0
गोल्डेन न्यूज संवाददाता
संविधान कार्यान्वयनमा प्रतिवद्धता र संविधान संशोधन औचित्यहीनसहित २० बुँदे पोखरा घोषणापत्र जारी गर्दै एमाले जनवर्गीय संगठन आवद्ध मोर्चा संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण मंगलबार सकिएको छ । २० जनवर्गीय संगठनका पदाधिकारी सहभागी भएको भेला आइतबार पोखरामा सुरु भएको थियो ।  संविधान संशोधनको नाममा सरकारले सुरु गरेको तराई–मधेसी र पहाडी समुदायबीच सामाजिक विद्वेश फैलाउने काम गरेको भन्दै भेलाले निन्दा र भत्र्सना गरेको छ । संविधान संशोधन राष्ट्रघाती प्रस्ताव भएकाले फिर्ता गर्नुपर्ने, तराई–मधेस, पहाड र हिमाली क्षेत्रमा रहने सबै नेपाली तथा सबै जात जाति र समुदायहरुबीचको एकता र सामाजिक सद्भाव प्रबद्र्धनको पक्षमा भेलाले प्रतिबद्धता जनाएको छ । भूकम्पपछिको पुनर्निमार्णमा तिब्रता दिन सरकारसमक्ष माग गरिएको छ ।  

यसैगरी तोकिएको समयमै सबै निर्वाचन गर्नुपर्ने संवैधानिक सीमालाई ख्याल गर्दै तत्काल मिति घोषणा गर्न र कानुनी प्रबन्ध मिलाउन घोषणापत्रमा माग गरिएको छ । नेपालको आन्तरिक मामिलामा अनावस्यक चासो र हस्तक्षेप स्विकार्य नभएको,  छिमेकी र मित्र राष्ट्रले हाम्रो संवेदनशिलता र सार्वभौमसत्ताको सम्मान गर्न ध्यानाकर्षणपनि भेलाले गराएको छ। त्रिभुवन बिमानस्थलमा विदेशी एअर मार्सल राख्ने र कोड सेयरिङ गर्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ ।  एमाले सचिव योगेश भट्टराईले घोषणापत्र सार्वजनिक गर्दै भेलाले नेपाली क्रान्तिको सिद्धान्त मार्क्सवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिवद्धता जनाउँदै तिनको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतालाई अक्षुण्ण राख्ने, संविधानको रक्षा, सम्बर्द्धन र कार्यान्वयनमा जोड दिँदै सामाजिक न्याय र समनतामा आधारित समतामूलक नेपाली समाजको निर्माण गर्न प्रतिबद्ध जाहेर गरेको बताए ।  जनसंगठनहरु पार्टी कार्यकर्ता निर्माण गर्ने उर्वरभूमि, जनस्रोत र आधार रहेको भन्दै संगठनबाटै खारिएका गैरपार्टी सदस्यलाई पार्टी सदस्यतामा रुपान्तरित गर्ने र व्यवहारमा खारिएका पार्टी सदस्यलाई नेता कार्यकर्तामा स्थापित गर्नुपर्नेमा संगठन एकमत भएका छन् । स्वायत्त ढंगले आआफ्ना संगठन पारिचालन गर्न प्रतिवद्ध भएर लाग्ने प्रण पनि संगठनहरुले गरेका छन् । 
जनसंगठनबीचमा एकापसमा सहयोग आदानप्रदान, दोहोरो तेहोरो जिम्मेवारीको अन्त्य गरी बर्गीय संयुक्त मोर्चाको अवधारणाअनुरुप सामाजिक रुपान्तरणमा सामुहिकरुपमा क्रियाशिल हुने प्रतिवद्धता घोषणापत्रमा जाहेर गरिएको छ ।  गुटबन्दी, अनावस्यक हानाथाप र पदका लागि मरिहत्ते गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्दै पार्टीमा सोही अनुरुपका आचरण र अभ्यास प्रतिविम्ब गराउन क्रियाशील हुने, औपचारिक कार्यक्रममा अनावश्यक तडकभडकलाई अन्त्य, नेताहरुको पछि लागेकै आधारमा व्यक्तिको पदोन्नति हुने गलत अभ्यास रोक्नेलगायत बुँदामा समेटिएको छ । भेला ऐतिहासिकरुपमा सम्पन्न भएको स्थानीय व्यवस्थापन समितिका संयोजक तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले बताए । भेलालाई पार्टीका शीर्षस्थ नेताहरुले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । यसैबीच नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताएका छन् ।  प्रेस चौतारी नेपाल, कास्कीले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरे । सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै उनले राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे । हिजो संविधान च्यात्छौँ, जलाउँछाँै र मान्दै मान्दैनाँै भन्नेहरू पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे ।







Post a Comment

 
Top