0
गोल्डेन न्यूज संवाददाता
राजधानी तथा पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक मंगलबारबाट दैनिक छ घण्टा बन्द हुने भएको छ। बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी पूर्णरुपमा बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका गाडीहरु विशेष व्यवस्था गरेर सञ्चालन हुने छन्। विश्व बैंकको तीन अरब रुपैयाँ ऋण सहयोगमा सो सडक खण्डलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। सडक विस्तारका क्रममा पहाड काट्नेजस्ता जोखिम पूर्ण काम हुने भएका कारण यातायात ठप्प पार्नुपर्ने बाध्यात्मक अवस्था आएको आयोजान प्रमुख चन्द्रनारायण यादवले बताए।  यसअघि सो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक साढे चार घण्टा बन्द हुन्थ्यो। कार्यालयले यात्रु र चालकहरुलाई बैकल्पिक मार्ग रोज्न सुझाव दिएको छ। काठमाडौं बाट पूर्व जाने गाडीहरुलाई वैकल्पिक मार्ग केही छोटो पनि हुनेछ। वैकल्पिक बाटोहरुमा ठूलाभन्दा साना गाडी उपयोगी हुने सडक आयोजना कार्यालयको भनाइ छ। काठमाडौंबाट पूर्व जाने गाडीहरुले बनेपा हुँदै बर्दिवास निस्कने बीपी मार्ग प्रयोग गर्नसक्ने छन्। यसो गर्दा १७७ किलो मिटर दूरी कम हुनेछ। तर बीपी मार्ग साना गाडी र केही मात्रामा मझौला गाडीका लागिमात्रै उपयुक्त छ। नौबिसे हुँदै पालुङ हेटौंडा निस्कने बाटो त्रिभुवन राजपथ नारायणगढ मुग्लिन सडक खण्ड प्रयोग गर्ने रुट भन्दा १०८ किलो मिटर छोटो पर्छ। तर त्रिभुवन राजपथ १० मिटरभन्दा कम लम्बाइका गाडी र कम भार बोक्ने ट्रकहरुका लागि मात्रै उपयोगी भएको सडक आयोजनाले जानकारी दिएको छ। त्यस्तै साना गाडीहरु काठमाडौंबाट बल्खु हुँदै हेटौंडा निस्कन पनि सक्नेछन्। यसो गर्दा १४६ किलो मिटर कम दूरी हुनेछ। दूरी कम भएपनि बैकल्पिक बाटोहरु जीर्ण र कम फराकिलो भएका कारण साना गाडीहरुको पनि रोजाइमा पर्दैनन्। पश्चिम जाने गाडीहरुले मुग्लिनबाट पोखर हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर स्याङ्जा बुटवल निस्कने वैकल्पिक बाटो प्रयोग गर्न सक्ने छन्। तर यो बाटो लामो छ। काठमाडौंबाट मुग्लिन नारायाणगढ हुँदै बुटबल निस्कनभन्दा मुग्लिनबाट पोखरा, स्याङ्जा हुँदै सिद्धार्थ राजमार्गबाट बुटवल निस्कन ७१ किलो मिटर लामो हुने आयोजनाले जानकारी दिएको छ। यो बाटो पनि साना र मझौला गाडीहरुका लागि मात्रै उपयुक्त छ। केही मात्रामा ठूला गाडीहरु पनि चल्न सक्ने अवस्था रहेको आयोजना कार्यालयले जानकारी दिएको छ। दुई वर्षमा निर्माण सक्ने गरेर सन् २०१५को अप्रिलमा विभिन्न निर्माण कम्पनीहरुसँग सम्झौता भएको थियो। तर भूकम्प र नाकाबन्दी र वर्षाका बेला गएको पहिरोका कारण काममा सुस्त प्रगति देखिएको छ। हाल समय थप भए पनि निर्माण कार्याले रफ्तार लिन सकेको छ। काम सक्ने अवधि सन् २०१७ को डिसेम्बरसम्म पु¥याइएको छ। तर अहिलेसम्म लगभग ७८ प्रतिशत काम पूरा हुनुपर्नेमा ४१ प्रतिशत मात्रै सकिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिवखनालले जानकारी दिए। ३६ किलो मिटर सडक खण्ड पार पर्न पहिला सवा घण्टासम्म लाग्ने गरेकोमा अचेल किम्तमा तीन घण्टा लाग्ने गरेको छ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायता आयोजनाअन्तर्गत सडक विस्तारको काम सुरु भएको हो। हालः पाँच किलो मिटरसम्म चौडा रहेको सो बाटो विस्तारपछि नौदेखि ११ किलो मिटरसम्म फराकिलो हुनेछ। तर निर्माणमा ढिलाई हुँदा यात्रुले सास्ती पाउनका साथै ढुवानीमा परेको अफ्ठ्यारोले व्यापारमा समेत प्रभाव परेको छ।

Post a Comment

 
Top