0
गोल्डेन न्यूज संवाददाता
ठाडो भाकाका सर्जक दीर्घराज अधिकारी (भेडीखर्के साईला) लाई विहीबार पोखरमा सम्मान गरिएको छ । गण्डकी अञ्चलको लम्जुङ र तनहुँ जिल्लामा प्रचलित ठाडो भाकाको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै पोखरामा जारी सातौ पोखरा महोत्सवमा युनाइटेड क्लवले सम्मान गरेको हो ।  ठाडोभाकाका शिरोमणी दीर्घराज अधिकारी भेडिखर्के साइलालाई दोसल्ला, ढाकाटोपी, नगद २५ हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्रले सम्मान गरिएको हो । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगाना, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्ग बहादुर खत्री, युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवका महासचिव राजु श्रेष्ठ लगायतले संयुक्तरुपमा सम्मान गरेका थिए । सम्मान समारोहमा पोखरा भेडिखर्के साइला नामले चिनिने ठाडो भाकाका सर्जक दीर्घराज अधिकारीले ९ वर्षको उमेरदेखि ठाडो भाका गीत गाउदै आइरहनु भएको छ । सम्मानपछि बोल्दै भेडिखर्के साईला दीर्घराज अधिकारीले आफुलाइ गरेको सम्मानले ठाडोभाकाको सम्मान भएको वताए । युवा पुस्ताले आधुनिकता तिर गइरहदा ठाडो भाकानै लोप हुने अवस्थामा पुग्ने हो की भन्ने चिन्ताले सताइरहेको उनले बताए। उनले महोत्सवमा उपस्थित दर्शकहरुलाई ठाडोभाका मार्फत मनोरन्जन प्रदान गरे। त्यस्तै बिहीबार महोत्सवमा चर्चित दोहोरी गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्रा कार्की , चोलेन्द्र पौडेल लगायतले दोहोरी मार्फत मनोरन्जन प्रदान गरे । महोत्सवको सातौ दिन १५ हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको महोत्सव प्रचार–प्रसार संयोजक राजु श्रेष्ठले जानकारी दिए महोत्सवमा सातौ दिन एक करोडको कारोबार भएको छ ।  महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ राम्जी खाँड, प्रजापति पराजुली, पार्वती जिसी, नेत्र खड्का, मीना अधिकारी , पूर्ण गुरुङ, शंकर विरही गुरुङ, कमला गैह्रे लगायतको प्रस्तुति रहनेछ भने हाँस्यब्यङग्य तर्फ पोखरेली धुर्मुस र माग्ने बुढाको प्रस्तुति रहने छ । त्यसैगरी लाइभ तथा पप कन्सर्ट तर्फ स्याडोज नेपालको प्रस्तुति रहने कलाकार ब्यवस्थापन संयोजक दिनेश सुनारले जानकारी दिए ।



Post a Comment

 
Top