0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरुले संविधानको कार्यान्वयन का लागि असन्तुष्ट मधेसी मोर्चा र प्रमुख विपक्षी दलसँग सहमति गरी तत्काल निर्वाचनमा जान पार्टी नेतृत्वले क्रियाशिल भूमिका खेल्न सुझाव दिएका छन्। आइतबारदेखि सुरू केन्द्रीय समिति बैठकको दोस्रो दिन बोल्ने अधिकांश सदस्यले संविधान संशोधनको प्रक्रियामा मोर्चा र एमालेलाई सहमतिमा ल्याउन र निर्वाचन मार्फत संक्रमणकालको अन्त्य गर्न कांग्रेसकै भूमिका महत्वपूर्ण रहेको बताए। अर्जुननरसिंह केसी, आनन्दप्रसाद ढुंगाना, ईश्वरी न्यौपाने, उमाकान्त चौधरी, किरण यादवले बोल्ने क्रममा मधेसी जनताको मागप्रति हिजोका दिनमा पनि कांग्रेसले नै सम्बोधन गर्ने कोशिश गरेको र अहिले पनि मधेसी जनताको ध्यान कांग्रेसप्रति नै केन्द्रित रहेको बताएका थिए।  एमालेको उग्रराष्ट्रवाद र मधेसी मोर्चाको उग्रमधेसवादले मुलुक र संविधान नै संकटमा पर्न सक्ने खतराप्रति पार्टी नेतृत्व सजग हुँदै दुबै पक्षलाई सहमतिमा ल्याएर सके संशोधनको प्रस्ताव पास गरी र नभए प्रक्रियाबाट टुंगोमा पुग्नु नै पार्टी र मुलुकको लागि हितकर हुने सुझाव दिएका थिए। बालकृष्ण खाँणले सीमाकंनको विषयमा आफ्नो निर्वाचन क्षेत्र रहेको ५ नम्बर प्रदेशको सीमाना हेरफेर गर्न जनताको राय फरक भए पनि मुलुकको समस्या समाधान भएर निकास पाउँछ भने आफूहरु त्यसका लागि पीडा सहन पनि तयार रहेको धारणा राखेका थिए। कार्यसम्पादन समिति गठन प्रक्रियामा नेतृत्वले सहजताका लागि रोलक्रमका आधारमा निर्णय गरे पनि यसमा कतिपय नेताहरुको वरियता नमिलेकोमा मिलाउन नेतृत्वलाई खाँणले आग्रह गरेका थिए। ज्ञानेन्द्रबहादुर कार्कीले मधेसका जनताको भावना बमोजिम संविधानमा आवश्यक परिमार्जन गरी एमाले र मधेसी मोर्चालाई साथै लिएर निर्वाचनमा जानुपर्ने बताए।

 एमालेको संगठनात्मक गति र प्रचारमा आक्रामक रहेको भन्दै कांग्रेसले पनि पार्टीका सबै तहलाई क्रियाशिल बनाएर जनतासामु जानुपर्ने बताए।   कार्यसम्पादन समिति गठन प्रक्रियामा सहताका लागि वरियता क्रमका आधारमा गरिए पनि यसले कतिपय वरिष्ठ नेता र समावेशी सिद्धान्तलाई समेट्न नसक्दा बाहिर असन्तुष्टि बढेको भन्दै यसलाई विभाग गठन प्रक्रियामा ध्यान दिन नेतृत्वसँग आग्रह ईश्वरी न्यौपानेले गरेकी थिइन्। उनले स्थानीय तहको निर्वाचनमा टिकट वितरण गर्ने विषयमा गाउँदेखि क्षेत्र र जिल्लामा सहमति भएको अवस्थामा त्यहीबाट र नभए निष्पक्ष रुपमा आएको सिफारिसका आधारमा योग्य व्यक्तिलाई टिकट केन्द्रबाट दिने विषयमा पार्टीले तत्काल पहल गर्न सुझाव दिइन्।  कतिपय तराई मधेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले स्थानीय तहको संख्या र प्रतिनिधित्वको संख्या जनसंख्याका आधारमा गर्न माग गरिरहेको प्रति आपत्ति जनाउँदै हुम्लाका जीवनबहादुर शाहीले भुगोल र जनसंख्या मिलाएर गर्नु पर्ने बताएका थिए। उनले आक्रोशित हुँदै जनसंख्या मात्रै भन्ने हो भने हुम्लामा तिब्बती नागरिक बढाएर प्रतिनिधित्व बढाउने भनि व्यंग्य गरेपछि किरण यादवले प्रतिबाद गर्दै सबै तराईका जनता भारतबाट आएको भन्ने दृष्टीकोण गलत भएको बताइन्। गोविन्द भट्टराईले अहिले कार्यकर्तामा निर्वाचनको घोषणाले उत्साह पलाएको बताए। 

