0
गोल्डेन न्यूज
पोखरा १३ फागुन ।
पोखराको नयाँबजार, पृथ्वीचोकस्थित सस्तो बजारमा समस्या उत्पन्न भएको करिब १ वर्ष बितिसकेको छ। नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेको उक्त खाली जग्गामा २०६९ मा पोखराको फटपाथमा रहेका व्यवसायीलाई राखिएको थियो । उक्त जग्गामा पोखराको फुटपाथ व्यवस्थापन गर्ने भन्दै पोखरा उद्योग वाणिज्य संघ, कास्कीका राजनीतिक दल, पोखरा उप–महानगरपालिका र प्रशासनको रोहबरमा व्यवसायीलाई राखिएको थियो । खाली रहेको उक्त जग्गाले सस्तो बजार संचालनमा आएपछि एकाएक चर्चामा पाउन थाल्यो । पोखरामा संचालन भएका यस्तै प्रकृतिका अन्य बजार भन्दा सस्तो बजारको चर्चा निकै छ । सस्तो बजार अन्यत्र भन्दा बढी चल्न थालेपछि सबैको ध्यान केन्द्रित गर्न सफल भएको हो । चर्चासंगै बजारमा सकारात्मक भन्दा पनि नकारात्मक नजर लगाउनेको संख्या धेरै हुन थालेको छ ।
शुरुमा करिब १ लाख रुपैयाँमात्र भाडा लिएर जग्गा दिएको नेपाल वायु सेवा निगम समेत गतवर्ष कम्तिमा ४ लाख रुपैयाँ भाडा लिने गरि टेण्डर प्रक्रियामा गयो भने हाल ११ लाख रुपैयाँ बुझ्दै आएको छ । गतवर्ष निगमको टेन्डर प्रक्रियासंगै उत्पन्न विवाद अझै मिल्न सकेको छैन । विवाद सुल्झनुको सट्टा झन–झन उग्र बन्दै गएको छ ।
शुरुमा बजार संचालक समिति र व्यवसायीले निगमको टेन्डर प्रक्रियाको विरोध एवं आन्दोलन गरेका थिए । त्यसले केही पार नलागेपछि आन्दोलन त्यत्तिकै सेलाएको थियो । उक्त बेलादेखि नै सस्तो बजारका व्यवसायीले स्टल भाडा बुझाएका छैनन् भने संचालक समितिले टेण्डर प्राप्त कम्पनीलाई छोड्न आनाकानी गरिरहेको छ । जसका कारण दुवैपक्षबीच पटक–पटक आक्रमण र झडपको प्रयास भइरहेको छ । यसको सोझो असर बजारभित्रका साना र सोझा व्यवसायीमाथि परेको छ ।
व्यवसायीहरु कहिले बजार संचालन गर्दछन् त कहिले संचालक समितिको उक्साहटमा बजार बन्द गरि आन्दोलन गर्न आउँछन् । केही दिन अघिको झडपमा परि टेण्डर पाएरु संचालक बन्न लागेका युवराज खतिवडा घाइते हुन पुगे।
निगमको टेण्डर प्रक्रियामा ३१ व्यक्ति तथा कम्पनीमध्ये सस्तो बजारबाटमात्र ५ व्यवसायी सहभागी थिए । ३१ मध्येबाट निगमको टेन्डर सूर्यदिल ग्रुप इन्भेस्टमेन्ट प्रालिले व्यवसायी युवराज खतिवडाले प्राप्त गरेका थिए । बजारबाट शिव खनाल, टंक खतिवडा, सूर्य स्टोर, सिस्ने जलजला र तरुणमणि सुवेदी टेण्डर प्रक्रियामा सहभागी भएपनि टेन्डर प्राप्त गर्न सकेनन् । बजारका सचिव टंक खतिवडा हाल बजार संचालक समितिबाट अघोषितरुपमा बाहिरिसकेका छन्। टंक खतिवडाकै कारणले बजारको समस्या बढ्दै गएको आरोप संचालक समितिले लगाउँदै आएका छन् ।
