0
गोल्डेन न्यूज संवाददाता
झण्डै सात वर्ष भयो हेम्जाकोटमा होमस्टे संचालन भएको । तर पनि प्रचार–प्रसार तथा उचित व्यवस्थान हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकको संख्या अत्यन्तै न्यून थियो । पछिल्ला केहि वर्ष यता भने हेम्जाकोट होमस्टेमा पुग्ने पर्यटकको संख्या बढ्न थालेको छ । त्यसैले त त्यहाँका होमस्टे सञ्चालकहरुमा उत्साह पनि बढेको छ । ‘यो वर्ष मात्रै ठूला तीन ग्रुप आइसके’–स्थानीय हेम्जाकोट आमा समुहका अध्यक्ष मसन्ती गुरुङ्गले भनिन् ।
गाउँमा बासै बस्ने गरि पाहुना आउन थालेपछि युवाहरु पनि पाहुनाको स्वागतका लागि के गर्न सकिन्छ भनेर विभिन्न उपायहरु लगाउनतर्फ जुट्न थालेका छन् । ‘पर्यटकहरुको रमाइलोका लागि साँझ पख साँस्कृतिक कार्यक्रम तथा पञ्चेबाजाले स्वागत गर्ने गरेका छौं’–हेम्जाकोट युवा क्लवका अध्यक्ष सुन्दर गुरुङ्गको भनाई छ ।त्यति टाढा पनि छैन हेम्जाकोट । पोखराबाट मात्रै १७ किलोमिटर पर । बाग्लुङ्ग हाइवेमा रहेको फेदीबाट तीन किलोमिटर कच्चिबाटो जंगलैजंगल उत्तरतर्फ लागेपछि धिताल गाविस–७ मा रहेको हेम्जाकोट पुगिन्छ । 
त्यहाँ नपुग्दै तपाईको स्वागतका लागि पञ्चेबाजा सहित गाउँको एक हुल प्रतिक्षामा रहेका हुन्छन् । अनि फुलमाला र अबिर सहित गाउँमा तपाईको स्वागत हुन्छ । र बाजा बजाउँदै हेम्जाकोट प्राविको प्राङ्गणमा पु¥याइन्छ । केहिबेर अनौपचारिक परिचयात्मक कार्यक्रम र रमझम, नाचगान । अनि कसको घरमा को बस्ने छलफल हुन्छ । एक घरमा कति जना पाहुना राख्ने भन्नेबारे पहिल्यै निक्र्यौल भइसकेको हुन्छ । बढिमा एक हजार रुपैयाँ खर्च गरे बास बस्ने सहित साँझको खान र विहानको नास्ताको व्यवस्था मिलाइन्छ । सबैभन्दा महंगो तर पैसा खर्च गर्नुनपर्ने त त्यहाँको न्यानो आतिथ्यतानै हो । आफ्नैं नजिकका नातेदारलाई जस्तै स्वागत र सम्मापन गर्ने गर्दछन् उनीहरु । फर्कने बेला फेरी फेरी आइरहुँ जस्तो छ हेम्जाकोट । आँखा अगाडि माछाको पुच्छर जस्तै माछापुच्छ«े हिमाल देखिन्छ । त्यस्तै अन्नपूर्ण र धौलागिरी हिमालपनि राम्रो देखिन्छ । तल सलल बगेको इदी र मर्दीखोला । पश्चिममा धम्पुस गाविससंग सिमाना जोडिएको हेम्जाकोटको पूर्वतर्फ पोखरा तथा दक्षिणतर्फ सराङ्गकोट, कास्कीकोट र नाउँडाँडाको दृष्यावलोकन गर्न सकिन्छ । धार्मिक तथा ऐतिहाँसिक रुपले समेत महत्व बोकेको हेम्जाकोटमा सयौं वर्ष पुरानो जयकोटको भूमें मन्दिर छ जहाँ चैते र ठूलो दशैंमा राँगाको बलि चढाइने सदियौं पुरानो प्रचलन अहिले पनि चलिरहेको छ । गाउँको टाकुरामा रहेको कुइलीकोटमा बाइसे चौबिसे टुक्रे राजा केहि समय आएर बसेको स्थानिय अग्रज समाजसेवी खड्कबहादुर गुरुङ्ग बताउँछन् । हेम्जाकोटमा रहेको ७२ घरधुरीमध्ये १५ वटामा होमस्टे सञ्चालन गरिएको पर्यटन व्यवसायी समेत रहेका स्थानिय हर्क गुरुङ्गले जानकारी दिए । एकैपटकमा झण्डै १ सय ५० जना सम्म पाहुना राख्न सकिने गुरुङ्गको भनाई छ । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका उपाध्यक्ष समेत गरेका गुरुङ्गकै संयोजकत्वमा यहि साता नाट्टाको एक टोली उक्त गाउँमा बास बसेर फर्किएको छ । टोलीमा नाट्टा केन्द्र, पूर्वाञ्चल, सुदुर पश्चिमाञ्चल, पाल्पा च्याप्टर, बर्दिया तथा पोखराका पर्यटन व्यवसायिक लगायत रहेका थिए । टोलीमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडा, पश्चिमाञ्चल प्रहरी प्रमुख डिआइजी मधुसुधन पुडासैनी पनि सहभागि थिए । उनीहरुले गाउँमा होमस्टे सञ्चालन गरेपछि पाहुनालाई स्थानीय उत्पादन र स्थानीय शैलीमै स्वागत गर्नुपर्नेमा जोड दिए । समग्रमा हेम्जाकोटको होमस्टे राम्रै रहेको उनीहरुको विश्लेषण रहेको छ ।

Post a Comment

 
Top