0
गोल्डेन न्यूज संवाददाता
चीनले नेपालको संविधान कार्यान्वयनमा जोड दिएको छ । नेपालको राजनीतिक स्थायित्व र विकासका लागि नयाँ संविधानको कार्यान्वयनमा चीनले विशेष महत्व दिएको संकेतार्थ आशन्न स्थानीय निर्वाचनका लागि नब्बे लाख चिनियाँ युआन अर्थात् १३ करोड ५० लाख रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो । सोमबार अपरान्ह जनवृहत सभाभवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल सँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिन फिङले उक्त सहयोग घोषणा गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्री दाहालले नेपाल नयाँ संविधान कार्यान्वयनमा लागेको  र यसका लागि स्थानीय निर्वाचनका जोडतोडले तयारी गरिरहेको बताएका थिए। प्रधानमन्त्री दाहालले यसो भनेपछि चिनियाँ राष्ट्रपति सीले नेपालको नयाँ संविधानको कार्यान्वयनका लागि चीनको तर्फबाट सानो उपहार भन्दै ९ मिलियन चिनियाँ युआनको घोषणा गरेका थिए । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोबिन्द आचार्यले कान्तिपुरलाई बताए अनुसार चीनले यस्तो घोषणा गर्दा प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डल खुशी भएका थिए ।  लगभग २५ मिनेट भएको भेटमा प्रधानमन्त्री दाहालले अन्य चिनियाँ अधिकारीलाई राख्दै आएका कुरा नै राष्ट्रपति सीसँग पनि राखेका थिए । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यक्रममा नेपाल सहभागी हुन प्रतिवद्ध भएको भन्दै दाहालले आगामी मे महिनामा चीनले आयोजना गर्न लागेको बेल्ट एन्ड रोड इनिसिएटिभ शिखर मन्चभन्दा अगाडि नै नेपालले हस्ताक्षर गर्ने र शिखर मन्चमा सक्रियतापूर्वक सहभागी हुने बताए । 

भूकम्पपछि बन्द रहेको तातोपानी नाका खोल्ने नेपालमा चिनियाँ पर्यटक बढाउने दुई देशबीचमा कनेक्टिभिटी बढाउने लगायतका कुराहरु दाहालले राखेका थिए । दाहालले यही कुरा बोआओ फोरममा चिनियाँ उपप्रधानमन्त्री चाङ काउली र बेइजिङमा अर्का उपप्रधानमन्त्री वाङ याङसँग पनि राखेका थिए। प्रधामन्त्री दाहालले चीन, नेपाल र भारत त्रिदेशीय सहकार्यको पनि प्रस्ताव राखेका थिए । त्रिदेशीय सहकार्य सबैभन्दा पहिले चीनले उठाएको हो । यो विषयमा भारत मौन रहँदै आएको छ । प्रधानमन्त्री दाहालले गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणमा भएका सम्झौताको कार्यान्वयनमा नेपाल प्रतिवद्ध रहेको अवगत पनि गराए । चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री दाहालका कुरा सुनेर समर्थन जनाउँदै तीनवटा कुरामा विशेष चासो राखेका थिए। तातोपानी नाका खोल्ने चीनको पूर्वाधार विकासमा सहयोग गर्ने र चिनियाँ रेललाई नेपालसम्म जोड्ने कुरामा आफ्नो व्यक्तिगत चासो रहेको भन्दै राष्ट्रपति सीले आफूले तिब्बतको स्थानीय सरकारलाई समेत यी कुरामा निर्देशन दिएको बताए ।






Post a Comment

 
Top