0
परिचय ः माधुरी साहित्य प्रतिष्ठान कुश्मा पर्वतबाट प्रकाशित नव माधुरी विविध साहित्यिक विविधताको राष्ट्रिय पत्रिका–२९, समीक्षार्थ हात लाग्यो ।सर्बप्रथम त यो पत्रिका कुश्मा पर्वतको माधुरी साहित्य प्रतिष्ठानको प्रकाशन र सरस्वती शर्मा जिज्ञासुको सम्पादनमा ११ वर्षदेखि अविक्षिन्न रूपमा प्रकाशित हुँदै आएको छ । प्रेस काउन्सिल नेपालको वर्गिकरणबाट क्षेत्रीय क वर्गमा वर्गिकृत हुन सफल देखिन्छ । यसको श्रेय साहित्यकार, सम्पादक, पत्रकार,समाजसेवी, राजनीतिक कर्मी र मानव अधिकार कर्मी सरस्वती शर्मा ‘जिज्ञासु’ मा जान्छ । उनी एक हुन् तर उनका विशेषताहरू अनेक छन् । यिनै विशेषताको उत्पादन हो नव माधुरी विविध साहित्यिक पत्रिका । नव माधुरीमा कहिले कुनै विषयमा विशेषाङ्क निक्लन्छन् भने कहिले साधारण अङ्कको रूपमा प्रकाशनमा आउँछ । हरेक अङ्कलाई समीक्षा गराउन चाहनु पनि उनको विशेषता हो । कृति प्रकाशन, स्रष्टा सम्मान, साहित्यिक गोष्ठी जस्ता गहन काम पनि माधुरी साहिन्त्य प्रतिष्ठानबाट हुँदै आएको पनि हामीले देखिरहेका छौं ।
कृतिको संरचना ः
आवरण सहित ७६पृष्ठमा प्रकाशित यस पत्रिकाको आवरणमा हामीले दीपावलीको दीपको प्रज्ज्वलनले प्रकाश छरेको छ भने पत्रिका भित्र, मुक्तक, गजल, विश्लेषण 
(समालोचना), निवन्ध,लघुकथा, कविता, संस्मरण, विचार,र हाइकुको साथै साहित्यिक कार्यक्रमका तस्विर विज्ञापन समावेश गरेको पाइन्छ । मूल्यं सहयोग शुक्ल रु. ५०।– राखिएको छ ।
विधागत अध्ययन
मुक्तक– रुद्र ज्ञावलीका सातवटा मुक्तकहरू समावेश गरिएका छन् । मुक्तकमा ज्ञावलीले राजनीतिप्रति देखिएका नकरात्मक क्रियाकलापको कारणले देश हार्न हुँदैन, बगेको रगतको हरहिसावको खोजी, निर्धाको लागि न्यायको खोजी, । विचार भनेको अटल हिमालय, दुःखले सिकाउने भएकोले विश्वद्यिालय, सन्तहरूले नै ईश्वरको अपव्याख्य गर्ने महन्तहरूले नै धर्मको व्यापार गर्ने, समयले विभिन्न कर्ममा हिडाउने जस्ता अभिव्यक्ति पोख्दै राष्ट्रियताप्रतिको उनको धारणा यसरी अध्ययन गरौं –
देशको भूगोल जथाभावी कोर्ने विरुद्ध उठ्नु पर्छ
सहिष्णुता हाम्रो मनपरी फेर्ने विरुद्ध उठ्नु पर्छ
नसा र धमनीमा रगत छैन भने त कुरा अर्कै हो
किस्ता किस्तामा राष्ट्रियता चोर्ने विरुद्ध उठ्नु पर्छ
गजल– यस अङ्कमा सुन्दर पुरुष अनुरागको एउटामात्र गजल प्रेममा विछोडको धारणा पोख्दै प्रेयसीलाई गए पनि साथ नमाग्ने भन्दै कारुणिक धारणा राखेका छन् ।
