0
नेपालको राजनीति सायद षड्यन्त्रपूर्ण र रक्तरञ्जित रहन अभिशप्त छ । यसैले त भीम मल्लको हत्यादेखि अहिलेसम्म पनि राजनीतिका नाममा रक्तपात भइरहेको छ । सप्तरीमा सोमवार भएको दुःखदायी घटना यसैको पछिल्लो उदाहरण हो । मधेसी मोर्चा र नेकपा एमालेले त एक अर्कालाई दोष दिने नै छन् सरकारभित्र पनि प्रधानमन्त्रीले गृह मन्त्रीलाई दोष दिन थालिसकेका छन् । तर, आखिरमा यी सबै दोषी भए पनि जिम्मेवारी कसैले लिनेछैनन् । यीमध्ये कुनै व्यक्ति वा पार्टी सत्ताका लागि घाँटी जोड्न हिचकिचाउने छैनन् । यसैले सप्तरीमा मारिने व्यक्तिहरूले व्यर्थमा ज्यान गुमाए । सत्ता हात पार्न उचित अनुचित सबै उपाय अपनाउन लाज नमान्ने ‘नकच्चरो’ प्रवृत्ति नेपालको राजनीतिमा लामो समयदेखि रहँदैआएको छ । मूलतः उत्तरार्धमा  षड्यन्त्र ग्रस्त मल्ल शासनको त पृथ्वीनारायण शाहको उपत्यका विजयपछि अन्त्य भयो तर सत्ताका लागि रक्तरञ्जित षड्यन्त्र नेपालको नियति बन्न छाडेन । शाह राजा र तिनका भारदार सबैको अनुहारमा रगत पोतिएको छ । राणा शासन त यसै पनि रगतको खोलो बगाएर सुरु भएको थियो र हटाउनका लागि पनि नेपाली जनताले हतियारै उठाउनु पर्रुयो । पञ्चायत कालमा रूप फेरियो तर सत्ताका लागि नागरिकको हत्या गर्ने क्रम रोकिएन । यही कालमा नेपाली कांग्रेस र नेकपा मालेले हतियार उठाए । तर, शासकहरूले हतियार उठाउने र नउठाउने धेरै विरोधीको अत्यन्त कायरतापूर्वक हत्या गरे । बीपी कोइराला २०३३ सालमा सशस्त्र आन्दोलन र भारत निर्वासनबाट फर्केपछि देशको राजनीति केही समय हिंसा मुक्त भएको थियो । त्यसपछि नै २०४६ सालमा जनआन्दोलनबाट लोकतन्त्र स्थापना भयो । दुर्भाग्य, २०५२ सालदेखि माओवादीले कथित ‘जनयुद्ध’ का नाममा सुरु गरेको हिंसा र त्यसको दमनका नाममा भएको प्रतिहिंसाले नेपालको इतिहासमै सबैभन्दा धेरैको ज्यान लियो । दोस्रो जनआन्दोलनबाट राजाको निरंकुशता त अन्त्य भयो तर राजनीतिका नाममा जनताको रगतको होली खेल्ने काम बन्द भएन । गौर नरसंहारदेखि टीकापुर हत्याकाण्ड हुँदै मधेस आन्दोलन र सप्तरी घटनासम्म पनि जुनसुकै आवरणमा होस् सत्ताका लागि जनताको रगत बगाउने अपराध हुँदै आएको छ । कुनै पनि आन्दोलन वा दमनमा नेतृत्वकर्ताहरू मारिएका छैनन् । जनसाधारणमात्रै मारिने गरेको यथार्थ हेर्दा नेपालका आन्दोलनमा सत्तालोलुपहरूले स्वार्थ पूरा गर्न जनताका छोराछोरीलाई बलि बनाएको पुष्टि हुन्छ । यसैले त जतिपटक सत्ता बदलिए पनि पीडित जनताले न्याय पाउँदैनन् । सत्ताका लागि जनताको रगतको होली खेल्नेहरूले अहिलेसम्म सजाय पाएको भने उदाहरण छैन । सायद, यसैले नेपालका नागरिक सधैँ नै फोहोरी राजनीतिको सिकार हुनेगरेका छन् । सप्तरी घटना यही शृंखलाको एउटा परिणाम हो । अब त अति भयो । यस अभिशापबाट नेपाली समाज मुक्त हुनैपर्छ । त्यसका लागि सबैभन्दा पहिले देशबाट दण्डहीनताको संस्कृतिको अन्त्य हुनुपर्छ । सप्तरीमा घटनामा दोषी जो भए पनि मानिस मारिएका छन् । यस्तो घटना क्षम्य हुनै सक्तैन । यसैले सप्तरी घटनाको राम्ररी छानबिन गरेर दोषीमाथि कानुनबमोजिम कारबाही होस् । माओवादी द्वन्द्व वा गौर वा टीकापुर काण्डको छानबिन गरेर दोषीलाई सजाय दिइएको भए सायल सप्तरी घटना हुनेथिएन । अब यस्ता घटना नदोहोरिउन् भन्ने चाहने हो भने सरकारलाई दण्डहीनता अन्त्य गर्न नागरिक समाजले पनि दबाब दिनुपर्छ । अब त नेपालको राजनीतिबाट रगतको दाग मेटियोस् । सप्तरी घटना दण्डहीनताकै पराकाष्टा हो ।





Post a Comment

 
Top