0
नेपालमा लगानी सम्भावनाको उपयोग गरौँ भन्ने मूल नाराका साथ सरकारले आयोजना गरेको नेपाल लगानी सम्मेलन सकियो । चीन, भारत, बंगलादेश लगायत केही देशले नेपालमा लगानी गर्ने इच्छा जाहेर गरेका छन् । लगानी सम्भावनाको बजारीकरण गर्ने, लगानी वातावरणको जानकारी दिने, लगानीकर्ताबाट लगानी नीति र वातावरणका विषयमा सुझाव लिने, लगानीकर्ताबीचको सम्पर्क सञ्जाल विस्तार गर्नेलगायत उद्देश्यका लागि आयोजना गरिएको सम्मेलन नेपालीका लागि विशेष महत्व रह्यो । विदेशी पुँजी, प्रविधि तथा व्यवस्थापकीय कौशल आकर्षित गरी औद्योगिकीकरणको प्रक्रियालाई प्रभावकारी बनाउन पनि देशमा विदेशी लगानीलाई प्रोत्साहन गर्नु जरूरी छ । नेपालजस्तो विकासोन्मुख देशमा आर्थिक सामाजिक विकासका लागि पुँजीको अभाव रहनु स्वाभाविकै हो । त्यस कारण, विकासको पूर्वाधार खडा गर्न सरकारले आवश्यकीय पुँँजी लगानीका लागि विदेशी लगानीकर्तालाई आह्वान् गरिरहेको छ । नेपालमा चिनियाँ उद्योगीबाट लगानीको सम्भाव्यता खोजी गर्न चीनको एक प्रतिनिधिमण्डल नेपाल आएको छ । उक्त टोलीले चितवनको मेघौली र जगतपुरमा कृषि उद्योग र पर्यटन व्यवसाय सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ। विदेशी लगानी भित्रिँदा पुँजीमात्र नआई व्यवस्थापकीय क्षमता, प्राविधिक ज्ञान र सीप, प्रशासनिक दक्षता, नयाँ उत्पादन विधि, व्यावसायिक संस्कार पनि आउने हुँदा उत्पादनमूलक क्षेत्रमा विदेशी निजी क्षेत्रलाई पुँजी लगानी गराउने वातावरण सिर्जना गर्नुपर्छ । प्रतिनिधिमण्डलले दक्षिण एशियाली मुलुकमध्ये नेपाललाई चीनले उच्च महत्व दिएको छ । नेपालको पूर्वाधार निर्माण, ऊर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताइएको छ । नेपालीले विदेशी लगानीमार्फत आएको दक्षता र सीप ग्रहण गर्ने क्षमता र तत्परता विकास गर्न सके वैदेशिक लगानीपश्चात् घरेलु लगानीसमेत प्रोत्साहित गर्न सकिन्छ, जसबाट उत्पादन बढ्न गई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्न सकिन्छ । अहिले नेपालको अर्थतन्त्र वस्तु आयात गर्ने र श्रम चाहिँ निर्यात गर्ने प्रकृतिको छ । आयातीत पुँजीले स्वदेशी श्रम र स्रोतको उपयोग गरी वस्तु निर्यात गर्ने र रोजगारीमार्फत राष्ट्रिय आय वृद्धि गर्न सकिन्छ । उत्पादनमूलक तथा सेवामूलक उद्योग क्षेत्रमा विदेशी लगानी आउँदा रोजगारी बढ्ने, विदेशी लगानीका साथ आउने प्रविधि र बजारीकरणको अवसरको प्रभाव नेपाली निजी क्षेत्रमा पर्न गई थप लगानी प्रोत्साहित हुने अवस्थासमेत सिर्जना हुनसक्छ । देशमा रोजगारी वृद्धि गर्न, राष्ट्रिय स्रोतको उपयोग बढाउन र समग्रमा कुल गार्हस्थ उत्पादन बढाउन नेपालमा स्वदेशी र विदेशी लगानी आकर्षण गर्नु आवश्यक छ । नेपालमा कानुनको स्पष्टता, प्राथमिकता क्षेत्रको निर्धारण, सेवाको पारदर्शिता, सुनिश्चितता, लगानीको सुरक्षा, राजनीतिक स्थायित्वजस्ता वातावरण सुनिश्चित हुन सकेमात्रै विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ । नेपाल भारत र चीन दुई ठूला अर्थतन्त्रको बीचमा रहेको मुलुक भएकाले वातावरण जति राम्रो भयो, उत्तिकै लगानी बढ्ने देखिन्छ । नेपालमा विदेशी लगानी आकर्षित गर्न छिमेकी मित्रराष्ट्र र अन्य देशसँग द्विपक्षीय पारवहन र व्यापार सम्झौता गर्दै जानुपर्छ । नेपालको आर्थिक विकासका लागि सार्वजनिक निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रुपमा औद्योगिकीकरणको प्रक्रियालाई तीव्र बनाउनुपर्छ । स्वदेशी र विदेशी लगानीको माध्यमबाट नै नेपालका स्रोतहरु कच्चा पदार्थ र जनशक्तिको प्रयोग हुनुका साथै रोजगारी सृजना र राजस्व आर्जन गर्न सहज हुन्छ । नेपालको पर्यटन, सडक तथा रेलमार्ग, कृषि तथा ऊर्जा क्षेत्रमा पूर्वाधारमा लगानी भित्रिन सकेमात्रै देश समुन्नत हुने देखिन्छ ।

Post a Comment

 
Top