कविता–यो अङ्कमा सात जना कविका कविताले स्थान पाएका छन् । ताराप्रसाद श्रेष्ठ हाइकुभित्र कविता शीर्षक लिएर समसामयिकतामा व्यङ्ग्य कसेका छन् । विष्णु शर्मा निर्दोषीले पनि तिम्रो कोठा शीर्षकमा अत्यावश्यक बस्तुले आकर्षक र शोभायमान तिम्रो कोठाको कसरी बयान गरुँ भन्दै प्रश्न राखेकी छन् । प्रियङ्का गौतमले जीवनलाई केलाउँदै जीवनमा रुनु पर्ने। अपहेलित हुनु पर्ने, र ज्युनु पर्ने, विवशता व्यहोर्नु पर्ने, धनी गरिब जोहोस कसैको मन ढुक्क नहुने, कसैको विडम्बना बाहिर हुने र कसैको भित्र हुने आदि धारणा राख्दै आखिर जीवन के रहेछ ? भन्दै प्रश्न राख्छिन् । युगनाथ रेग्मी गलेश्वर धाम शीर्षक लिएर, सतीदेवीले दक्षबाट शिवजीको निन्दा सहन नसकी यज्ञको अग्निकुण्डमा हामफाली प्राण त्यागेपछि महादेवले उक्त शरिर बोकेर यात्रा गर्दा सतीदेवीका अङ्ग जहाँ जहाँ खसे त्यहाँ धाम बनेका र सतीको गला खसेको स्थान गलेश्वर धामको नामले प्रसिद्ध भएको यस धाममा गलेश्वर प्रभूको आराधना, प्रार्थना गरेर पिण्ड दिएर पृतिहरूको उद्धार गर्न सकिने धारणा राखेका छन् । ढुण्डिराज शर्माले नेपाल आमाको पुकार लिएर नेपाल देश ईशको देशको रूपमा मान र देश विकासको लागि प्रजातन्त्र ल्याउ भन्ने आमाको सन्देशलाई पस्केका छन् । डण्डपाणी शर्मा पौडेलले रक्तदान जीवनदान भन्दै अठार वर्ष पुगेका र साठी वर्ष मुनिकालाई रक्तदान दिनको लागि आह्वहान गरेका छन् । शान्ति अधिकारीले हृदयमा देश हुनुपर्छ, देश र जनता स्वतन्त्र हुनुपर्छ,परिवर्तनको नाउमा ईथोपिया, हिरोसीमा नागासाकी अफगानको पीडा देशले भोग्न नपरोस् भन्ने धारणा राख्छिन् । गोविन्दराज भट्टराईको मार्क्स लेलिन र म शीर्षकको कवितामा व्यङ्गशैलीमा दर्शन र व्यवहारमा मेल नखाएको हालको परिस्थितिको यथार्थ विश्लेषणात्मक प्रस्तुति पाइन्छ ः
प्यारा जनता आज मलाई
एउटा सानो भोट दिनुहोस
कष्ट र दुःखको शोषण पीरको
अचूक एउटा गोली लिनोस्
सुन्दरप्रसाद जोशीको मेरो जीवनको लक्षमा आफ्नो जीवन भोगाइका घटनाक्रमलाई समाउँदै समाज सेवामा जीवन अर्पेको र अर्पिरहने प्रतिबद्धता आएको छ । सरस्वती शर्मा जिज्ञासुको हार्दिक श्रद्धाञ्जली कविता २०६३ सालको जनआन्दोलनमा शहीद भएका गोविन्दनाथको श्रद्धाञ्जली सभामा बाचन गिएको र उन्को त्यागप्रति समर्पित छ ।
शरण राईले सगरमाथा कोशी कर्णाली अँगालोमा बाँध्न, दुष्टहरूलाई धपाउन, झलमल्ल सुन्दर सफल समृद्ध देश निर्माणको लागि ‘उनीसँग आँट र साथ मागिरहेकी छन् ।
हाइकु–१२ वटा हइाकु खगेन्द्र प्रसाद बस्यालका र ७ वटा हाइकु विमलशर्मा पौडेलका समावेश गरिएका छन् । बस्याल र विमलका हाइकुमा विविधताले सजिएका छन् हेरौं एक एक हाइकु ः
खगेन्द्रले मान्छेलाई मोतीको रूपमा लिएका छन् र मनको ज्योति अँझै उज्यालो चाहन्छन् –
मान्छे नै मोती
अँझै उज्यालो होस
मनको ज्योति
विमलले पनि आज विश्वमा देखिएको द्वन्द्वलाई कुकुर विरालोको जस्तो ठानेका छन् –
द्वन्द्व हो कस्तो
कुकुर र बिरालो
लडेको जस्तो
