0
गोल्डेन न्यूज संवाददाता
उद्योगपति पदमज्योतीले सफल समाजमा मात्र उद्योग÷ व्यवसाय पनि सफल हुने बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष समेत रहेका ज्योतीले उद्योग व्यवसाय सफल भए मात्र सिंगो समाज समुन्नत हुने भएकोले उद्योग÷व्यवसाय सफल बन्ने वातावरण निर्माण अहिलेको आवश्यकता भएको औंल्याए ।
पोखरा उद्योग वाणिज्य संघले शुक्रबार राष्ट्रिय व्यवसायिक पहलका पदाधिकारी तथा सदस्यहरु सँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै पेशा र व्यवसाय गर्ने नागरिकहरुले आ–आफ्नो क्षेत्रमा सदाचारिता प्रदर्शन गरे देशको समुन्नति धेरै टाढा नभएको बताए । राष्ट्रिय व्यवसायिक पहल  देश सशस्त्र द्वन्द्वमा रहेको बेला स्थापना भएको संस्था हो । उद्योगी÷ व्यवसायीको पहलमा स्थापना भएको संस्थाले तत्कालीन समयमा द्वन्दरत दुबै पक्षलाई शान्ति प्रक्रियामा ल्याउन तथा गरि खाने वातावरण निर्माणका लागि दवाब सृजना गरेको थियो ।  देशले नयाँ संविधान प्राप्त गरे पनि आर्थिक उन्नतिको दिशा समात्न नसकेको परिस्थितिमा सो संस्थाले आर्थिक सम्वृद्धि, व्यवसायिक वातावरण निर्माण तथा व्यवसायीहरु लाई सामाजिक उत्तरदायित्ववोध गराउँदै आएको छ ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले व्यवसायीहरुलाई अनुकुल वातावरण प्रदान गर्नका लागि सरकारले स्पष्ट अवधारणासाथ काम गर्नु पर्नेमा जोड दिए। राज्यलाई कर तिरेर व्यवसाय गर्दा समेत झन्झट व्यहोर्नु पर्ने तथा कालाबजारियाको उपमा पाइने प्रवृत्ति अन्त्य नभएसम्म व्यवसाय मैत्री वातावरण निर्माण नहुने उनको भनाई थियो । बैंक तथा वित्तीय संस्थाहरुले एक्कासी लगानीमा व्याज बढाउँदा उत्पन्न समस्याले व्यवसायी प्रताडित बनेको सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघले अर्थमन्त्री तथा अर्थसचिवलाई ज्ञापनपत्र मार्फत समस्या समाधानको माग गरेको जानकारी गराए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले द्वन्दकालमा प्रताडित बनेका व्यवसायीहरुले पनि क्षतिपूर्ति पाउनु पर्ने माग गरे । उनले राजनीतिक दलहरुले लिने चन्दामा पारदर्शिता हुनुपर्ने माग गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले सबै क्षेत्रमा सदाचारिता अहिलेको आवश्यकता भएको बताए । सभासद उमेश श्रेष्ठले नीति निर्माण तहमा बसेकाहरुले व्यवसायीका समस्याहरु बुझ्न नसक्दा देशमा व्यवसायिक वातावरण बन्न नसकेको बताए । पोखरा उद्योग वाणिज्य संघकाम महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष शकुन्तलाल हिराचनले अब निजी क्षेत्रले स्थायित्वको लागि काम गर्ने बेला आएको बताए ।  संस्थाका सचिव सरोज पाण्डेले नेपालको निजी क्षेत्र गलत हैन असल काम गर्न तयार रहेको तर त्यसको लागि वातावरण आवश्यक भएको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन, कार्यसमिति सदस्य प्रेमबहादुर भुजेल, व्यवसायी गणेश थापालगायतले आ–आफ्नो भनाइ राखेका थिए ।



Post a Comment

 
Top