0
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि शुक्रवारदेखि खुलाइएको म्यादी प्रहरी भर्ना अन्तर्गत कास्कीमा आइतवारसम्म २१९ जनाले दरखास्त बुझाएका छन्। शुक्रवार, शनिवार र आईतवार तीन दिनमा २८ महिला सहित २१९ जनाले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार देशका सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने ब्यवस्था गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभरबाट स्थानिय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी भर्ना गरिनेछ । म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको समय अझै चार दिन बाँकी छ । जस अनुसार चैत्र १७ गते साझ ५ बजेसम्म भर्नाको लागि दरखास्त दिन सकिनेछ । म्यादी प्रहरीमा १८ बर्ष पूरा भई ५४ बर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा संलग्न नभएको र कुनै नैतिक पतन नभएको नेपाली नागरिकले भर्नाको लागि दरखास्त दिन पाउनेछन् । तोकिएको समयमा दरखास्त दिएकाहरुले चैत्र १८ गते सम्बन्धित स्थानमा सम्पर्क गर्नुपर्नेछ । उनीहरुको छनौट प्रक्रिया भने चैत्र १९ देखि २१ गते सम्म चल्नेछ । चैत्र २२ गतेको नतिजामा नाम निकाल्न सफल भएकाहरुलाई चैत्र २५ देखि बैशाख ८ गतेसम्म प्रशिक्षण सञ्चालन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यवधि ५५ दिनको हुनेछ ।

Post a Comment

 
Top