समालोचना र विश्लेषण डा. षडानन्द पौड्यालको साहित्य साधना र विमर्शमा महत्वपूर्ण धारणा राख्नुभएको छ । मानवको सेवामा समर्पित कर्मशील हातहरू अत्यान्त पवित्र मानिन्छन्, दिनेका हात सधैं माथितिर हुने हुँदा जीवनमा दिन सिकौं ‘शहीदौंदेखि नै शैक्षिक प्रतिष्ठान, गुरुकुल शिक्षा, साहित्यिक संस्थाको स्थापना, साहित्य साधना, सिर्जना र विमर्शको सन्दर्भ समाजलाई दिने अर्थमा परिभाषित भएको छ’, । यसरी पौड्याल लेख्नुहुन्छ–वीरशाली पन्त, भानुभक्त आचार्य लक्ष्मीप्रसाद देवकोटा आदिका सिर्जना आर्थिक अभावका चापबाट निर्मित भएको पाइन्छ भने लेखनाथ पौड्याल,झमक घिमिरेका सिर्जना अपमान र अभावबाट नै अगाडि बढेको दृष्टि गोचर हुन्छ ।’ 
डा. षडानन्द पौड्यालको यस विश्लेषणले सिर्जनाको विमर्शमा कवि द्रोणराज उपाध्यद्वारा रचित माधुरी साहित्य प्रतिष्ठान पर्वतद्वारा प्रकाशित ‘त्रिवेणी’कविता सङ्ग्रहको कृति विमोचन कार्यक्रम२०७३ साल कर्तिक १८ गते श्रीहिमालय उच्च माध्यमिक विद्यालय, पाङ बगैंचामा (डा.षडानन्द पौड्यालद्वारा सुसम्पन्न गरिएको विमोच, स्रष्टासम्मान 
(डा. षडानन्द पौड्याललाई) गरिएको गहन समीक्षा विद्वत व्यक्तित्व हरिनारयण रेग्मीले गर्नुको साथै पाङ भूमिको राजनैतिक इतिहासको सन्दर्भ, वेद अध्ययन, ज्योतिषशास्त्रको प्राचिनता हस्तलिखित पौराणिक परम्परा, गुरुकुल शिक्षका मान्यता जो कार्यक्रममा उठान भएका थिए तिन्लाई समेत समेट्ने प्रयास गरेको छ ।
अर्को समालोचना, पेशल आचार्यको ‘सीमानाका रङ्ग सीमानाका तरङ्ग पढेपछि मनमा उठेका सुनामीहरू’ भन्ने शीर्षकमा लेखिएको छ । यस समालोचनामा समालोचकले दामोदर पुडासैनी किशोरको कृतिको समालोचनामा आजका विविध घटनाक्रमलाई समावेश गरेको पाइन्छ जो पेशलजीको लेखनको विशेषता हो भन्ने ठान्दछु म । यस समालोचनामा नेपालको चिनतिरको सीमाना पेशलले टेक्ने अवसर नपाएको तर भारततिरको सीमाना टेकेको र भारतको नाकाबन्दीको राजनीतिलाई कोट्याउँदै उन्ले भन्छन्–‘‘नेपालीहरूको राष्ट्रियता निकै बलशाली भएको देखियो । नेपाली आभा अभावमा पनि ओइलाएन बाँचिरह्यो । अनि त भारतीय कुटनीति पनि हार्यो ।’ चारैतिर सीमा बन्दभएको भए नेपालले निकै प्रगति गर्ने, सार्कमा हाल आठ देश रहेको चिन पर्यवेक्षणमा बसेको, चिन यस फोरममा बसेपछि भारत र चिनको हालीमोहाली नहोला भन्न सकिने आदि छोटो लेखमा थुप्रै धारणालाई समावेश गरेको देखिन्छ । उनले पुडासैनीको कृतिको विवेचनामा लेखेका केही हरफ यहाँ उधृत गर्न मन लाग्यो–‘उनी लेख्न मन पराउँछन् । लेख्छन् । बहुशः वर्णन र विवरणमा लेख्छन् ।
