0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी पाचौं अन्तर लायन्स फुटवल प्रतियोगिताको उपाधिका लागि लायन्स क्लब अफ पोखरा मुनाल र लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी भिड्ने भएका छन् । आइतबार सम्पन्न सेमिफाइनलमा गत संस्करणको उपविजेता समेत रहेको लायन्स क्लव अफ पोखरा टुरिजम सिटीलाई २–० ले पाखा लगाउँदै मुनाल फाइनलमा पुगेको हो । खेलमा डा. चिरायू नारायण भारी र दीपक गुरुङले समान १–१ गोलको योगदान दिए ।
यस्तै लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी सेमिफाइनलमा लायन्स क्लव अफ पोखरा डाउन टाउनलाई ट्राइब्रेकरको सिकार बनाउँदै फाइनल प्रवेश गरेको हो । खेलको निर्धारित समयमा दुवै टीमले १–१ को बराबरी खेलेपछि ट्राइब्रेकरबाट नतिजा निकालिएको हो । ट्राइब्रेकरमा चौतारीको तर्फबाट दिनेश श्रेष्ठ, विशाल बस्नेत र विशाल खड्काले गोल गरे भने डाउनटाउनको तर्फबाट विनोद गुरुङमात्र गोल गर्न सफल भएका थिए ।  यसअघि भएको पहिलो क्वाटर फाइनल खेलमा लायन्स क्लव अफ पोखरा डाउनटाउनले पोखरा ग्लोबल लेकसिटीलाई १–०, लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारीले हेम्जा क्लवलाई ४–१, लायन्स क्लव अफ पोखरा मुनालले पोखरा फेवा बेगनास चौतारीलाई २–० र अन्तिम खेलमा टुरिजम सिटीले पोखरा हेल्पफुल हेण्डलाई १–० गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए ।  लायन्स क्लव अफ पोखरा पिस सिटीद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल सोमवार हुुने क्लवका निवर्तमान अध्यक्ष टंकराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।  लायन्सहरु बीचमा आपसी भाईचाराको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पोखरामा क्रियाशिल १६ लायन्स क्लब सहभागी थिए ।  प्रतियोगिता को विजेता टीमले २५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टीमले १५ हजार ५५५ रुपैयाँ पुरस्कारको साथमा मेडल, ट्रफी प्राप्त गर्ने क्लवका संस्थापक अध्यक्ष सुदिपराज ढुंगानाले जानकारी दिए । लायन्स क्लव अफ पोखरा पिससिटीले २०६९ सालदेखि शुरु गरेको फुटवल प्रतियोगितामा ३ पटक आयोजक पिससिटी र १ पटक लायन्स क्लव अफ पोखरा सुन्दर नगरीले जितेको छ । पिससिटीले २०६९, २०७० र २०७२ मा र सुन्दर नगरीले २०७१ मा उपाधि जितेको थियो ।


Post a Comment

 
Top