0
वासुदेव पौडेल
पोखराको फेवासहित कास्कीका नौ वटा ताल एकैपटक अन्तर्राष्ट्रिय महत्वको रामसार सूचीमा सूचीकृत भएको एक वर्ष पुग्नै लाग्दा यी ताल संरक्षण र विकासले प्राथमिकता पाउन थालेको छ। रामसार सचिवालयबाट आएको विज्ञको टोलीले गत वर्ष माघमा विश्व सिमसार दिवसको अवसरमा यहाँका नौवटा ताललाई रामसारमा सूचीकृत गरिएको औपचारिक प्रमाणपत्र प्रदान गरिएको थियो । सो योजनामा तालहरू रहेको स्थानको भौगोलिक अवस्था तथा संरक्षणका लागि आवश्यक पूर्वाधार विकासका विभिन्न पक्ष समेटिएको संरक्षण विकास फाउन्डेशनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए। “रामसारमा सूचीकृत पोखराको फेवातालसहितका नौवटा ताल संरक्षण एवम् विकासका लागि पाँच वर्षे योजनासहित कुल १२ अर्ब २४ करोड, ७५ लाख १६ हजार रुपैयाँ लाग्ने अनुमान योजनामा छ”, उनले भने–“पहिलो कुरा ताल संरक्षण गर्नु नै हो, तालको जग्गा अतिक्रमणका साथै व्यवस्थापन र तालमा बढिरहेका मिचाहा प्रजातिको तत्काल नियन्त्रण गर्नु छ ।” योजनाअनुसार ती तालमध्ये सबैभन्दा बढी लागत फेवातालमा लाग्ने देखिएको छ । अनुमानित कुल बजेटमध्ये फेवातालका लागि ३१ प्रतिशत छुट्याइएको छ भने त्यसपछि क्रमशः बेगनासमा २३, रूपामा १४, खाष्टे÷न्यूरेनीमा ११, मैदीमा आठ, दिपाङ्गमा सात, गुँदेमा चार र कमलपोखरीमा दुई प्रतिशत बजेट निर्धारण गरिएको पोखरेलले जानकारी दिए । योजनामा तालको संरचना, जैविक विविधताको संरक्षण, तालका माध्यमबाट आर्थिक समृद्धि र विकास, नियमन, तालसँग आश्रित उत्पीडित तथा विपन्न वर्गको उत्थानलगायतका विषयलाई समेट्ने प्रयास गरिएको उनको भनाइ छ । अन्तर्राष्ट्रियकरण भएका कारण कास्कीका यी ताल संरक्षण र विकासलाई स्थानीय निकायले आफ्नो प्राथमिकतामा राखेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले बताए। ताल संरक्षण र विकासका लागि आगामी जिल्ला परिषद्ले बजेट विनियोजन गर्ने जानकारी दिँदै उनले पोखराको फेवातालको संरक्षण एवम् विकासका लागि निर्वाचन क्षेत्र नं ३ अन्तर्गत निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत ५० लाख रुपैयँ, नगरपालिकाबाट ५० लाख रुपैयाँ र स्थानीय जनसहभागिता बाट ५० लाख गरी एक करोड ५० रुपैयाँ लाख खर्चिने योजना रहेको बताए । पछिल्लो समय जलवायु परिवर्तन र तीव्र विकासको गतिका कारण वातावरणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा जनसचेतनाका कारण ताल संरक्षण र विकासका लागि स्थानीयवासीमा पनि जागरुकता बढेको पाइन्छ । अन्तर्राष्ट्रियकरण भएका ती ताल संरक्षण र विकास राज्य वा स्थानीयवासी एक्लो प्रयासमा सम्भव नहुने बेगनास रूपा ताल संरक्षण तथा पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष दीनानाथ ढकालले बताए । रामसारमा सूचीकृत भएसँगै तालको विकासका योजना बन्ने, संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागिता बढ्ने, पर्यापर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको ढकालले बताए । रामसरामा सूचीकृत कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९२४ हेक्टर छ भने तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी यी तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६१० हेक्टर छ ।

Post a Comment

 
Top