मलाई यहाँनेर एउटा सुझाव उनलाई सुझाउन मन छ । लेख्दा लेख्दै उनले थाहा पाएका सबै विषयवस्तु र तीर्यक रूपलाई झ्वाम्म हानेर उक्षितो काढ्ने शैली अख्तियारी उनले गर्ने हो भने त्यहाँका शासकहरूका निधारमा चिट चिट पसिना आउने थियो । यसमा उनको किन सीमितता छ ? त्यो मैले सोध्न सकेको छैन । उनले मलाई भलीभाँती सुझाएका पनि छैनन् ’। यस समालोचनामा पेशलले अरु सुझाव पनि दिएका छन् । पेशलका समालोचनामा सारगर्भित उदाहरण सहित आफ्नो समालोचना लेखनलाई अगाडि बढाएको पाइन्छ । पेशलले, ‘खरो लेखन नै आजको चाहना हो । माग हो । हुटहुटी हो । हामी गम्भीर पाठकहरू तपाईं लेखकहरूसँग त्यही चाहन्छौ’ भन्ने धारणाको साथमा आफ्नो समालोचनाको बिट मारेका छन् । हरिनारायण रेग्मीले त्रिवेणी कवितासङ्ग्रहको शैल्यक्रिया गरेका छन् । समालोचना छोटो छ तर तार्किक र सारतत्त्वलाई निशारण गरेर प्रस्तुत गरेको देखिन्छ । त्रिवेणी कवितासङ्ग्रह पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ४ निवासी द्रोणराज उपाध्यको प्रथम कृति हो र यसमा ४१वटा कविता समेटिएका छन् । हरिनारायण रेग्मीले त्रिवेणी कविता सङ्ग्रहको बारेमा लेख्छन्–‘त्रिवेणी साँच्चीकै त्रिवेणीको रूपमा आएको छ । यसमा ज्ञानको भण्डार, धारणाको भारी, सीपकला कौशलको अध्यात्मिक शृङ्गाबाट भरिपूर्ण देखिन्छ’ । वास्तवमा पूर्वीय दर्शनलाई अँगाली लेखिएका कविताहरू राष्ट्रिय चिन्तनको साथै नैतिकवान संसारको सिर्जनाको खोजीमा लागि परेका छन् ।
निवन्ध–यस पत्रिकामा धनञ्जय शर्मा अधिकारीको ‘अभिभावकीय भूमिका कस्तो हुनुपर्ला ’? शीर्षकमा र राजेन्द्र पहाडीको ‘भ्रमको खेती र आस्था’ शीर्षक गरी दुई वटा निवन्धहरू समावेश गरिएका छन् । आफ्नो सारा जीवन शिक्षाको उत्थानमा लगानी गरेका धनञ्जय शर्माका लेखहरूले शिक्षालाई कसरी व्यवहारमुखी बनाउने र नैतिकवान, सवल, राष्ट्रियताका भावनाले ओतप्रोत नागरिकको निर्माण कसरी गर्ने तर्फ केन्द्रित मार्गदर्शन पस्केको मैले अध्ययन गर्न पाएको छु । यहाँ अधिकारीले अभिभावकको परिभाषादिदै लेख्नुहुन्छ – ‘अँझ व्यापक अर्थमा भन्ने हो भने,बालबालिकाको हित संरक्षण गर्ने, चरित्र दिने, संस्कार दिने ज्ञान दिने, सीप सिकाउने,जो कोही व्याक्तिे अभिभावकत्व पाउन सक्छन्’ । छोराछोरी बाबु आमाका प्रतिरूप भएकाले बाबु आमाको प्रभाव छोराछोरीमा पर्छ । बाबु आमा र छोराछोरी बीचको, शिक्षक र विद्यार्थी बीचको दूरी घटाउनु पर्ने असल सन्तान उत्पादनको लागि गर्भ अवस्थादेखि नै अभिभावकत्व प्रदान गर्न सक्नु पर्ने, यसरी बाल्यकालदेखि नै अभिभावकत्व प्रदान गरेपछि जन्मेका शिशुको बाल्यकालमा पनि अभिभावकत्वको आवश्यक्ता पर्ने र अभिावकत्व प्रदान गर्दा आफू नै असल बन्नु पर्ने बालबालिकालाई असलकाममा पेरित हुने गरी व्यवहार गर्न पर्ने, उनीहरूको सकरात्मक विचारको उच्च सम्मान गर्नु पर्ने, बालबालिकालाई बालापनको पूर्ण उपभोग गर्न दिनु पर्ने । किशोरावस्थाका बालबालिकालाई