0
स्वास्थ्यकर्मीले नै बालबालिकाका लागि चलाइएको खोप कार्यक्रममा अवरोध उत्पन्न गरे भन्दा सितिमिति कसैले पनि पत्याउँदैन । जीवन बचाउनु स्वास्थ्यकर्मीको पहिले धर्म हो । त्यसमा पनि बालबालिकाको स्वाथ्य त झन् सबैभन्दा बढी महत्व र प्राथमिकताको विषय हो । तर, संसारमा बिरलै हुने निन्दनीय घटना नेपालमा हुनेगर्छन् । त्यस्ता घटनामा संलग्न हुनेहरूले राजनीतिक आवरणमा सजायबाट उन्मुक्ति पाउने गरेका छन् । राजनीतिक नेताहरूबाट प्रश्रय पाएको यही दण्डीनताको संस्कारले अहिले स्वास्थ्यकर्मीहरूले नै पोलियो अभियानमा बाधक बन्ने दुस्साहस गरेका हुन् । शनिवार १५ जिल्लाका १६ लाखभन्दा बढी बालबालिकालाई पोलियो (थोपा) खुवाउने कार्यक्रम थियो । तर, स्वास्थ्यकर्मीहरूले नै अवरोध गरेकाले अधिकांश जिल्लामा त्यो पवित्र अभियान विफल भयो । त्यसरी खोप अभियान बिथोल्ने अपराधमा शैक्षिक योग्यता नभए पनि राजनीतिक निर्णयद्वारा स्वतः बढुवा भएका केही स्वास्थ्यकर्मी र विभिन्न राजनीतिक दलका भातृ संस्थाका रूपमा रहेका ट्रेड युनियनका नेताहरू संलग्न भए । तिनले पोलियो अभियान सञ्चालनका लागि केन्द्रबाट जिल्लामा पठाइएको खोप राखिएका कोल्ड चेन स्टोरमा ताला लगाउने र खोपमा संलग्न भए स्वास्थ्यकर्मीलाई समेत भौतिक आक्रमणको धम्की दिए । यो अनुशासनहीनताको पराकाष्ठा हो । यसमा अझ निन्दनीय र खतरनाक पक्ष के पनि छ भने खोप बिथोल्नेहरूले सरकारी चेतावनीलाई चुनौती दिएका छन् र कार्यक्रम बिथोलिएकोमा हर्ष प्रकट गरेका छन् । बालबालिकालाई दिइने खोप कार्यक्रम अवरुद्ध हुँदा हर्षित हुनेहरूलाई स्वास्थ्यकर्मी कहलिने र त्यसबापत सुविधा एवं संरक्षण पाउने नैतिक अधिकार हुँदैन । खोप कार्यक्रममा अवरोध उत्पन्न गर्ने कार्य मानवीयताविरुद्धको अपराध त हुँदै हो प्रचलित कानुनको उल्लंघन पनि हो । यसैले यस्तो अपराधलाई सह्य र स्वीकार्य हुनसक्तैन । खोप अभियान अवरुद्ध पार्न सक्रिय कर्मचारीहरूलाई सबैभन्दा पहिले प्रशासनिक कारबाही सुरु गर्नुपर्छ । उनीहरूको संलग्नताविना पनि खोप सञ्चालन गर्न सकिने भएकाले पोलियो थोपा राखिएको शीतभण्डारमा तालाबन्दी गर्नेहरूलाई पक्रेर थुनामा राखी स्थानीय प्रशासनको सहयोगमा ताला फुटाएर पनि खोप अभियान सञ्चालन गर्नुपर्छ । जनशक्तिको अभाव भए यस्तो पवित्र अभियानमा संलग्न हुन आह्वान गरिएमा स्वयंसेवी युवा सहयोगका लागि अग्रसर हुनेछन् । सरकारले कोल्डचेनको महत्त्व बुझेर त्यसको संरक्षण गर्नुपर्छ । कम्तिमा तिनले लगाएको ताला फुटाएर निरीक्षण गरिहाल्नु जरुरी देखिन्छ । बालबालिकालाई दिने खोप अभियान त बिथोल्न नहिचकिचाउनेले कोल्डचेनमा विध्वंश गर्दैनन् भनेर कसरी ढुक्क हुन मिल्छ ? सरकारले सबैभन्दा पहिले उनीहरूलाई काममा फर्कन चेतावनी दिने र त्यसमा अटेर गर्नेलाई बर्खास्त गर्ने प्रकिया सुरु गर्नु उचित हुनेछ । यथार्थमा अहिले जनशक्तिको अभाव पनि नहुने हुनाले शैक्षिक योग्यता नभएका र राजनीतिक संरक्षणमा ‘युनियनवाजी’ गर्नेहरूलाई सेवाबाट अवकाश लिने बाटो खोलिदिए हुन्छ । तर, जागिर छाडेर जानेमध्ये पनि यस जधन्य अपराधको नेतृत्व गर्नेहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्नुपर्छ । पहिले यस्ता अपराधमा सजाय हुने गरेको भए सम्भवतः अहिले यस्तो दुस्साहस कसैले गर्ने थिएन । दण्डहीनताको अन्त्य यो समस्या समाधानको अचुक उपाय हो । यस्तै अराजकता फैल्याउनेमा ट्रेड युनियनका नाममा क्रियाशील दलैपिच्छेका संगठनका नेतालाई तह लगाउनु आवश्यक हुन्छ । त्यसका लागि सबैभन्दा पहिले नेपाली कांग्रेस निकट संगठनको नेतृत्वमाथि कार्बाही गरेर स्वास्थ्य मन्त्रीले उदाहरण प्रस्तुत गर्नुपर्छ । स्वास्थ्यकर्मीले धर्म निर्वाह नगरेपछि तिनको संरक्षण गर्नु उचित हुनसक्दैैन ।




Post a Comment

 
Top