0
गोल्डेन न्यूज संवाददाता
स्याङ्जा आँधिखोला गाउँपालिका वडा नं. २ (साविक चिलाउनेबास–२) काफलटारी स्थित संस्कृत गुरुकुल बेद विद्याश्रममा सहयोग जुटेको छ । मुष्ठीदानमा चलिरहेको विद्याश्रमलाई पोखराबाट युवाको टोलीले खाद्यन्न सहयोग गरेका हुन् । विद्याश्रमलाई आवश्यक पर्ने खाद्यन्न लिएर युवा समूह विद्यालयमै पुगेको हो । गत माघमा ओजन क्लबमा डान्स पार्टी आयोजना गरेर बचेको रकम आयोजकले सामाजिक कार्यमा खर्च गरेका हुन् । यस्तै, फेसबुक समूह ‘वी आर वान’ का तर्फबाट पनि सहयोग प्रदान गरिएको संयोजक सूर्य तिमिल्सिनाले जानकारी दिए । रियाज तिमिल्सिना, अशोक सेढाईं र सन्देश क्षत्री मिलेर माघ ६ गते ‘दि वाईल्ड लिजेण्ड नाईट’ डान्स पार्टी आयोजना गरेका थिए । सो पार्टीबाट संकलित रकमलाई यसरी उपयोग गरिएको हो । ‘युवालाई समेटेर कार्यक्रम गरियो । मनोरञ्जन प्राप्त भयो । बचत रकम सामाजिक कार्यमा खर्च गर्ने सोच आयो ।’ अशोक सेढाईंले भने– ‘यति विकट ठाउँमा आएर थोरै भएपनि सहयोग गर्न पाउँदा गौरव अनुभूति भएको छ ।’ टोलीले चामल, आलु, दाल, तेल लगायतका खाद्यान्न सामाग्री विद्याश्रम व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद उपाध्याय, प्राचार्य रामचन्द्र तिमिल्सिनालाई हस्तान्तरण गरे । ‘हामी पनि सामाजिक सेवामा डान्स पार्टी गरेरै यसरी समाहित हुन सक्छौं है भन्ने लाग्यो’–रियाजले भने– ‘आज कम्तिमा आफ्नो धर्म, संस्कृतिमा लागेकाहरुसँग मिसिन पाउँदा खुशी लागेको छ ।’
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपाध्यायले आफै पढ्ने उमेरका युवाहरुले आफ्नै तहमा कार्यक्रम गरी अवशेष रकमबाट अन्नदान गरेकोमा खुशी प्रकट गर्दै अरु युवालाई पनि प्रेरणा मिल्ने बताए । प्राचार्य तिमिल्सिनाले कति युवाहरु दुव्र्यसनीमा फस्ने, डिस्को डान्स पार्टीहरुमा रम्ने मात्र गरिरहँदा त्यही समूहमा यस्ता युवाहरु हुन गर्वको कुरा भन्दै यस्तै सत्मार्गमा अघि बढ्न शुभेच्छा प्रकट गरे । टोलीमा आशिष पुरी, सन्दिप सापकोटा लगायत सहभागी थिए । ब्राह्मण बस्ती धेरै रहेको सो क्षेत्रमा २०२४ साल अघिदेखि नै आश्रम बनेपनि २०६२ सालबाट यसरी माध्यमिक तह सम्मै संस्कृत पठनपाठन हुने गरी विद्यालय सञ्चालनमा आएको हो । गुरुकुलमा अहिले १२ जिल्लाका ६५ जना विद्यार्थीहरु पढ्छन् । विद्याश्रमको आम्दानी स्रोत केहि छैन तर झण्डै ७० जनालाई नियमित भोजन र बासको व्यवस्था गर्नुपर्ने हुन्छ । तत्कालिन उपराष्ट्रपतिलाई नै आतिथ्यता गराएर महायज्ञ सञ्चालन गरी पैसा जुटाएर भवन ठड्याईएको छ तर रकम अभावले पूरा हुन सकेको छैन । दुर्गम स्थान भएकै कारण दाताको नजर पर्न नसकेको आश्रम सहयोगको पर्खाइमा रहेको छ।

Post a Comment

 
Top