एकातिर टेण्डरको विरोध, आन्दोलन र अर्कोतिर टेण्डर प्रक्रियामा सहभागी बन्नुले बजार संचालक समितिको नियतमा खोट रहेको भन्नेहरु कम छैनन् । बजार संचालक समिति तथा व्यवसायीले टेण्डरमार्फत नभइ कानून बमोजिम सिधै निगमलाई भाडा बुझाउने भन्दै टेण्डर प्रक्रियाको विरोध एवं आन्दोन गरेका थिए। कानून बमोजिम भाडा तिर्छौं भन्ने र टेण्डर प्रक्रियाको विरोध गर्ने कुरा तर्कसंगत नहुने बजारका एक अग्रज व्यवसायी बताउछन् । उनी भन्छन्–‘निगमलाई भाडा बुझाउने कानूनी प्रक्रिया टेण्डर नै हो, त्यो बाहेक अन्य कानूनी प्रक्रिया के हुन सक्छ ?, सस्तो बजारका संचालक समिति भनिएकाहरुको यो कुरा निकै हास्यास्पद छ ।’
सस्तो बजारको यो विवादले राजनीतिक रुप समेत ग्रहण गरिसकेको छ । यो विवाद विशेष गरि २ माओवादी, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी बीच रहेको छ। यी दुवै पार्टीका तर्फबाट वक्तव्य समेत जारी भइसकेको छ । बजार संचालक समितिका संरक्षक शिव खनाल विप्लव माओवादीको जिल्ला सदस्य र संचालक सदस्य तथा व्यवसायी पूर्णजीत पुन जिल्ला सचिव हुन् । यस्तै टेन्डर पाएर संचालक बन्न लागेका युवराज खतिवडा माओवादी केन्द्र निकटका हुन् ।
निगमको टेण्डर अघि बजार संचालक समितिले यवसायीसंग भाडा उठाएर आकिरा एण्ड आकृति प्रालिका संचालक भरत गुरुङ्गलाई मासिक आठ लाख बुझाउँदै आएका थिए भने गुरुङले निगमलाई करिब ८० हजार रुपैयाँमात्र बुझाउँदै आएको बताइन्छ । टेण्डर अघि र टेण्डर पछि पनि बजार संचालक समितिले व्यवसायीसंग स्टल खरिद विक्री, भाडा र विविध बाहनामा ठूलो रकम उठाइएको समेत बताइन्छ ।
टेण्डर प्राप्त गर्ने सूर्यदील र सूर्यदीलबाट टेण्डर किनेका युवराज खतिवडाले एक रुपैयाँ नपाएपनि संचालक समितिले व्यवसायीसंग भाडा उठाइरहेको समेत खुलेको छ ।
बजार सञ्चालक समितिको नाममा शिव खनाल, केशव भुजेल नेतृत्वको समूहले अनाधिकृत रुपमा उठाएको उक्त रकम साना व्यवसायीले फिर्ता पाएका छैनन् । उक्त रकमको हिसाब–किताव माग्न जाँदा शिव खनालले साना व्यापारीलाई बजारबाटै निकाल्ने धम्की दिंदै आएको एक व्यवसायीले बताए ।  उनका अनुसार समितिले व्यवसायीबाट पानी बत्तिका लागि उठाइएको रकम समेत कसैलाई बुझाइएको छैन ।
संचालक समितिले व्यवसायी संग मासिक ६ हजार ६ सय रुपैयाँका दरले भाडा उठाएको रसिद गोल्डेन न्यूज दैनिकसंग सुरक्षित छ । यसका साथै स्टल बुकिङका लागि भनेर संचालक समितिले लिएको मोटो रकम समेत कहिं कतै देखाइएको छैन । यी दुवै कुरालाई मध्येनजर गर्ने हो भने बजार संचालक समितिले १ वर्षमा करोडौं रकम हिनामिना गरेको पुष्टि हुने र आफूहरु नै असुरक्षित हुने डरले बाहिर कुरा गर्न नसकेको बजारका एक व्यवसायी बताउँछन् । व्यवसायीबाट उठाइएका यी रकम विप्लव माओवादीका केही नेताको खल्तीसम्म पुगेको उनी दावी गर्दछन् ।
