0
आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटको ठूलो अन्तरले पराजित गर्न सफल भएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको दोस्रो खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो । नेपालका कप्तानी सम्हालेका ज्ञानेन्द्र मल्लको निर्णयलाई सही सावित गर्दै ओप्नर बलर मेहबुब आलमले चौथो ओभरमा २ विकेट लिएका थिए । त्यसपछिको ५ ओभर लगातार मेडन फाल्दै उनले केन्याका ब्याट्स्म्यानलाई ब्याकफुटमा खेल्न मजबुर पारेका थिए । सस्तो मै २ विकेट गुमाएको केन्याका ब्याट्स्म्यानले त्यसपछि भने सम्हालिएर खेल्दै तेस्रो विकेटका इर्फान करिम र कोलिन्स अबुयाले ७९ रनको पाटनरसिप गरेका थिए । नेपालका लागि निकै घातक बन्दै गएको पाटरनसिपलाई लेगस्पिनर सन्दीप लामिछानेले २८ औं ओभरमा तोडेका थिए । राम्रो पाटनरसिपमा अंकुश लगाउन नेपाल सफल भएसँगै केन्याको विकेट पतन सुरु भएको थियो । नेपालका लागि सातौं बलरका रुपमा बलिङ गर्न आएका शरद भेषावकरको स्पीनले केन्याका ब्याट्स्म्यानलाई पेभिलियन फर्काउन सफल भएपछि केन्याले १० विकेटको क्षतिमा मात्र १५५ रन बनाउन सफल भयो ।

नेपालका लागि शरदले ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले २ विकेट र सन्दीप लामिछाने र सागर पुनले १–१ विकेट लिएका थिए । १५६ रनको लक्ष्य लिएर मैदानमा आएको नेपाली टोलीलाई पनि सुरुवाती ओभर मै २ विकेटको झड्का लागेको थियो । नेपालको पनि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र ऐरीको तेस्रो विकेटको पाटनरसिप जमेपछि १५६ रनको लक्ष्य पछ्याउन गाह्रो भएन । नेपालका ज्ञानेन्द्र र दीपेन्द्र दुवैले आफ्नो अर्धसतक पुरा गर्न सफल भयो । खेलको अन्तिम समयमा दीपेन्द्रको विकेट झरेसँगै मैदानमा प्रवेश गरेका नेपालका सबैभन्दा भरोसिला ब्याट्स्म्यान शरदले ज्ञानेन्द्रसँग मिलेर नेपाललाई जित दिलाए । नेपालका लागि ज्ञानेन्द्रले अविजित ६४ रन बनाए भने दीपन्द्रले ६२ र शरदले २४ रनको योगदान दिए । शनिबार वर्षाले प्रभावित खेलमा केन्यासँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा पनि कप्तान पारस खड्काबिनै मैदानमा उत्रिएको थियो । टस जितेर बलिङ रोजेको नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले लिएका थिए ।
यसैबीच नेपालका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ मा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताएका छन् । रिकरेन्ट एपेन्डिसाइटिस बिथ इन्टेसनाइनल अब्स्ट्रक्सन भएकाले अत्याधुनिक क्यामेरा प्रविधिबाट एड्हेसियालाईसि तथा की होल सर्जरी (गुजुल्टिएका आन्द्राहरू मिलाउने) एवं इमर्जेन्सी ल्याप्रोस्कोपिक एपेन्डिक्टोमी गरिएको थियो । त्यसपछि फागुन ८ मा ग्रान्डी अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका थिए । पारसलाई त्यसबाट निको हुन तीनसाता लाग्ने बताइएको थियो । नेपाली राष्ट्रिय टोलीले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको केन्यासँग हुने दुई खेलका लागि दिल्लीमा अभ्यास खेल खेले पनि पारस भारत गएका थिएनन्। गत सोमबारमात्र पारस अभ्यासमा फर्किएका थिए । उनले नेट्समा सामान्य ब्याटिङ मात्र गरेका थिए। उनलाई ब्याट टाउकोमाथि पुर्याउन पनि गाह्रो परेको देखिन्थ्यो । अभ्यासमा निहुरिएर फिल्डिङ गर्दा पनि उनले गाह्रो महसुस गरेका थिए । बलिङ प्रशिक्षक विनोद दासले ग्राउन्ड फिल्डिङ गराइरहेको समयमा पारसलाई ‘हाइ बल’ फाल्न आग्रह गरेका थिए । प्रशिक्षक जगत टमाटा र पारसले सञ्चारमाध्यमसँग कुरा गर्दै शुक्रबार साँझ वा खेल हुने दिन बिहान मात्र खेल्नेरनखेल्ने निर्णय हुने बताएका थिए । तर शुक्रबारै नेपाली टिमको बैठकमा पारसले खेल्ने सम्भावना नरहेको स्थिति बनेको हो । पारसले आफ्नो स्थिति निश्चित नभएको तर पछिल्लो तीन दिनमा धेरै सुधार भएको र ६० प्रतिशत खेल्ने सम्भावना बनेको बताउँदै आएका थिए । पारसले खेलाडीको मनोबल बढाउनका लागि मात्रै आफू ड्रेसिङरुममा बसेको बताउँदै अप्रेसनबाट पूर्ण रुपमा ठिक हुन केही समय लाग्ने र त्यसका लागि हतार नगर्ने बताएका छन् । उनले आफूले आइसीसी क्रिकेट लिग च्याम्पियनसिप र मार्चमा हुने इमर्जिङ टिम्स कप नखेल्ने बताइसकेको जानकारी दिएका छन् । इमर्जिङ टिम्स कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका अन्डर २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाले प्रतिष्पर्दा गर्ने छन् ।



Post a Comment

 
Top