0
आगामी चैत दोस्रो सातामा हुने भनिएको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण अनिश्चित बनेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेट अझै टुंगो हुन नसकेपछि प्रधानमन्त्री दाहाल चीन जाने नजाने द्विविधामा परेको बालुवाटर स्रोतले बताएको छ। चीनको हाईनान प्रान्तमा मार्च २३ देखि २६ सम्म (चैत १० देखि १३) सम्म हुने बोआओ फोरमको औपचारिक निम्तो बिहिबार साँझ आइपुगे पनि चिनियाँ राष्ट्रपति सँगको भेटघाटको कुनै टुंगो लाग्न सकेको छैन। प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपतिसँग भेट गर्नेगरी बोआओ फोरममा भाग लिन चीनबाट आफूलाई निम्तो आएको भन्दै सत्तारूढ दलका प्रमुख नेता तथा परराष्ट्रमन्त्रीलाई बालुवाटारमा अघिल्लो साता बोलाएर छलफल गरेका थिए। निम्ता आएको भए जानु उपयुक्त हुने नेताहरुले सुझाव दिएका थिए। तर सो निम्ता सरकारी च्यानलबाट नभएर चिनियाँ कम्युनिष्ट पार्टीमार्फत आएको स्रोतले बतायो। बिहीबार दिउँसोसम्म औपचारिक निम्तो नआएपछि  परराष्ट्र मन्त्रालयले चिनियाँ राजदूतसँग साँझ छलफल गरेको थियो। 

चिनियाँ राजदूतले सो निम्ताबारे अनविज्ञता प्रकट गरिन्। बालुवाटारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सक्रिय गराएपछि बिहिबार अबेर साँझ बोआओ फोरमका आयोजककर्ताको निम्तो भने आएको छ। ‘पहिले पार्टी च्यानलबाट कुरा आउँदा राष्ट्रपति चिनफिङसँग पनि भेट हुने कुरा थियो। राष्ट्रपतिसँग भेट नहुने हो भने बोआओमा हुने वार्षिक कार्यक्रममा मात्र भाग लिन प्रधानमन्त्री नजाने कि भन्ने कुरा आएको छ,’ बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री दाहालले अन्तिम टुंगो गरिनसकेको भए पनि राष्ट्रपति चिनफिङसँग भेट नहुने हो भने चीन नजाने मनस्थितिमा उनी रहेको बुझिएको छ। राष्ट्रपतिसँग भेट मिलाउनका लागि परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासले पहल भने जारी राखेको छ। चिनियाँ पक्षबाट अहिलेसम्म त्यसको यकिन जवाफ आएको छैन।

Post a Comment

 
Top