0
नेपालको विद्यार्थी आन्दोलनका सुरुताकाका नेतृत्वकर्ताहरु सबैजसोले पछिल्लो समय प्रमुखदलहरुको केन्द्रीय नेतृत्वमा रहेर पार्टी र राष्टूको बागडोर सम्हालेका छन् । राणा शासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै  संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेकोमा कसैको दुईमत छैन ।
खासगरी ०४७ अगाडि दलहरु प्रतिबन्धित भएको अवस्थामा स्ववियुको भूमिकाको जुन औचित्य थियो, अहिलेको अवस्थामा त्यो भूमिकामा विभिन्न विचाररआदर्श बोकेका राजनीतिक दलहरु तथा जनवर्गीय संगठनहरु छन् ।अहिलेको विद्यार्थी संगठन राजनीतिक अभीष्ट पूरा गर्न पार्टीका स्वार्थका कारिन्दा हुन् भन्दा फरक नपर्ला । विश्वविद्यालय जस्तो नितान्त स्वतन्त्र, सभ्य र उच्च प्राज्ञिक संथामा विभिन्न  भ्रातृ संगठनको नाममा राजनीतिक दलको खोल ओढेर गरिने तोडफोड, आगजनी, गुन्डागर्दी जस्ता अराजक क्रियाकलापले शैक्षिक वातावरण दुषित पारेको त छ नै, विश्वविद्यालयको गरिमालाई नै गिराएको छ । धेरैजसो क्याम्पसमा निर्वाचनताका यति आराजकता बढ्छ, स्वयम् विद्यार्थी नै असुरक्षित हुन्छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको झोकमा मापसे गरी राति होस्टेलमा पढिरहेका विद्यार्थीलाई कुटपिट गरी आतंकित बनाएको, जबर्जस्ती अमुक पार्टीको झन्डा बोकाएको, गैरशैक्षिक मागमा क्याम्पस बन्द गराएको तीतो अनुभवसँग पंक्तिकार स्वयम् साक्षी छ ।
पछिल्लो स्ववियुको निर्वाचनको पूर्वसन्ध्यामा पनि विभिन्न आंगिक क्याम्पसमा दल निकट विद्यार्थी संगठनले यो र त्यो बहानामा स्वार्थकेन्द्रित गैरशैक्षिक माग गर्दै तालाबन्दी र तोडफोड गरे । यस्ता अराजक गतिविधि देख्दा लाग्छ, स्ववियुको निरन्तरताले विश्वविद्यालय अध्ययन(अनुसन्धान हबभन्दा पनि राजनीतिक अराजकता, गुन्डागर्दीको नर्सरी बनिरहेको छ । देशको शैक्षिक तथा राजनीतिक दुवै क्षेत्रको लागि प्रत्युत्पादक हुने यस्ता गतिविधिले स्ववियुको औचित्य छैन भन्ने मतलाई नै बल पुर्याकउँछ ।
विश्वविद्यालयको स्ववियुले अब खेल्नुपर्ने भूमिकाबारे वर्तमान तथा भूतपूर्व विद्यार्थी नेताहरु वकालत गरे पनि स्ववियुको औचित्यको बारेमा उनीहरुका तर्कहरुसँग सहमत हुने आधार छैन । अहिलेका विद्यार्थी नेताहरु आफूलाई अरुभन्दा अब्बल देखाउने रचनात्मक काम गर्नुभन्दा पनि गैरशैक्षिक क्रियाकलाप गर्न उद्यत देखिन्छन् । यसले कुनै कोणबाट पनि विश्वविद्यालयको विकासमा सहयोग गर्दैन ।
स्ववियु निर्वाचनको प्रचारमा विद्यार्थी नेताहरुको बहस सुन्दा लाग्छ, यिनीहरु राजनीतिक दलको भाषा बोलिरहेका छन् । हाम्रो संगठनले स्ववियु निर्वाचन जित्यो भने विश्वविद्यालयको गुणस्तर सुधार्छौं, दक्ष जनशक्ति निर्माण गर्छौं, रोजगारीको ग्यारेन्टी गर्छौ भन्नु जस्तो पारदर्शी झुटको पुलिन्दा अर्को हुन सक्दैन । किनकि यी कुरामा विश्वविद्यालयको कुशल नेतृत्व, समयसापेक्ष शैक्षिक नीति, दक्ष प्राध्यापक र प्रतिस्पर्धी प्राज्ञिक वातावरणको मुख्य भूमिका हुन्छ, न कि कुनै विश्वविद्यालयमा पढ्दै गरेको राजनीतिक दलको झोले विद्यार्थी संगठनको ।
