0
गोल्डेन न्यूज संवाददाता
 स्थानीय जनप्रतिनिधि नहुँदा नगरपालिको कार्यसम्पादनमा कठिनाई भएको पोखरा उप–महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ढुङ्गानाले बताएका छन । पोखरा–८, प्रतिभामार्ग टोलविकास संस्थाको १२औं साधारणसभाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकारी ढुङ्गानाले यस्तो बताएका हुन । उनले लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा टोलविकास संस्था नगरपालिकाको महत्वपूर्ण अंगको रुपमा रहेको र टोलमा आवश्यक विकास निर्माण काम टोल विकास संस्थाले गर्नुपरेको बताए । ढुङ्गानाले भने–‘पोखरा उपमहानगरपालिकामा करिब ५७० टोलबिकास संस्था रहेका छन् । सबै सक्रिय छैनन् र केही नियम बिपरित चलिरहेका छन् तिनको नियमन गरेर कार्बाही गर्न जरुरी रहेको छ ।’ कार्यक्रममा नेकपा एमालेका वाड नं ८ का अध्यक्ष राजकुमार गिरीले संस्था स्थानीय स्तरमा उदाहरणीय कार्य गरिरहेको बताउँदै यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे। नेकपा माओवादी केन्द्र  वडा नं ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुवेदीले टोल सरसफाइमा टोलबासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यसको सिको पोखरामा रहेका अरु टोल विकासले गर्न सकेमा सुन्दर नगरी बन्न समय नलाग्ने बताए । कार्यक्रममा प्रतिभा मूल सडक उपभोक्ता समितिकी संयोजक सरस्वती अधिकारीले टोलमा जानको लागि ब्यवस्थित सडक नहुँदाको अनुभव बताउँदै टोलको सुरक्षाका लागि अब सौर्यबत्ती र खानेपानीको पाइपका लागि रकम ब्यवस्था गरिदिन आग्रह गरिन् । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष रोमनाथ शर्मा, सल्लाहाकार हरि खनाल लगायतले संस्थाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।  साधरणसभामा जेष्ठ नागरिक सम्मान तथा २०७२ सालको प्रबेशिका परिक्षामा उत्कृष्ट २ जनालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष डिल्लीराम शर्माको अध्यक्षतामा भएको सभाको बन्द सत्रले सचिव पदम बस्ताकोटी र कोषाध्यक्ष कालीका चापागाइँको प्रतिवदन पारित गरेको छ ।



Post a Comment

 
Top