौंको लाजिम्पाट स्थित होटल एम्बेरसडरदेखि पानीपोखरी सडक खण्डमा सरसफाई कार्यक्रम गरेको हो । बैंकका सञ्चालक तथा ओम अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्दप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सरसफाई कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमा दिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामी उत्कृट सेवा दिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाडौं स्थानान्तरण यसको पहिलो सुरुवात हो’प्रमुख कार्यकारी अधिकृत ढकालले भने । काठमाडौं महानगरपालिका सँगको सहकार्यमा बैंकले ‘आफ्नो टोल आफैं सफा गरौं, धुलोरहित महानगरपालिका बनाऔं’ भन्ने नारा सहित सरसफाई तथा चेतना अभियानको आयोजना गरेको हो । यसबाट राजधानीको वातावरण प्रदुषण नियन्त्रणमा सकरात्मक सन्देश प्रवाह हुने विश्वास बैंकले लिएको छ । पोखराबाट काठमाडौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रक्रिया पुरा गरि चैत २७ देखि लाजिम्पाटबाट सेवा सुरु गरेको बैंकको औपचारिक उद्घाटन हुन बाँकी छ । यसैबीच बैंकले बैशाख १५ गतेबाट आठ प्रतिशत व्याजदरको नयाँ बचत योजना सुरु गरेको छ । ‘गरिमा शुभलाभ विशेष योजना’ नामक बचत योजनामा सहभागी हुने सेवाग्राहीले वाषिर्क आठ प्रतिशत व्याज पाउने बैकले जनाएको छ । चालु आर्थिक वर्षको त्रैमासमा १३ अर्ब ३९ करोड ४५ लाख ७० हजार रुपैंया निक्षेप संकलन तथा १२ अर्ब नौ करोड चार लाख ९३ हजार रुपैंया कर्जा प्रवाह गरेको बैंकले २५ रुपैंया ५६ पैसा प्रतिसेयर आम्दानी बनाएको छ । यस क्रममा बैंकले खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशतले बढाएर २४ करोड ८५ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको छ । काठमाडौंको सामाखुसी तथा लाजिम्पाट सहित ४३ शाखा र सात एटीएमबाट वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले राजधानीको चाबहिल तथा कलंकी सहित सात स्थानमा निकट भविष्यमा नै नयाँ शाखा संचालनमा ल्याउँदैछ ।






Post a Comment

 
Top