0
हरि पन्त/गोल्डेन 
पोखरा ५ चैत्र ।

नेपालको सुनचाँदी व्यवसाय अझै पनि विदेशी कालिगढमा निर्भर रहनुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्तहरुले बताएका छन् । उनीहरुले नेपालमा उत्पादित केही दक्ष कालिगढ विदेशिएको, केही कालिगढ विविध समस्याले पेशा परिवर्तन तथा छाडेका कारणले सुनचाँदी व्यवसाय अझैपनि विदेशी कालिगढमा निर्भर रहनु परेको बताएका हुन् । स्रोतका अनुसार कास्कीको नयाँपुलदेखि कोत्रेसम्म संचालित सुनचाँदी व्यवसायमा करिब १ हजार पाँचसय कालिगढ मध्ये आधा बढी बंगाली रहेको बताइन्छ । बंगाली कालिगढले नेपाली कालिगढको तुलनामा धेरै आकर्षक र राम्रो डिजाइन तयार गर्ने भएकाले नेपाली कालिगढको भन्दा तेब्बर बढी ज्याला लिने गरेको बताइन्छ ।

सुनचाँदी व्यवसायी संघ कास्कीका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई स्वर्णकार कल्याण समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै संघका नयाँ निर्वाचित सदस्य दीपक घिमिरेले नेपाली कालिगढ पलायन हुने अवस्थामा पुगेको र विदेशी कालिगढको आकर्षण बढ्दै गएको बताए । स्वर्णकार कल्याण समितिमा पूर्व महासचिव समेत रहेका घिमिरेले सुनचाँदी व्यवसायीमा व्यवसायी र कालिगढ बीचको सम्वन्ध नङ–मासुको जस्तो हुनुपर्नेमा त्यसो हुन नसकिरहेको बताए । उनले कालिगढका विविध समस्या रहेकाले कालिगढको समस्यामा व्यवसायी गम्भीर बन्न जरुरी रहेको बताए । उनले भने–‘कालिगढ र व्यवसायी व्यवसायका अभिन्न पाटो हुन् तर कालिगढका बग्रेल्ती समस्या हुँदा समेत व्यवसायीहरु टुलुटुलु हेर्नुका साथै उल्टै पेलेर जान खाजिरहेको अवस्था छ ।’ सुनचाँदी पेशा अझै परम्परागत ढङ्गको भएको भन्दै उनले यसलाई नयाँ ढङ्गको बहसका साथ अघि बढाउनुपर्ने खाँचो रहेको स्पष्ट पारे । सुनचाँदी पेशालाई भविष्ययमा कहाँसम्म पु¥याउने भन्ने विषयमा व्यवसायी र कालिगढ दुवै गम्भीर भएर अघि बढ्न जरुरी रहेको उनले बताए । घिमिरेले सुनचाँदी व्यवसायी बीच समानता नभएपनि व्यक्तिगत स्वार्थसंग जोडिएको एकता भने पछिल्लो क्रममा हुने गरेको आरोप समेत लगाए ।
कार्यक्रममा कालिगढ संघका केन्द्रीय अध्यक्ष भीम सेन्चुरीले राज्यको हस्तक्षेपकारी नीतिका कारण सुनचाँदी व्यवसायमा समस्या बढ्दै गएको बताए । उनले राज्यका लागि अग्रपंक्तिमा रहेर कर तिर्ने व्यवसायीको हकहित र सुरक्षाका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । व्यवसायी र कालिगढ बीच एकता र सहकार्य गरि नयाँ ढङ्गको नीति निर्माण गर्नुपर्ने भन्दै अध्यक्ष सेन्चुरीले स्वर्णकार समितिले कालिगढको ज्यालामा मात्र ध्यान नदिइ व्यवसायलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा पनि सोचिरहेको स्पष्ट पारे । उनले स्वर्णकार कल्याण समितिले कलिगढको हक, हित र सुरक्षाका लागि नयाँ नीति निर्माण गर्न लागेको जानकारी दिंदै नयाँ नीति आएपछि कालिगढका धेरै समस्या समाधान हुने बताए । 
सुनचाँदी व्यवसायी संघ कास्कीका नवनिर्वाचित अध्यक्ष निर्मल दियालीले आफू नेतृत्वको संघले कालिगढको सेवा र सुविधामा कहिल्यै कन्जुस्याइँ नगर्ने प्रतिवद्धता जनाए । उनले व्यवसायीका पनि बग्रेल्ती समस्या भएकाले ती समस्याप्रति कालिगढ पनि गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले व्यवसायी र कालिगढ मिलेर नयाँ र उपयुक्त नीति निर्माण गर्न राज्यलाई दवाव दिन जरुरी रहेको स्पष्ट पारे । अध्यक्ष दियालीले कालिगढ विनाको सुनचाँदी व्यवसाय कल्पना पनि गर्न नसकिने स्पष्ट पार्दै दक्ष कालिगढ निर्माणमा कालिगढ संघ र व्यवसायी संघ मिल्नुको विकल्प नभएको बताए ।
स्वर्णकार कल्याण समितिका अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुपलाल सुनार, सचिव विनय गहतराज र सुनचाँदी व्यवसायी संघका महासचिव मनबहादुर लामगाढे लगायतले कालिगढका लागि आश्वासन धेरै हुने गरेपनि कार्यान्वयन हुन नसकेपनि अबका दिनमा गम्भीर भएर अघि बढ्न जरुरी रहेको बताएका थिए । 
नेपालमा सुनचाँदी व्यवसायीको संख्या २२ हजार रहेकोमा  कास्कीमा मात्र करिब ६०० छन् । जसमध्ये ३५० व्यवसायीमात्र संघमा आवद्ध रहेको बताइन्छ । बाँकी रहेको व्यवसायीलाई पनि संघमा आवद्ध गराउन आफू नेतृत्वको नयाँ टीमले पहल गर्ने संघका अध्यक्ष निर्मल दियालीले जानकारी दिए ।  अध्यक्ष दियालीका अनुसार संघको शाखा ५३ जिल्लामा विस्तार भइसकेको छ । राज्यको विभेदकारी नीति, सुनचाँदी आपूर्ति र चोरी व्यवसायीका मुख्य समस्या रहेको उनले बताए ।


Post a Comment

 
Top