व्यवहारिक र सामाजिक पनि बनाउनु पर्छ भन्दै शर्माजीले बाल मनोविज्ञानलाई अभिभावकले बुझेर अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ भन्ने गहन पक्षलाई उठान गर्नुभएको छ । अर्का निबन्धकार राजेन्द्र पहाडीले भ्रमको खेती र आस्था लिएर खडा भएका छन् । पहाडीले आफ्नो निबन्धमा मानिस विवेकशील प्राणी मानिने ठिक वेठिक छुट्याउन सक्ने,दक्षता भएको, सकरात्मक गुण भएका आदिको साथै अवगुणी र हठवादी, दम्भी हुँदै गएको, आफूमात्रै ठिक अरू वेठिक, आफै्र जान्ने जस्ता एकलकाटे धारणा कुनै पनि नेपाली अक्षुतो राखेको छैन, आफूसँग भएको गुणको पारख गर्न नसकी हीनता बोध जस्ता विविध खाले धारणालाई तुलनात्मक रूपमा पस्कदै पहाडीले दिएका सन्देशका केही पङ्तीहरू मैले यहाँ पस्कने अनुभति चाहन्छु –‘भौतिकरूपमा धेरै सम्भावनाहरू बोकेर पनि हामीसँग केही छैन भनेर विदेशीहरूको मात्र मुख हेरेर बस्ने परम्पराले कायरता मात्र हुर्काउँदछ ।’
‘माटो र हावापानी सुहाउँदो सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थाको शृर्जना अरू कसैले गरिदिन सक्दैन यो हामी आफैले गर्ने कुरा हो ।’ यी माथिका शब्दहरू आज देशको नेतृत्व गर्नेहरूको लागि अक्षरस लागु हुन्छ । पहाडीले जातीय एकतामा पनि आफ्ना आवाज बुलन्द पारेका छन्–‘टोपी लगाउने र धोती लगाउनेहरूबीच अविछिन्न एकता हुनु जरुरी छ’ । राष्ट्रियताको लागि आजको खाँचो के हो त ? भन्ने तर्फ पनि पहाडी दृढ छन् र उनी भन्छन् –हिमाल पहाड र तराई संयुक्त रूपमा उच्चतामा पुग्ने अभिष्ट बोकेर राष्ट्रियताको भावनात्मक झण्डा उठाउनु आजको जल्दो बल्दो खाँचो हो ।’ आस्थालाई पहाडीले सहासको अजस्र श्रोत पुञ्ज हो भन्ने ठान्छन् र आस्थामा ठेस लाग्न दिनु हुँदैन भन्छन् । पहाडीको यस निबन्धका प्रत्येक पङ्क्तिहरू मननयोग्य छन् । आजका यथार्थतालाई टपक्कै टिपेर लपक्कै टाँसेको भान हुन्छ ।
लघुकथा –अरुणबहादुर खत्री नदीको सोचाइ लघुकथामा दुई साथी बीच कुनै सानो सामान खेलाउँदै जाँदा पकेटमा राख्ने बानीले गर्दा चोरीको आरोपमा भएको मन मेटावको धारणा पोखिएको छ । श्रीराम श्रेष्ठको विद्यालय मन्दिरमा हामी स्मरण लेखमा बालक कालका क्रियाकलापलाई रोचकताका साथ प्रस्तुत गरिएको छ । बटटार नुवाकोटको स्कुल तत्कालीन स्कुलको जीर्ण अवस्था, बाडीले खोल्सा निर्माण गर्नु त्यसैमा विद्यार्थीहरू खेल्नु, विद्यालय रमाइलो हुँदा हुँदै पनि मरेका सैनिक गाडेका हुनाले कहिले काहीँ बिदार्थी काम्ने र एक जना विद्यार्थी त मरेको घटना, त्य समयमा टेलिभिजनको सुविधा नभएको, भीडियो हल भने भएको, सिनेमा हेर्न पाइने । 
