0
गंगाधर पराजुली÷गोल्डेन
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबारको दिन कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा बिताए । मध्यान्ह करिब १२ बजे हेलिकोप्टरबाट सिक्लेस पुगेका देउवा साँझ ५ः३० बजेमात्र सिक्लेसबाट हेलिकोप्टरमै पोखरा फर्किएका हुन् । सिक्लेस युवा क्लवले आयोजना गरेको माघी मेला र क्लवको २२औं वार्षिकोत्सवको उद्घाटन गर्न देउवा त्यहाँ पुगेका हुने । कास्कीको क्षेत्र नं. १ स्थित पार्चे गाविसमा पर्ने सिक्लेसमा प्रत्येक वर्ष माघेसक्रातिको दिन मेला लाग्ने र ठेलो हान्ने परम्परा रहँदै आएकोमा  विगत २२ वर्षदेखि सिक्लेस युवा क्लवले वृहत् खेलकूद प्रतियोगिता समेत आयोजना गर्न थालेको हो । सिक्लेस पुगेपछि देउवाले सिक्लेसबाट नजिकै देखिने मनोरम हिमश्रृङ्खलाको अवलोकन गरे । उनी स्थानीय सर्वसाधारण तथा पुरुष र महिलाहरुसंग नजिकिएर कुराकानी गर्नुका साथै सबैसंग फोटो खिच्न समेत तयार भए । गुरुङ समदायको ऐतिहासिक र सांस्कृतिक ठाउँको रुपमा परिचित सिक्लेसको संस्कृति र परम्पराका बारेमा सभापति देउवाले धेरै जनाबाट जानकारी लिए । गाउँलेहरुसंगको भेटघाट र कुराकानीसंगै देउवाले त्यहाँििस्थत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको इको म्युजियमको समेत रुचिपूर्वक अवलोकन गरे ।  उक्त अवसरमा माघी मेला एवं क्लवको वार्षिकोत्सवको पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  उद्घाटन गरेका थिए ।  कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पर्यटकीय महत्व बोकेको र सांस्कृतिक विविधताले भरिएको सिक्लेस गाउँको साथै त्यस क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताए । काँहुखोला–दूधपोखरी ग्रामिण सडकलाई सहज  ढङ्गले सवारी साधन चल्न सक्ने बनाउने र विजयपुर खोलामा पुल निर्माण गर्न सम्बन्धमा आफू काठमाडौं फर्केपछि सम्बन्धित मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने उनले आश्वासन दिए। उनले भने–‘मैले यथाशीघ्र सडक र पुलका लागि केही बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा कुरा गर्नेछु ।’ छोटो समयको आफ्नो संवोधनमा देउवाले मुलुकलाई निकास दिन नेपाली कांग्रेस गम्भीर रहेको बताए । संविधानलाई सर्वस्वीकार्य बनाउन आवश्यक रहेको भन्दै सर्वस्वीकार्य हुन नसक्दा संविधानको पूर्ण कार्यान्वयन हुन नसकेको उनले बताए । उनले भने–‘अब गाउँ, नगर र प्रान्तीय सहित ३ तहको निर्वाचन गर्न आवश्यक छ, त्यसका लागि संविधान संशोधन र यसको कार्यान्वयन जरुरी छ ।’  नेपाली कांग्रेसले सबै पार्टीका साथै मधेशी र जनजातिहरु समेतलाई मिलाएर राजनीतिक निकास दिन गम्भीरता पूर्वक पहल गरिरहेको उनले स्पष्ट पारे । उनले भने,–‘आदिवासी जनजाति, मधेशका जनताको माग पूरा गर्न सकिएको छैन, चाँडोभन्दा चाँडो माग पूरा गर्नुपर्ने बेला आएको छ ।’ उनले घुमाउरो भाषामा संविधान संशोधनको प्रस्तावलाई परिमार्जन सहित परित गर्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री देउवाले भने–‘आन्दोलनरत जनतालाई अधिकार दिन बाँकी छ । त्यो अधिकार दिने बेला आएको छ ।’ उनले आन्दोलनरत नागरिकलाई अधिकार दिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने बताए । उनले चुनाव नगरी सुखै नभएको बताए । ‘गाउँपालिका, नगरपालिका र प्रदेशको चुनाव अहिलेको आवश्यकता हो । चुनाव नभएकाले सवैतिर लथालिंग छ,’ उनले भने, ‘चुनाव भएपछि सवैतिरको समस्या र अस्थिरताको अन्त्य हुन्छ, जनताको सहयोगमा सहरदेखि गाउँसम्म विकास हुन्छ ।’  उनले अन्नपूर्ण हिमालमुनी रहेको सिक्लेसको चर्चा गरे । उनले यस क्षेत्रमा जलविद्युतको संभावना भएकाले मादी नदीलाई सदुपयोग गरि अझै जलविद्युत उत्पादन गर्न सकिने बताए ।  नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सांसद यज्ञबहादुर थापाले काउँखोला–दूधपोखरी ग्रामिण सडकलाई स्तरोन्नति गर्नुपर्ने, सिसाघाट–सिक्लेस–मादी करिडोर खुलाउनुपर्ने आवश्यकता रहेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सम्बन्धित हाकिमलाई निर्देशन दिए सबै काम छिट्टै पुरा हुने विश्वास व्यक्त गरे । अर्का सांसद शारदा पौडेलले डाँडाकाँडाको विकास हुन सकेमात्रै पोखरा उप–महानगरपालिकालाई महानगरपालिका बनाउन मिल्ने बताइन । कास्की कांग्रेसका सभापति कृष्ण केसीले सिक्लेसको विकास निर्माणमा सबै राजनीतिक दलह एकजुट हुनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका कास्की इन्चार्ज तथा पूर्व सभासद राजकाजी गुरुङ करणले सिक्लेसको ऐतिहासिक र सांस्कृतिक पक्षको संरक्षण गर्दै यस क्षेत्रको विकासमा सबै लाग्नुपर्ने खाँचो औंल्याए । पूर्व सांसद एवं कांग्रेस नेता शुक्रराज शर्माले सिक्लेसम्म आवागमन गर्ने सडक सजिलो बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । क्लवका अध्यक्ष तिलमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय गाउँवासी र क्लवको तर्फबाट पूर्व प्रधानमन्त्री देउवाका साथै कार्यक्रमका अतिथिहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।
 
