0
गोल्डेन न्यूज संवाददाता
पोखरामा तीन दिनसम्म पंक्षी तथा पंक्षीजन्य पदार्थ ओसार–पसारमा रोक लगाइएको छ । जिल्ला पशुसेवा कार्यालय कास्कीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी बर्डफ्लु अन्य क्षेत्रमा नसरोस् भन्ने उद्दश्यले पोखराको वडा नम्बर १ देखि वडा नम्बर १८ सम्म पंक्षी तथा पन्छीजन्य पदार्थ ओसार–पसारमा फागुन २५ गतेसम्म प्रतिबन्ध लगाएको जानकारी गराएको हो । कुखुरा पालक किसान तथा कुखुरा ब्यबसायीको सहमतिमा प्रतिबन्ध लगाइएको र फागुन २५ गतेपछि जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिको बैठक बसेर थप निर्णय लिइने जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा.पुरुषोत्तम त्रिपाठीले बताए । बर्डफ्लु नियन्त्रणमा आएको महसूस भएमा २६ गतेदेखि फुकुवा हुने तर, नियन्त्रण नआएको पाइए प्रतिबन्ध लम्बिने उनको भनाइ छ । बर्ड फ्लु देखिएको क्षेत्र पोखरा वडा नम्बर १८ खाल्टेमसिना स्थित मनकामना र भगवती टोलमा भने ४२ दिनसम्म प्रतिबन्ध लगाइनेछ । पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारबाहेक मासु किनबेच र काट्नका लागि भने खुल्ला गरिएको छ । कुनै ठाउँमा र्फम छ भने सो ठाउँ नजिकका फ्रेस हाउसमा लगेर काटेर बेच्न पाइने त्रिपाठीले जानकारी दिए । यसैबीच, बर्डफ्लु भेटिएको क्षेत्र पोखरा वडा नम्बर १८ खाल्टेमसिना स्थित मनकामना र भगवती टोलका ११६ घरधुरीका सबै कुखुरा नष्ट गरिएका छन् । जसअन्तर्गत १ हजार ४ सय ७१ वटा ब्रोइलर कुखुरा, ६ सय ६९ वटा लोकल कुखुरा, १ सय २२ वटा हाँस, परेवा र बट्टाई ३० वटासहित कुल २ हजार २ सय ९२ वटा पन्छी तथा पन्छीजन्य पदार्थ मारिएको जिल्ला पशु सेवा कार्यालय कास्कीका सूचना अधिकृत ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिए । त्यस्तै, काटेर राखिएको ६५ केजी मासु, ८ सय १९ केजी दाना र ३७ बोरा सुली पनि नष्ट गरिएको उनले बताए । बर्डफ्लु प्रभावित साढे २ किलोमिटर क्षेत्रका सबै पन्छी तथा पन्छीजन्य पदार्थ मारेर खाडलमा पुर्नुका साथै खोरहरु सफा गरेर किटनासक औषधी तथा चुन हालेर जिवाणुसमेत नष्ट गरिएको उनले बताए । पंक्षी मार्न दुई दिन लागेको भन्दै उनले भने, ‘शनिबार मारेर आएको घरमा पनि पुनः आईतबार कुखुरा मार्नुप¥यो, धेरैले नजिकका क्षेत्रमा रहेका आफन्तको घरमा लुकाएर राख्दा रहेछन्, कृषकले नबुझ्दा केही कठिनाईसमेत बेहोर्नुप¥यो ।’ बर्ड फ्लु प्रभावित क्षेत्रका कुखुरा मार्दा किसानलाई न्यून क्षेतिपूर्ति दिने भएकाले किसानले कुखुरा लुकाएको हुनसक्ने उनको अनुमान छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका फोकल पर्सन यम बरालले पंक्षी तथा पंक्षीजन्य पदार्थमा बर्डफ्लु देखिएपनि मान्छेमा अहिलेसम्म नदेखिएको बताए । बर्ड फ्लु प्रभावित क्षेत्रका स्थानियको घररघरमा पुगेर स्वास्थ्य परीक्षण गरिरहेका छौं, कसैलाई पनि बर्डफ्लुको लक्षण देखिएको छैन, ३ जनामा रुघारखोकी लागेको भेटिएपनि ज्वरो नआएको र बर्ड फ्लुको लक्षण नदेखिएको उनले प्रष्ट पारे । ¥यापिड रेस्पोन्स टिमले सोमबार पनि कृषकको घररघर पुगेर स्वास्थ्य अवस्था पुग्ने उनले बताए ।
यस्तै बर्ड फ्लु प्रभावित क्षेत्रका एक विद्यालय र एक क्याम्पस आइतबार बन्द भए । पोखरा–१८ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज र सेन्ट फ्रान्सिस स्कुल आइतबार एक दिन बन्द गरिएको हो । बन्द स्कुल र कलेज सोमबारदेखि खुल्ने बताइएको छ ।
यसैबीच बर्ड फ्लु लागेको क्षेत्रमा अनुसन्धान र रोकथामका लागि पुगेका चिकित्सक तथा प्राविधिकहरुलाई बिमा वापत क्षेतिपूर्ति हुने गरेको छ । तर किसानलाई भने बर्ड फ्लु लागेमा क्षतिपूर्तिको ब्यबस्था नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले बताए ।

Post a Comment

 
Top