0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका ईन्द्र पौडेल निर्वाचित भएका छन् भने सचिव र कोषाध्यक्षमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । त्यस्तै सदस्यहरुमा अनेरास्ववियुका तीन, नेविसंघ र नयाँ शक्ति बिद्यार्थी युनियन प्यानलका तीन तथा अखिल क्रान्तिकारीका एक निर्वाचित भएका छन् । स्ववियु निर्वाचन अन्तर्गत बुधवार भएको मतदानमा कुल खसेको १३५६ मत मध्ये पौडेल ५८३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्दी नेविसंघका सुजित कोईरालालाई १२९ मत अन्तरले पराजित गरेका हुन् । कोईरालाले ४५४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सभापतिको लागि अखिल क्रान्तिकारीका उम्मेदवार साधुराम लामिछाने र क्रान्तिकारी विप्लवका सुनिल राई पनि पराजित भए ।
शुक्रवार विहान सम्पन्न मतगाणना अनुसार नेविसंघ र नयाँ शक्ति बिद्यार्थी युनियनको तर्फका उमेदवार विजय झा निर्वा्चित भए । निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका सम्राट पौडेललाई १७ मतले पराजित गर्दै झा सचिवमा निर्वाचित भएका हुन् । झा ले ४९३ मत प्राप्त गर्दा पौडेलले ४७६ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा नेविसंघ प्यानलका कमला द्वारे ४९९ मतको साथ निर्वाचित भइन् । उनले अनेरास्ववियुका शितल शर्मालाई १४० मत अन्तरले हराएकी हुन् । शर्माले ३५९ मत प्राप्त गरिन् ।
यसैगरी सदस्यहरुमा अनेरास्ववियुका किरण तिवारी 
(५९३), श्रीधर डाँगी (४८०), अनिल मण्डल (४३४) मत सहित विजयी भए । नेविसंघ र नयाँ शक्ति प्यानलबाट स्वरुप सिंह (५११), आध्या भट्टराई (४९८) प्रथम खड्का (४७६) र अखिल क्रान्तिकारीका अर्जुन नेपाल (४६७) विजयी भए । इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले स्ववियु सभापतिको नेतृत्व सम्हाल्ने मौका पाएको यो चौथो पटक हो । यसअघि नेविसंघले ३ पटक र क्रान्तिकारीले २ पटक नेतृत्व गरेका थिए ।
यसैबीच पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठ, चिकित्साशास्त्र अध्ययन संस्थान 
(नर्सिङ) क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले जितेको छ । वन विज्ञान अध्ययन संस्थानमा भने अनेरास्ववियुले जित हात परेको छ । विन्दुवासिनी संस्कृति विद्यापीठमा नेविसंघले प्यानल सहित जित हात पारेको हो । जस अनुसार सभापतिमा केशव आचार्य विजयी भए । उनले प्रतिद्वन्दी प्राज्ञिक विद्यार्थी र क्रान्तिकारीका साझा उम्मेदवार गोपाल गौतमलाई ३४ मत अन्तरले पराजित गरे । कुल ९५ मत खसेकोमा आचार्यले ६१ मत प्राप्त गरे । सचिवमा तारा पराजुली, कोषाध्यक्षमा भरत पोखरेल निर्वाचित भएका छन् भने सदस्यहरुमा गोकर्ण अर्याल, निदेशराज काफ्ले र देवेन्द्र उपाध्याय चुनिएका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान (नर्सिङ) मा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । नेविसंघबाट सभापतिमा अनामिका राजलक्ष्मी बस्नेत सहित उनको सम्पूर्ण प्यानल निर्वाचित भएको हो । कुल खसेको २५२ मत मध्ये बस्नेतले १२८ मत प्राप्त गरिन् । उनले प्रतिद्वन्दी अनेरास्ववियूकी विष्णु देवकोटालाई १० मत अन्तरले पराजित गरेकी हुन् । देवकोटाले ११८ मत प्राप्त गरिन् । बस्नेत नर्सिङ क्याम्पसको १२ औं स्ववियु सभापति बन्न सफल भएकी हुन् ।