िसनेमामा गरिएका क्रियाकलाप गर्दा एक जना साथीमा ढुङ्गाले टाउको काटेको घटना, गौसी खोलाको पौडी खेलाई, स्कुलकमा स्काउटको खेल खेलाइने, राजा वीरेन्द्रको जन्मोत्सव मनाएका कुरा, ताडी खोलामा पौडी खेल्दा साथी डुबेको र मुस्किलले बचाएको कुरा, कक्षा दशमा पढ्दा २०४६ सालको जनआन्दोलनको राँको बलेको, च्याडी विद्यालयको उन्नतिका लागि विद्यार्थी जमघट भएको आदि विवरण रोचकताको साथमा साथीभाइका नामावली समेतले यो स्मरण सजिएको छ ।
विचार – तारादेवी सुनारका लैंगिक हिंसाको झलक शीर्षकमा अन्तरबार्तालाई (विचार)लाई प्रस्तुत गरिएको छ । तारादेवी सुनारको कथन छ –‘‘जुनसुकै समाजमा पनि कुनै न कुनै रूपमा महिलाहरू हिंसावाट प्रभावित छन् ’। यसो हुनको कारणमा उनी भन्छिन् –‘पृति सत्तामा समाज, धर्म, संस्कृति र परम्परा पुरुषहरूले आँफूले चाहे जस्तो बनाउँछन् । महिलाको विवेक र क्षमताको कदर हुँदैन । यस्तो समाजमा असमनता हुन्छ यसैको उपज हो समाजमा बढदो लैङ्गिक हिंसा ।’ यस्तो लैङ्गिक हिंसाले व्यक्ति, परिवार, समाज र राष्ट्रमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ । त्यसोहुँदा लैंङ्गिक हिंसाको जिम्मेवारको कुरा गर्दा हामी सबैजानले जिम्मेवारी लिनु पर्ने हुन्छ । लैंङ्गिक हिंसा रोकथाम गर्नका लागि छोरा र छोरीमा गरिने विभेदलाई रोक्ने, सबै क्रियाकलापहरुमा महिलोको अर्थपूर्ण सहभागिताको सुनिश्चता, विभेदपूर्ण कानूनको खारेजी, नयाँ कानूनको निर्माण,दण्ड हिनताको अन्त्य गरी पीडकलाई कानूनी कार्वाही गर्ने जस्ता कार्यलाई व्यवहारमा उतार्दा लैङ्गिक हिंसालाई कम गर्न सकिने । महिला हिंसाको रोकथाम गर्न कानून पनि छन् । भएका कानूनलाई प्रभावकारी रूपमा कार्यन्वयनमा लानु पने धारणा तारदेवी सुनारले आफ्ना धारणा राखेकी छन् ।
माथि विविध विधामा विभिन्न स्रष्टाद्वारा आएका धारणालाई मैले संक्षेपीकरण गर्ने प्रयास गरेको छु । यस पत्रिकामा वरिष्ठ 
(अग्रज) साहित्यकारदेखि लिएर नवसर्जक समेतका रचनालाई समावेश गरी माधुरी साहित्य प्रतिष्ठानले पत्रिकाको गरिमालाई बढाउने प्रयास गरेको छ । भाषाशैली पनि विविधताले भरिनु स्वभाविक हो किनकि यहाँ दक्षभन्दा दक्ष साहित्यिक व्यक्तित्वका लेख रचनादेखि नवसर्जकसम्मका धारणाले स्थान पाएका छन् । यस पत्रिकामा श्रव्यदृश्यलाई समेटेको पाइँदैन । श्रव्यदृश्य (नाटक) लाई समेट्न सके यस पत्रिकाको गरिमा अँझै बढ्ने थियो भन्ने धारणा राख्न चाहन्छु ।
अतः पर्वत जिल्लामा रहेर सम्पादक सरस्वती शर्मा ‘‘जिज्ञासु’’ले यस पत्रिकालाई निरन्तरता दिनु र विभिन्न अङ्कमा विविध खाले लेख रचना र विशेषाङ्क प्रकाशन गर्दै लानु चानचुने काम होइन । उहाँको क्रियाशीलतालाई हृदय देखिनै प्रशंसा गर्दै साहित्य सिर्जनादेखि उहाँले सकृयता देखाएका सबै क्षेत्रमा थप उर्जा मिलोस् भन्दै बिदा चाहन्छु ।

Post a Comment

 
Top