एक चर्चित विद्यार्थी  नेताले आसन्न स्ववियु चुनावको सन्दर्भमा त्रिचन्द्र कलेजको प्राङ्गणमा राखेको विचार सुन्दा लाग्यो, यो स्ववियु निर्वाचन नभएर शैक्षिक संस्थामा हुने पार्टीगत निर्वाचन जस्तो हुन गइरहेको छ । उनी जस्तो युवा पुस्ताका नेता स्ववियुलाई अझै पनि लोकतान्त्रिक आन्दोलनसँग जोडेर पार्टीको मुखपत्र बक्ने ‘विङ‘ को रुपमा देखिइरहेका छन् । शैक्षिक संस्थालाई राजनीतिक गतिविधिबाट टाढा राख्ने एजेण्डा अझै बनिसकेको छैन ।
अर्का भूपू विद्यार्थी नेताको तर्क छ, विश्वविद्यालयको मर्यादा कायम गर्न, विद्यार्थीको सिर्जनात्मक र रचनात्मक विकास गर्नमा स्ववियुको भूमिका हुनुपर्छ । झट्ट सुन्दा आकर्षक लागे पनि विद्यार्थी संगठनको कुनै भूमिका देखिन्न । किनकि विश्वविद्यालयको मर्यादा कायम गर्नु भनेको विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउनु हो ।
त्यसका लागि समयसापेक्ष पाठ्यक्रम, नवीनतम ज्ञानको लागि अध्ययन(अनुसन्धान र स्वच्छ प्राज्ञिक वातावरण आवश्यक हुन्छ । यही सोचबाट राष्टू र समाजका लागि आवश्यक योग्य तथा प्रतिस्पर्धी जनशक्तिहरु उत्पादन हुने हुन् । जसका लागि विश्वविद्यालयमा राजनीतिक आस्थाको आवरणमा गरिने असक्षम दलीय नियुक्ति रोक्नु र अराजक तथा गैरप्राज्ञिक क्रियाकलापलाई निषेध गर्नुपर्छ । यसका लागि उच्च राजनीतिक प्रतिबद्धता र त्यसको कार्यान्वयन अपरिहार्य छ।
यदाकदा स्ववियु निर्वाचनलाई लोकतान्त्रिक अभ्यास, युवा नेतृत्वको विकास र विद्यार्थीको हितसँग जोडेर यसको औचित्य भएको तर्क पनि गरिन्छ । तर, अहिलेको बदलिएको समयमा यसलाई फरक ढंगले लैजान जरुरी छ । विश्वविद्यालयमा स्ववियु निर्वाचनको नाममा गरिने‘लोकतान्त्रिक अभ्यास‘ ले  राजनीतिक हस्तक्षेपलाई संस्थागत गरेको छ । जस्तो कि, निर्वाचन सहजताको लागि विश्वविद्यालयका पदाधिकारी, क्याम्पस प्रमुख, संकाय प्रमुखसम्म आफ्नो विचार निकट ल्याउन खोज्ने अनि आफ्नो विचारसँग नमिल्ने भए विभिन्न बखेडा झिकेर अवरोध तथा असहयोग गर्ने परिपाटी छ । यसले गर्दा विश्वविद्यालय राजनीतिक खिचातानीको चपेटामा परेको प्रष्ट भोग्दै आएका छौं ।
अहिलेको व्यवस्थामा स्थानीय निर्वाचनलाई लोकतान्त्रिक अभ्यास तथा राजनीतिमा भविष्य खोज्ने युवाको राजनीतिक उँचाइको प्रस्थान बिन्दु बनाउन सकेमा देशको राजनीतिले नयाँ बाटो तय गर्ने थियो । तर, विडम्बना नै मान्नुपर्छ, यसबारे राजनीतिक दलहरुलाई सोच्ने फुर्सद छैन ।
स्रोत ः अनलाइन खबर

Post a Comment

 
Top