0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाको १३औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज शर्मा पौडेलले रेडक्रस एक निस्वार्थ अभियान भएको बताउँदै सम्पूर्ण समुदायलाई यस अभियानमा सरिक हुन अनुरोध गरे । विशेष अतिथि जिल्ला शाखा कास्कीका सदस्य तथा उपशाखा समन्वयकर्ता मंगल बहादुर नेपालीले रेडक्रस अभियानमा पोखरा ७ उपशाखाले खेलेको भूमिकाको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्तै मानवीय सेवामा समर्पित रहन आग्रह गरे । कार्यक्रममा संस्थापक सभापति चुडामणि बराल, सल्लाहकार शोभाचन्द्र बराल, नेपाली काँग्रेस वडा इकाई ७ का सभापति नविनराज बराल, मासबार आमा समूहका अध्यक्ष टिकादेवी बराल, समाजेवा युवा क्लवका अध्यक्ष अंकित बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सभाले सचिव दामोदर बरालद्वारा सांगठानिक तथा वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राममोहन आचार्यले आर्थिक प्रतिवेदन पेश गरेकोमा सर्वसम्मत पारित गरेको थियो । उक्त अवसरमा श्रीकृष्ण माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरु मध्ये ३ जनालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो भने आजीवन सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । उपशाखाका सभापति ठाकुर प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यसमिति सदस्य सूर्य बहादुर कार्की, रेडक्रसका सात सिद्धान्त वाचन कार्यसमिति सदस्य महाकाली बराल तथा कार्यक्रमको संचालन सचिव दामोदर बरालले गरेका थिए ।  यसैगरी  नेपाल रेडक्रस सोसाइटी पोखरा ८ उपशाखाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति डोलराज पाण्डेले रेडक्रसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विपत व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताउँदै अन्तर्राष्ट्रिय क्षेत्रमा रेडक्रसको कार्यक्रमको मूल्यांकन सरकारी निकायबाट वार्षिक रुपमा विपतका लागि बजेट छुट्याउने गरेको तर नेपालको सन्दर्भमा सबै कुरा आफैले व्यवस्थापन गर्नुपरेको विचार राखे । नेरेसो कास्कीका अर्थ उपसमितिका सदस्य परशुराम बरालले रेडक्रसले सामाजिक क्षेत्रमा सेवा भावले काम गर्दै आरहेको बताए । नेरेसोका विशिष्ट सदस्य तारा गिरीले नेरेसो पोखरा ८ उपशाखाले आफ्ना गतिविधिहरु लाई अझ व्यवस्थित बनाउनु पर्ने बताए । सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले रेडक्रसले अन्य सामाजिक संघसंस्थासँग समन्वय गरी कार्यक्रमहरु संचालन गर्दा अझ प्रभावकारी हुने बताए। नेरेसो पोखरा ८ उपशाखाका पूर्व सभापति सोमनाथ बरालले रेडक्रसले सामाजिक सद्भावका साथ काम गरेको बताए । नेरेसो उपशाखा ८ का आजीवन सदस्य निता बरालले सेवाभावले काम गरेकाले रेडक्रस सर्वव्यापी रहेको बताइन् । नेरेसो पोखरा ८ उपशाखाका सभापति दान बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सीता पाण्डे र कोषाध्यक्ष नवराज बरालले पेश गरेको प्रगति प्रतिवेदन र वार्षिक प्रतिवेदन एवं प्रस्तावित कार्यक्रम र लेखा प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । कार्यक्रममा सहसचिव सन्तु सुवेदीले स्वागत गरेका थिए भने सचिव सिता पाण्डेले कार्यक्रम संचालन गरेकी थिइन् ।

Post a Comment

 
Top