सिक्लेसमा आयोजित माघी मेला र त्यहाँ हुने विभिन्न कार्यक्रममा सहभागी हुन तथा मेलामा रमाइलो गर्न सिक्लेस बाहिरबाट समेत ठूलो संख्यामा मानिसहरु त्यहाँ पुगेका छन् । विशेषगरि सिक्लेसमा आफ्नो पुरानो घर भएका तथा काम विशेष सिक्लेस बाहिर रहेकाहरु मेलाको अवसरमा गाउँमा पुगेका छन् । सिक्लेसमा जन्मिएर हाल वैदेशिक रोजगारीका क्रममा मकाउमा रहेका लेखबहादुर गुरुङले आफ्नो गाउँप्रतिको मायाले गर्दा आफू अस्वस्थ अवस्थामा पनि मेला स्थल आइपुगेको बताए । वैसाखी टेकेर कठिनतापूर्वक मेला स्थलमा पुगेका गुरुङका अनुसार गाउँको विकासका लागि विदेशमा रहेकाहरुले सक्दो सहयोग गरिरहेका छन् । गुरुङ नेपाली जनसम्पर्क समिति मकाउका उपाध्यक्ष तथा कांग्रेसका महासमिति सदस्य समेत हुन् । उनले दिएको जानकारी अनुसार बेलायत लगायत विभिन्न स्थानबाट माघी मेलाको अवसर पारेर गाउँको विकास निर्माणमा सहयोग गर्न धेरै सिक्लेसवासीहरु आउने गर्दछन् । विगतमा नर्वेमा बसेर हाल पोखरामा शिक्षाक्षेत्रमा सक्रिय रहेकी लक्ष्मी गुरुङले पनि सिक्लेसको विकासका लागि देश विदेशमा रहेकाहरु जागरुक बन्दै गएको बताइन । सिक्लेस वासीहरु मध्ये कतिपय विदेशमा गएर राम्रो कमाइ गर्न सफल भएको भएपनि उनीहरुले आफ्नो गाउँको मायाले गर्दा घर जग्गा विक्री नगरेको र अब होटल लगायत पर्यटकीय पूर्वाधारका लागि रकम लगानी हुन थालेको बताइन । यसैबीच सिक्लेस मेलाबाट शनिबार साँझ पोखरा फर्किएका पूर्वप्रधानमन्त्री देउवाको आइतबार  स्याङ्जा जाने कार्यक्रम रहेको छ । स्याङ्जामा उनले एक क्याम्पसको उद्घाटन र स्याङ्जा कांग्रेस कार्यकर्तासंग भेटघाट गर्ने र आइतबार साँझ पनि पोखरा आउने कार्यक्रम छ । सभापति देउवा सोमबार अर्थात माघ ३ गते  बिहान कास्की कांग्रेसको कार्यालयमा  कार्यकर्ता संग घेटघाट कार्यक्रम रहेको कांग्रेस कास्कीका सभापति कृष्ण केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।








Post a Comment

 
Top