0
हरि पन्त÷गोल्डेन
नवप्रवेशी धनगढीको सुदूरपश्चिम(११ स्पोर्टिङ क्लवलाई पराजित गर्दै आयोजक सहाराले १५औं आहारारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहाराले सुदूरपश्चिमलाई ४–० गोलले पराजित गरेको हो । सहाराले सेमिफाइनल प्रवेशका लागि सिक्कम युनाइटेड फुटवल क्लवसंग शनिबार खेल्नेछ । मिडफिल्ड, सट पास र फिनिसिङमा सहारा भन्दा केही राम्रो देखिएपनि पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा लज्जास्पद हार व्यहोर्दै सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिन पुग्यो । सहारा क्लवले खेल अवधिभर पाएका पाँचमध्ये ४ अवसरलाई सुदुपयोग गर्दै प्रतियोगितामा सुखद् सुरुवात ग¥यो । सहाराको जीतमा म्यान अफ दी म्याच अर्फिकन मूलका मर्टिन एक्लैले २ गोल गरे भने रिजार्ड पुन र पिटर सगुनले १÷१ गोल गरे ।  मर्टिनले खेलको ६ र ८२ औं मिनेटमा गोल गरेका थिए भने पुनले २७ र पिटरले ३८ औं मिनेटमा गोल गरेका थिए । छैटौं मिनेटमा मर्टिनले गोल गर्दा सुदूरपश्चिमका गोलरक्षक टेकेन्द्र थापाले पत्तै पाएनन् भने पिटरले पनि करिब बीभ भागबाट एक्लै बल लगेर सुन्दर गोल गरेका थिए । यसैगरी खेलको २७औं मिनेटमा सहाराका टीम क्याप्टेन उत्तम गुरुङले डिएरिया नजिकै दिएको पासलाई सदुपयोग गर्दै रिचार्ड पुनले आकर्षक गोल गरेका थिए ।  यस्तै खेलको २०औं मिनेटमा डिएरिया नजिक उत्तम गुरुङको कडा प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक थापाले विफल तुल्याए भने ७७औं र ८०औ मिनेटमा मर्टिनले पाएका सुन्दर असर सदुपयोग गर्न सकेनन् । यता, पहिलो हाफ भन्दा दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको सुदूर पश्चिमकोतर्फबाट खेलको २१ मिनेटमा गोल लाइन नजिकै सहाराका गोलरक्षक सुजित गुरुङको हातबाट फुत्किएको बललाई भोगेन्द्र चौधरीले सदुपयोग गर्न सकेनन् भने ५८औं मिनेटमा डिएरिया नजिकबाट जीवन चौधरीको सशक्त प्रहार र ६०औं मिनेटमा करिब बीच भागबाट चेतन थारुको फ्रिकिकलाई सहाराका गोल रक्षक सुजितले विफल पारे । यस्तै ८५औं मिनेटमा दिनेश योन्जनले पाएको सुन्दर अवसलाई पनि सदुपयोग गर्न नसक्दा सुदूरपश्चिम टीम सान्त्वना गोल गर्नबाट बञ्चित भयो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले खेलकूदको माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सकेको भन्दै सहारा क्लवको प्रशंसा गरे । उनले पोखरामा धेरै कुराको सम्भावना र अवसर भएपनि ती सबै सम्भावना र अवसरको सदुपयोग गर्न नसकिएको बताए । उनले भने–‘पोखरामा खेलकूद, पर्यटन लगायतका विभिन्न सम्भावना र अवसर छन्, ती सदुपयोग गर्न सकेका छैनौं ।’ उनले  पोखराको विकासमा जति गर्नुपर्ने हो त्यति गर्न पनि नसकिएको बताए ।  पूर्व सांसद एवं पोखराका वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले सहाराको गतिविधिमा आफूहरुको सदैव साथ रहने स्पष्ट पारे । उनले सहारा क्लवले गरेको जति काम सबै संघ(संस्थाले गर्ने हो भने मुलुकको संवृद्धि टाढा नभएको स्पष्ट पारे । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष समेत रहेका उनले पोखरालाई खेलकूदको नगरि बनाउन सबै लाग्नुपर्नेमा जोड दिंदै पोखराको खेलाडी राष्ट्रिय टीमको क्याप्टेन बन्न पाउनु पोखराका लागि गौरवको कुरा भएको बताए ।  क्लवका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता संयोकजक एवं वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा र महासचिव केशवराज बरालले सहाराको गतिविधि र प्रतियोगिताबारे प्रकाश पारेका थिए ।  धनगढीमा खप्तड कपकै क्रममा चोट लागेकाले अपेक्षित खेल प्रदर्शन गर्न नसकेको सुदूरपश्चिमका टिम कप्तान मनिराम चौधरीले बताए । टिम म्यानेजर सुसन जोशीले सहारासँगको खेलको नतिजा आफ्नो टिमका लागि हालसम्मकै अप्रत्याशित भएको प्रतिक्रिया दिए । उनले भने,–‘यत्रो फराकिलो अन्तरले हाम्रो क्लव हारेको रेकर्ड थिएन ।’ खेलमा प्रदर्शन राम्रो भएपनि हेटौंडा र खप्तड कप खेलेको सहारा क्लवको टिम तुलनात्मकरूपमा आफूहरू भन्दा बलियो देखिएको बताए ।  सहाराका टिम कोच किरण श्रेष्ठले पहिलो गोल लगाउन सक्नुले खेलाडीले विपक्षीलाई दबाबमा राख्न सकेको बताए। ‘सुदूर पश्चिम नराम्रो टिम होइन,’ उनले भने, ‘तर, पहिलो गोल हामीले गरेकाले उनीहरू दवावमा परे । यसैको फाइदा उठाएर अरु गोल हुन सजिलो भयो ।’  प्रतियोगितामा बुधबार धरान फुटवल क्लव र सशस्त्र प्रहरी वलको (एपीएफ) क्लव बीच खेल हुने आयोजक सहारा क्लवले जनाएको छ । यसैबीच सहारा क्लवले खेलकुद र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने हिमश्री फुड्स प्रालिका अध्यक्ष, वरिष्ठ उद्योगपति तथा पूर्व सांसद सूर्यबहादुर केसी र मोतिमान शाक्यलाई सम्मान गरेको छ । नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी र क्लवका अध्यक्ष वीरभद्र आचार्यले उनीहरुलाई सम्मान गरेका हुन् । यसैगरी सहारा एकेडेमीको दिगो व्यबस्थापनका लागि क्लवले स्थापना गरेको अक्षयकोषमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष एवं समाजसेवी मेजर लक्ष्मी प्रसाद गुरुङले एक लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेका छन । त्यसैगरी क्लवका संस्थापक सदस्य शान्ति गुरुङले १० हजार रुपैयाँ सहयोग गरेकी थिइन ।

Post a Comment

 
Top