0
गोल्डेन न्यूज संवाददाता
नेपालको पूर्वाञ्चल लगायतको क्षेत्रबाट कास्की पोखरामा आई बसोवास गरेका किरातीहरुको साझा संस्था किराँत सेवा समाज कास्कीको आगामी नेतृत्वका लागि गजेन्द्र लिम्बु निर्वाचित भएका छन् । समाजको १६औं साधारणसभा तथा आठौं अधिवेशनबाट अध्यक्ष पदमा उनी निर्वाचित भएका हुन् । सर्वसम्मतबाट नेतृत्व चयन असफल भए पश्चात पहिलो पटक निर्वाचन भएको थियो।  निर्वाचनमा गजेन्द्र लिम्बुले अध्यक्षका अर्का प्रत्यासी डिवी राईलाई ४२ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । कुल १ हजार ६९ मतदाता मध्ये ६२६ मत खसेकोमा बिजेता लिम्बुले ३१२ मत र पराजित २७० मत प्राप्त गरेको समाजका वरिष्ठ सल्लाहकार तथा निर्वाचन प्रमुख आयुक्त गणेश देवानले जानकारी दिए। कार्यसमिति प्रथम उपाध्यक्षमा विद्यामाया राई र सचिवमा नविन राई विजयी भएका छन् । आइतवार विहान सम्पन्न मतगणना अनुसार प्रथम उपाध्यक्षमा विद्यामाया राईले २८१ र अर्का प्रत्यासी नरेन्द्रकुमार राईले २२७ मत, सचिवमा नविन राईले २५० र खड्क राईले २३८ मत प्राप्त गरेका थिए ।
यसैगरी सदस्यहरुमा सुमुमाया लिम्बु सवाधिक ३५७, मीरा राई ३३०, रजिन राई ३०८, मीना राई ३०५, दिलबहादुर लिम्बु २९५, प्रेमकुमार राई २७२, भुपेन्द्र राई २६९, महेन्द्र राई २६९ र श्रीधन राई २६० मतका साथ आगामी दुई वर्षका लागि निर्वाचित भएका छन्। ९ जना कार्यसमिति सदस्यका लागि १५ जना चुनावी प्रतिष्पर्धामा रहेका थिए । कार्यसमितिको उपाध्यक्षमा प्रेम चोङवाङ, सहसचिवमा सुनिलकुमार राई र कोषाध्यक्षमा जीवन राई निर्विरोध निर्वाचित भएका छन् ।  अधिवेशनको प्रमुख अतिथि सशस्त्र प्रहरी बल कालिका गणका गणपति प्रहरी उपरिक्षक रामकुमार राईले उद्घाटन गरेका थिए ।  समाजका अध्यक्ष अरुण लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकुमार सुनुवार राईले स्वागत र सचिव खुशी राईले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष आनन्द चाम्लिङ, उपाध्यक्ष लोकेन्द्र चाम्लिङ राई, समाजका सल्लाहकार तथा निर्वाचन समितिका आयुक्त गणेश देवान, तमु धिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमु लगायतले बोलेका थिए ।

Post a Comment

 
Top