0
गोल्डेन न्यूज संवाददाता
प्रवाहित कर्जामा बैंकहरुले मनोमानी रुपमा ब्याज बढाउँदा पर्यटन लगायत उत्पादनमुलक क्षेत्र हतोत्साही हुने अवस्था सिर्जना भएको पोखराका होटलकर्मीहरुले गुनासो गरेका छन् । बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउँदा होटल क्षेत्रको लगानी बढी मारमा परेको गुनासो सहित पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली सोमबार नेपाल राष्ट्र बैंक पोखरा पुगेको थियो । संघको टोलीले नेपाल राष्ट्र बैंक पोखराका डिपुटी डाइरेक्टर अमर अधिकारी लगायतका अन्य अधिकारीहरुसँग छलफल गरी लगानी र ब्याजका सम्बन्धमा पर्यटन क्षेत्रले भोग्नु परेका समस्याका बारेमा अवगत गराएको संघका अध्यक्ष  विकल तुलाचनले जानकारी दिए । नियमनकारी निकाय र स्थानीय क्षेत्रको अभिभाव बैंक भएका नाताले आफूहरु व्यवसायीले भोग्नु परेका समस्याका बारेमा अबगत गराउन राष्ट्रबैंक पुगेको उनले सुनाए । बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउँदा लगानीकर्ता र बैंकको सम्बन्धमा नै चिसो सिर्जना हुने अवस्था आइलागेको उनले बताए । सो अवसरमा बोल्दै संघका महासचिव गणेशराज पहारीले व्यवसायीलाई बैंकले दिएको ओभर ड्राफ्ट (ओडी) को सिलिङ एक्कासी घटाउन लगाएर समस्यामा पारेको बताए । खर्च गरिसकेको रकम अहिले आएर ओडीको सीमा घटाइदिंदा अपुग रकम कहाँबाट कसरी ल्याएर पुर्ति गर्नु, उनले प्रश्न गरे । संघका सचिव राजेन्द्र ढकालले बैंकहरुले ब्यसायी माथि कसाइको जस्तो व्यवहार गरेको आरोप लगाए । सस्तो ब्याजदरमा निक्षेप संकलन गर्ने अनि थोरैमा सात प्रतिशत दरमा कर्जा प्रवाह गरी एकतर्फी रुपमा त्यसलाई अहिले दोब्बर अर्थात् १४ प्रतिशत पुर्याउनु– यो ज्याजदी भयो, उनले भने । क्यास क्रन्चको नाममा बैंकहरुले तीन महिना कुर्नुको सट्टा एक्कासी ब्याज बढाउनु अनैतिक भएको भनाई उनको थियो  ।

पर्यटन व्यवसायी सन्तोष पोखरेलले ब्यवसायीहरु समस्यामा पर्दा राष्ट्रबैंक मुकदर्शक भएर बस्न नमिल्ने बताए । बैंकहरुको मनोमानी विरुद्ध राष्ट्र बैंक खरो उत्रनुपर्ने भनाई उनको थियो  । आबश्यक पर्दा ब्याज बढाउन सकिने छ भन्ने व्यहोराको कागजमा ऋणिले गरेको हस्ताक्षरमा टेकेर लगानीकर्ता बैंकले दोब्बर ब्याज बढाउँदा ब्यबसायी मर्कामा परेको भनाई उनले राखे । नेपाल राष्ट्र बैंक पोखराका डिपुटी डाइरेक्टर अमर अधिकारीले अहिले देखिएको समस्या तरलताको नभई लगानी योग्य रकमको अभाव भएको बताए । राष्ट्र बैंकले बैंकहरुका लागि एउटा निश्चित दायर तोकिदिने तर ऋणि र बैंकविच भएका लगानी सम्बन्धी सम्झौतामा हस्तक्षप गर्ने नगरेको बताए । ब्यवसायीले अहिले भोग्नु परेका समस्या राष्ट्र बैंकको केन्द्रिय नीति निर्माण तहमा आफूहरुले पुर्याउने प्रतिबद्धता पनि उनले सुनाए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुबेदी, द्वितीय उपाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्य दीपक श्रेष्ठ र राजु थकाली लगायत सहभागी थिए ।





Post a Comment

 
Top