क्याम्पसको सचिवमा वर्षा भुजेल, कोषाध्यक्षमा आरती जिसी तथा सदस्यहरुमा दीक्षा कोईराला, अनिता बस्नेत, दर्शना माकाजु, सुनिता तामाङ, जिसिका सिजापति निर्वाचित भएका छन् ।
पहिलो पटक स्ववियु चुनाव भएको जनप्रिय बहुमुखी क्याम्पसमा नेविसंघले इतिहास रचेको छ । जनप्रियमा नेविसंघ र नयाँ शक्ति विद्यार्थी युनियनको संयुक्त प्यानलबाट सभापतिमा आशिक गुरुङ विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी अनेरास्ववियूका विनोद भण्डारीलाई ५७ मत अन्तरले पराजित गरेका हुन् ।
गुरुङले कुल खसेको १ हजा २७५ मत मध्ये ६५० मत प्राप्त गरे । भण्डारीको पक्षमा ४९३ मत मात्रै खस्यो । त्यस्तै सभापतिका अन्य प्रत्यासीहरु अखिल क्रान्तिकारीका विशाल तामाङले ६२ र विप्लव निकट क्रान्तिकारीका हरि पौडेलले ३९ मत प्राप्त गरे ।
जनप्रिय क्याम्पसमा कोषाध्यक्ष बाहेक अन्य सबै पद नेविसंघ र नयाँशक्ति विद्यार्थी युनियनको पक्षमा गएको हो । स्ववियु सचिवमा नेविसंघका ध्रुवराज अधिकारी विजयी भए । तर कोषाध्यक्षमा भने अनेरास्ववियुकी करुणा गुरुङ निर्वाचित भएकी छन् । उनले संयुक्त प्यानलका सचिन रानाभाटलाई ५५ मत अन्तरले पराजित गरेकी हुन् । गुरुङले ५७५ मत प्राप्त गरेकोमा रानाभाटले ५२० मत मात्रै पाए । त्यस्तै कोषाध्यक्षका अन्य उम्मेदवारहरु अखिल क्रान्तिकारीकी मनु थापाले ८५ र विप्लव निकट क्रान्तिकारीका सन्देश बरालले ४८ मतमा चित्त बुझाए ।
जनप्रिय क्याम्पसको स्ववियु सदस्यहरुमा नेविसंघका सविना तिमिल्सिना, सुशान्त बाटाजु, किशोर भण्डारी, सागर रेग्मी, नविन पौड्याल तथा नयाँ शक्तिका सुमित्रा पौडेल र सम्राट पौडेल निर्वाचित भए । सो क्याम्पसमा समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५९३, अनेरास्ववियुले ५०८, अखिल क्रान्तिकारीले ७७, विप्लव निकट क्रान्तिकारीले ४५ र नयाँ शक्ति बिद्यार्थी युनियनले ३९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । वनविज्ञान अध्ययन संस्थान पोखरामा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधवार साझ सम्पन्न मतगणना अनुसार अनेरास्ववियूका विशाल अर्याल स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनी सहित उनको सम्पूर्ण प्यानल विजयी भएको हो ।
अर्यालले नेविसंघका रमेश बोगटी र अखिल क्रान्तिकारीका रोहितराज झा लाई पराजित गरेका हुन् । वन बिज्ञान अध्ययन संस्थानको १३औं स्ववियु सभापति निर्वाचित हुँदा उनले कुल खसेको ३२७ मतमध्ये १४० मत प्राप्त गरे । बोगटीले ११९ र झा ले ६८ मत मात्र प्राप्त गरे । संस्थानमा एमाले निकट अनेरास्ववियुले जितेको यो ११ औं पटक हो ।
यसैगरी अनेरास्ववियु प्यानलकै तर्फबाट सचिवमा सञ्जय तामाङ, कोषाध्यक्षमा प्रतिभा जिसी विजयी भएका छन् । सदस्यहरुमा प्रवेश अधिकारी, साधना रानाभाट, सुस्मिता गौतम, भरत रेग्मी र सुरज भट्ट निर्वाचित भएका छन् ।
यसैबीच नेपालकै सबैभन्दा बढी विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन आगामी २५ गते हुने भएको छ । विद्यार्थीको परिचयपत्र हराएको विवाद भएपछि १८ गतेको चुनाव स्थगित भएको थियो । हराएको परिचयपत्र क्रान्तिकारी विद्यार्थी नेताको घरमा फेला परेको समाचार समेत सार्वजनिक भइसकेको छ ।

Post a Comment

 
Top