कतिपयले निर्वाचन गराउँदा देश टुक्रन्छ भनि गरेको दाबीको खण्डन गर्दै उनले निर्वाचन नगराउँदा देश टुक्रन र संविधान धरापमा पर्न सक्ने खतरा रहेको भन्दै यसमा पार्टीले समाधानको उपाय निकाल्न सुझाव दिएका थिए। मधेसी मोर्चाले उठाउँदै आएको सीमाकंनको विवाद सीमांकन परिवर्तनको यात्राको अन्तिम पाइला हो कि पहिलो भन्ने स्पष्ट हुन वार्तामा सहभागी नेताहरुलाई सम्झाएका थिए। उनले मधेसमा विखण्डन चाहने र संविधान नमान्नेहरुसँग अहिलेको मधेसी मोर्चाको सम्बन्ध के हो यसबारे छिनोफानो लगाउन पनि माग गरेको थिए। खुमबहादुर खडकाले आइतबार पेश गरेको हिन्दुराज्य स्थापनाका लागि जनमत संग्रह गर्नुपर्ने प्रस्तावको पक्षमा सोमबार उनी निकट सदस्यहरु पुष्पा भुसाल, शंकर भण्डारी र देवेन्द्रराज कंडेलले समर्थन जनाउदै आफ्नो धारणा राखेका थिए। पार्टी लाइन विपरित धारणा राख्दै चर्चामा आउने गरेका धनराज गुरुङले कन्चनपुरमा हालै भारतीय सीमा सुरक्षा बलले चलाएको गोलीका कारण नेपाली नागरिकको निधन भएकोमा यसमा भारतले माफी माग्न र क्षतिपूर्ति दिने विषयमा पार्टीले निर्णय गर्न माग गरेको थिए। नेपालको सीमा भारतले मिच्दै आएको आरोप लगाउँदै उनले सीमा व्यवस्थापनका लागि सीमाक्षेत्रमा काँडे तारबार लगाउन लगाउनुपर्ने सुझाव पनि उनले राखेका थिए। 

यसैगरी कांग्रेसको केन्द्रीय समिति बैठकले हालै सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजी नियुक्तीमा गरेको अवरोधको विरोध गर्दै सरकारी अधिकारमा अदालतले हस्तक्षेप गरेको आरोप लगाएको छ। नेपाली कांग्रेसको सिफारिसमा सरकारले फागुन १ गते जयबहादुर चन्दलाई सरकारले गरेको नियुक्ती सर्वोच्चले बदर गरेको थियो। मंगलबार सकिएको कांग्रेसको केन्द्रीय समिति बैठकले ७ बुँदे लिखित घोषणापत्र जारी गर्दै अदालतको कारबाहीप्रति आपत्ती जनाएको हो। यस्तै कांग्रेसले आसन्न स्थानीय निर्वाचनका लागि उम्मेद्वार छान्ने जिम्मा जिल्लालाई दिने निर्णय पनि गरेको छ। यसअघि केन्द्रले नै उम्मेद्वार छान्ने भन्दै आएकोमा अब स्थानीय तहको सिफारिसमा जिल्लाले नै उम्मेद्वार छान्ने निर्णय गरेको हो। आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरूलाई पनि सँगै लिएर जान कांग्रेसले महत्वपूर्ण भूमिका निभाउने भएको छ। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई यथासक्य चाडो सहमतिका आधारमा संशोधन गराएर निर्वाचनमा जाने कांग्रेसले निर्णय गरेको छ।

Post a Comment

 
Top