0
गोल्डेन न्यूज संवाददाता
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निमित्त निर्देशक अमर अधिकारीले कृषि विकास बैंकले आफ्नो सेवा गाउँ–गाउँका कृषक माझ लैजान आवश्यक रहेको बताएका छन् । कृषि विकास बैंकको ५०औं वार्षिकोत्सव एवं कर्मचारी पुनर्मिलन कार्यक्रमको उद्घाटन उनले  वाणिज्य बैंकको सूचिमा नयाँ प्रविधिमार्फत कृषि विकास बैंकलाई अव्वल वनाई प्रतिस्पर्धी बैंकको रुपमा चित्रण गर्नुपर्ने बेला आएको बताए । कृषि र पशु व्यवसायलाई ध्यान दिँदै ग्राहकलाई सन्तुष्टि बनाउनु नै बैंकको सेवा भएको भन्दै अधिकारीले बैंकिङ शिक्षामार्फत गाउँ–गाउँसम्म सेवा पु¥याई मुस्कानसहितको सेवा दिनुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अधिकारीले केन्द्रबाट जारी हुने नीति र योजनालाई सघाउन र आवश्यक परे परिमार्जनमा पनि ध्यान दिन आग्रह गरे । अधिकारीले ठूला बैंकलाई ठूलैको हैसियतमा रहनुपर्नेमा जोड दिंदै कृषि विकास बैंकलाई आफ्नो शाख जोगाउन आग्रह गरे । बैंकमा लगानी गर्नेलाई राम्रो प्रतिफल दिनुपर्ने स्पष्ट पार्दै उनले कृषि विकास बैंकमा पनि नयाँ–नयाँ बैंकिङ प्रविधि भित्र्याउनुपर्ने खाँचो औंल्याए । अधिकारीले बैंक सेवक र ग्राहकलाई मालिक बनाउन सके सुझाव दिए ।  क्षेत्रीय कृषि विकास बैंक पोखराका निर्देशक राजन प्रसाद श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि स्थापित कृषि विकास बैंक आफ्नै स्रोत र पुँजी निर्माण गरेर अघि बढिरहेको जानकारी दिए । कार्यक्रमको अध्यक्षता समेत गरेका उनले बैंकलाई अझ सशक्त ढङ्गले संचालन गरि अन्य बैंकसंग प्रतिस्पर्धा गर्न सक्षक रहेको स्पष्ट पारे । कार्यक्रममा शाखा प्रवन्धक रामचन्द्र आचार्य, कानूनी सल्लाहकार कृष्णबहादुर थापा, नेपाल वित्तीय संस्था कर्मचारी संघका क्षेत्रीय सचिव लक्ष्मण पाठक, कृषि विकास बैंक कर्मचारी संघका टेकराज तिमिल्सिना, नेपाल राष्ट्रिय कर्मचारी संगठन कृषि विकास बैंकका भिमप्रसाद सुवेदी, भूपू कर्मचारी पोवनाथ घिमिरे, सालिकराम कट्टेल र बैंकका कर्मचारी भिमवहादुर रानाभाट लगायतले बैंक र बैंकको सेवा बारे प्रकाश पारेका थिए । बैंकका शाखा अधिकृत हिमलाल श्रेष्ठको सञ्चालनमा रहेको कार्यक्रममा वीस वर्षे सेवा पदकको प्रमाणपत्रसहित अर्जुनप्रसाद वराल, उत्कृष्ट ग्राहक टीकाबहादुर कार्की, तेजबहादुर भट्टराई, जयबहादुर खत्री र बलराम पराजुलीलाई सम्मान गरिएको बैंकका कर्मचारी रामकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुले  कृषि विकास बैंकलाई पूर्ण बैंकिङ सेवामा लैजानुपनेमा जोड समेत दिएका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन गरिएको बैंकले जनाएको छ ।

Post a Comment

 
Top