0
लोककवि अलि मियाँका स्मृतिमा पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा सोमबार पत्रकार सम्मेलन आयोजना गरी पोखरा–१३ मा क्रियाशिल मुस्लिम युवा क्लवको संयोजनमा प्रतिष्ठानले पहिलो पटक सेभेन ए साइड फुटबल कप प्रतियोगिताको आयोजना गर्ने बताएको छ। चैतको १३ देखि १९ गतेसम्म पोखराको माछापोखरीस्थित खेल मैदानमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा ४५ वटा टिमले सहभागिता जनाउने आयोजक प्रतिष्ठानले बताएको छ। प्रतियोगिताको विजेताले एकलाख २५ हजार र उपविजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । त्यस्तै, प्रतियोगिताभरिकै सर्वोत्कृष्ट खेलाडीले ३० हजार र उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान १५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् । लोककवि अलि मियाँको पदचापलाई पछ्याउँदै फुटबल प्रतियोगिता गर्न लागिएको संयोजक अफजल हसन मियाँले बताए। ‘स्वर्गिय अलि मियाँ नाताले बाजे हुनुहुन्थ्यो’, अफजल हसनले थपे, ‘जीवनभर नेपाली लोक साहित्यको साथै संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्ने कार्यमा आफ्नो जीवन समर्पण गर्नुभएका उहाँलाई प्रेरणाको स्रोत मान्दै क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्न लागेका हौं।’ प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले प्रतिष्ठानले देशका बिभिन्न स्थान लगायत भारत, बंगलादेश र अमेरिकामा सयौं सांस्कृतिक कार्यक्रमहरु सम्पन्न गरिसकेको र प्रतिष्ठानद्धारा करिव दुईसय ५० भन्दा बढि स्रष्ठाहरु सम्मानित भइसकेको जानकारी दिए। हनिफ मियाँले अलि मियाँको पदचापलाई पछ्याउँदै मुस्लिम युवा क्लबको प्रस्तावलाई श्वीकार गरेर फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। ‘सबै क्षेत्रका नेपालीहरुका लागि अलि मियाँ प्रेरणाका श्रोत हुनुहुन्थ्यो’, हनिफले अलि मियाँको बारेमा स्मरण गर्दै भने,  ‘युवाहरु नै देशका खम्बा हुन र देश जोगाउने जिम्मा युवाहरुको काँधमा सुम्पनुपर्छ भन्ने उहाँको धारणा थियो।’ प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताका लागि टिमका लागि ५ हजार समावेशी शूल्क लाग्ने प्रतिष्ठानले जनाएको छ। आयोजक प्रतिष्ठानले प्रतियोगितालाई आगामी बर्षमा पनि निरन्तरता दिने जनाएको छ।








Post a Comment

 
Top