0
गोल्डेन न्यूज संवाददाता
पोखरा लेखनाथ महानगरपालिका कार्यालयले टोखा नगरपालिका काठमाडौंमा सरुवा भएका पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गानाको बिहीबार एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । ढुङ्गानाको गत चैत्र ४ गते सरुवा भएको थियो । गत असोज १९ गते साविक पोखरा उप–महानगरपालिका कार्यालयको कार्यकारी अधिकृतका रुपमा पोखरा आएका कार्यकारी अधिकृत ढुङ्गानालाई तालुक मन्त्रालयले लेखनाथ नगरपालिका कार्यालयको समेत जिम्मेवारी सुम्पिएको थियो । 
नेपाल सरकारको गत फागुन २७ गतेको निर्णयअनुसार स्थानिय तह कार्यान्वयनमा आएपछि महानगर बनेको पोखराको पहिलो कार्यकारी अधिकृतको रुपमा फागुन ३० गतेदेखि ढुङ्गानाले कार्य गर्दै आएका थिए । कार्यक्रममा बोल्दै महानगरका योजना महाशाखा प्रमुख ई. शारदामोहन काफ्लेले चैत्रभित्रै योजनाका ९० प्रतिशत कार्यहरु सम्पन्न गरेर ढुङ्गानाले नगरपालिका को इतिहास कायम गरेको बताए । 
कार्यक्रममा सहभागी नगरस्तरीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले ढुङ्गानाले कार्यकारी अधिकृतका रुपमा पोखरा रहँदा राइट अफ वे क्लियरेन्स, प्लाष्टिक मुक्त घोषणा, समयभित्रै योजनाको कार्यान्वयन, कार्यालयको आन्तरिक पूर्वाधारको सुधार, राजश्व संकलनमा कडाई तथा बढोत्तरी जस्ता सुधारका कार्यहरु गरेर छोटो समयमा नै पोखरेलीको मन जितेको बताए । बिदाई समारोहमा बोल्दै कार्यकारी अधिकृत ढुङ्गानाले आफ्नो कार्यकाल अवधिमा सहयोग गर्ने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, समाजसेवी तथा कर्मचारीलगायत सम्पूर्ण नगर वासीमा धन्यवाद ज्ञापन गरे ।
सामाजिक विकास महाशाखा प्रमुख वरिष्ठ अधिकृत ओमराज पौडेलले ढुङ्गाना कुशल प्रशासक भएको र सोका कारण छोटै समयमा सवै नगरवासीहरुको मन जित्न सफल भएको बताए ।  सामाजिक विकास महाशाखा प्रमुख ओमराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले गरेका थिए ।

Post a Comment

 
Top