0
विष्णुहरि पौडेल
लेखनाथ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७४÷७५ का लागि २६ करोड बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको २४औं नगरपरिषद्बाट पारित योजना, नीति तथा कार्यक्रम सोमवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कार्यकारी अधिकृत नवराज ढुंगानाले आगामी आर्थिक बर्षको लागि कुल २६ करोड ४० लाख ५२ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए । चालु आर्थिक बर्ष २१ करोड ५२ लाख २० हजार रुपैया रहेकोमा आगामी बर्षका लागि झण्डै पाँच करोड बढी प्रस्ताव गरिएको हो । कुल बजेट मध्ये पूर्वाधार तथा संरचना विकासमा ८ करोड ८८ लाख ९६ हजार, कृषि वन तथा वातावरण तर्फ ५५ लाख ४१ हजार, जनसंख्या तथा सामाजिकतर्फ ११ करोड ३६ लाख २४ हजार, संगठन तथा प्रशासन तर्फ ५ करोड ८ लाख ४१ हजार र जलस्रोत तथा भूमि शीर्षकमा ५१ लख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको ढुंगानाले जानकारी दिए । बजेटको कुल आन्तरिक श्रोत तर्फ ४ करोड ६६ लाख ८२ हजार अर्थात् १७.६८ प्रतिशत र वाह्य श्रोत तर्फ २१ करोड २१ करोड ७३ लाख ७० हजार अर्थात् ८२.३२ प्रतिशत अनुमान गरिएको छ । आगामी आर्थिक बर्षको लागि प्रस्तावित बजेटमा खर्च ब्यहोर्ने मसख्य श्रोतकारुपमा आन्तरिक श्रोत तर्फ स्थानीय करबाट एक करोड ९८ लाख ८० हजार रुपैयाँ, सेवा शुल्कबाट १५ लाख ४० हजार, दस्तुरबाट २ करोड ३९ लाख ५० हजार, विक्रीबाट ६ लाख र अन्यबाट ७ लाख १२ हजार अनुमान गरिएको छ । यसैगरी वाह्य आय तर्फ नेपाल सरकारबाट अनुदान १५ करोड ४५ लाख २० हजार, राजस्व वाडफाँड तथा रजिष्ट्रेशन मार्फत २ करोड ४० लाख एबं अन्य निकायबाट एक करोड ३८ लाख ५० हजार र लागत सहभागिताबाट २ करोड ५० लाख प्राप्त हुने लक्ष्य राखिएको छ । नयाँ नीति तथा कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्रका सार्वजनिक जग्गाको लागत तयार गर्ने, जथाभावी भइरहेको जग्गा प्लटिङलाई व्यवस्थित गर्न नगरपालिकाका कार्यकारी अधिकृतको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि संलग्न कार्यदल गठन गर्ने, वेगनासतालमा आधुनिक पर्यटन गतिविधि समावेश गर्न संभाव्यता अध्ययन गर्ने , फोहोर ब्यवस्थापनका लागि पोखरा उप–महानगरपालिकासँग साझेदारी गर्ने विषय उठान गरिएको छ । लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत ढुंगानाले बजेट प्रस्तुत गर्दै लेखनाथ नगरपालिका पनि पोखरा महानगरपालिकाको रुपमा रहने पक्का भएको अवस्थामा लेखनाथका लागि अहिले बनाइएका योजनाको सफल कार्यन्वयन गर्नु पर्ने बताए । यो बजेट लेखनाथको विकासमा ऐतिहासिक बनाउन सबै नागरिक र सरोकारवालाको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए ।  कार्यकारी अधिकृत वडावासीहरुको सहभागितालाई प्राथमिकता दिंदै उनीहरुको योजना आफै छानून् भन्ने उद्देश्यले नगरको वडा विकासका लागि गत बर्ष विनियोजन गरेको रकममा थप विनियोजन गरिएको छ ।  नागरिकले तिरेको करबाट आफ्ना मुख्य प्राथमिकताका योजना आफै छनौट तथा संचालन गर्ने व्यवस्थाका लागि एकीकृत सम्पत्तिकरबाट प्रत्येक वडामा नगरका सडकलाई कालोपत्रे गर्दै लैजाने नीतिलाई अवलम्बन गर्दै जाने उनले बताए ।   कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले प्रस्तुत बजेट जनतामुखी भएको र व्यवस्थित जग्गा विकास योजनाहरुलाई सफल कार्यन्वयन गर्न सुझाव  दिँदै लेखनाथलाई नयाँ पोखरा बनाउन सकिने धारणा राखेका थिए। लेखनाथ नगरपालिकाका इन्जिनियर रविचन्द्र घिमिरेले संचालन गरेको सो कार्यक्रममा कानूनी सल्लाहकार राममणि अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।




Post a Comment

 
Top