0
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले चुनाव चिन्ह गाई छानेको छ। हिजोदेखि सुरु भएको बैठकबाट चुनाव चिन्ह गाई सर्वसम्मतले पारित गरेको राप्रपाका केन्द्रीय सदस्य मोहन श्रेष्ठले सेतोपाटीलाई बताए। राप्रपाबाट आएका नेताले हलोलाई नै चिन्ह बनाउनुपर्नेमा जोड दिएका थिए भने राप्रपा नेपालमा रहेका नेताहरुले गाईलाई चिन्ह बनाउनुपर्ने माग गरेका थिए। निर्वाचन आयोगले पनि ताकेता गरिरहेकाले आजकै बैठकबाट चुनाव चिन्ह टुंगो लागेको श्रेष्ठले बताए। यस्तै बैठकले आगामी चैत ८ गते शीर्ष चार नेताको अगुवाइमा गोरखा, काठमाडौं, झापा र कञ्चनपुरबाट एकैसाथ राष्ट्रिय एकता यात्रा गर्ने निर्णयसमेत गरेको छ। आगामी चुनावमा नेकपा एमाले र नेपाली कांग्रेससँग प्रतिस्पर्धा गर्ने रणनीतिमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमालेले जस्तै मेची–महाकाली अभियानको घोषणा गरेको हो। पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकले आगामी चैत ८ देखि १२ गतेसम्म मेचीकाली राष्ट्रिय एकता यात्रा गर्ने निर्णय गरेको बैठकमा ध्रुवबहादुर प्रधानले स्थानीय तह निर्वाचनमा पार्टी परिचालन र राजेन्द्र लिङदेनले स्थानीय तह अनुसार पार्टी संरचना निर्माण विषयमा छुट्टछुट्टै प्रतिवेदन पेस गरेका थिए। मुलुकमा प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा(थापा) र राप्रपा(चन्द) पार्टी पटक पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो । व्यवस्थापिका–संसद्मा अब राप्रपाबाट ३७ जना सांसदले प्रतिनिधित्व गर्नेछन् ।

Post a Comment

 
Top