बजारको यो विवादमा सरोकारवाला निकाय पोखरा उद्योग वाणिज्य संघले केही पहल गरेपनि जिल्ला प्रशासन र नगरपालिकाले खासै चासो लिएको छैन । फुटपाथ हटाउन महत्वपूर्ण भूमिका खेलेको पोखरा उद्योग वाणिज्य संघले केही पहल गरेपनि धेरै चोसो नदिएको बजारका व्यवसायीहरुको गुनासो छ ।
यता बजारको टेण्डर स्वामित्व पाएको सूर्यदिल ग्रुप इन्भेस्टमेन्ट प्रालिले कानून बमोजिम आफूले काम गर्न पाउनुपर्ने भएपनि राजनीतिक रङ्ग दिएर आफूहरुलाई बजारभित्र पस्न समेत नदिइएको गुनासो गरेको छ । करोडौं रकम हिनामिनाको पोल खुल्ने डरले केही व्यक्ति आफूहरुको विरुद्धमा लागेको र बजारको स्वामित्व छोड्न नमानेको टेण्डर किनेर संचालक बन्न लागेको युवराज खतिवडा बताउछन् ।
शुरुमै ६६ लाख र कार्तिक १ गतेदेखि मासिक ११ लाख रुपैयाँ बुझाइरहेको सूर्य दील कम्पनीले हालसम्म पनि बजार सञ्चालन गर्न नपाउँदा ठूलो घाटा हुन पुगेको खतिवडाको गुनासो गरेको छ ।
खतिवडा बजारको स्वामित्व कानूनीरुपमै आफूको भएको भन्दै बजार संचालन गर्न नपाएपछि कानूनी लडाइँमा लागेका छन् । उनी भन्छन्–‘कानूनी रुपले नै बजार मेरो स्वामित्वमा छ । केही व्यक्तिले दादागिरी गरेर मलाई रोकिरहेका छन् ।’ ‘म कानूनी प्रक्रिया अनुसार अघि बढ्न चाहन्छु तर केही व्यक्तिले गैरकानूनी काम गरिरहेका छन्’, उनले गुनासो गर्दै भने–‘बजारका लागि मेरो धेरै लगानी परिसकेको छ । तर मैले केही पाउन सकिरहेको छैन । प्रशासन लगायत सबै ठाउँमा प्रक्रिया अघि बढाउँदा समेत प्रशासनले वास्ता गरेको छैन ।’
‘हामीले डोजर लगाइदिए साना व्यापारीबाट उठाएको पैसा फिर्ता गर्नु पर्दैन भन्ने उनीहरुलाई छ,’ खतिवडाले भने, ‘तर हामी त्यसो गर्दैनौं बरु ठगिएको पैसा फिर्ता गर्न सहयोग गर्छौं ।’ उनले आफूले बुझाएको पैसाको हरहिसाब शिव खनालसँग माग्न र नदिए सिधैं ठगी हो भनेर बुझ्न सस्तो बजारभित्रका साना व्यापारीलाई आग्रह गरे । ‘चप्पल, मोजा बेचेर गुजारा गर्ने साना व्यापारीलाई ठगेर खान पल्किएकाको कर्तुत छताछुल्ल हुने देखेर हामी विरुद्ध भ्रम फैलाइएको छ,’ उनले भने । बजार संचालक समितिलाई भ्रष्टाचार नगरेको भए प्रशासन र संचारमाध्यममार्फत हिसाब–किताव सार्वजनिक गर्न समेत खतिवडाले चुनौती दिए ।
आफूहरुले सञ्चालन गरेपछि  व्यवसायिक ठेकेदारी अन्त्य हुने डरले समिति अत्तालिएको खतिवडाको आरोप छ । आफूहरुले सुविधासम्पन्न तवरले बजार सञ्चालन गर्ने, सोही स्थानका व्यवसायीहरु सवैलाई सहुलियत भाडादरमा सोही स्थानमा नै राख्ने, नहटाउने भएकाले कुनैपनि व्यवसायी नयाँ कम्पनीसंग तर्सनु नपर्ने उनले बताए ।
यसो त नेपाल वायुसेवा निगमले पोखरा सस्तोबजारको विजुुली काटिदिन गत फागुन ११ गते नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरिसकेको छ भने उक्त मितिमा नै जिल्ला प्रशासन कार्यालयले समेत जिल्ला प्रहरी कार्यालय कास्कीलाई कार्य अघि बढाउन पत्राचार गरेको छ ।

Post a Comment

 
Top