0
गोल्डेन न्यूज संवाददाता
त्रिभुवन विश्वविद्यालयबाट भएको विभेदको विरुद्ध नेपाल पब्लिक क्याम्पस संघलाई आन्दोलनमा जान पब्लिक क्याम्पसहरुले दवाव दिएका छन् । नेपाल पब्लिक क्याम्पस संघ प्रदेश नं. ४ को शनिवार पोखरामा सम्पन्न प्रथम प्रादेशिक भेलाले संघको नेतृत्वलाई विभेदको विरुद्ध आन्दोलन गर्न दवाव दिएका हुन् । भेलामा सहभागी पब्लिक क्याम्पसका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघका सभापतिहरुले कडा आन्दोलन गर्नुपर्नेमा जोड दिंदै त्यसमा सबै क्याम्पसहरुले साथ दिने प्रतिवद्धता जनाएका थिए । प्रदेश नं. ४ अन्तर्गत ९ जिल्लामा ७७ पब्लिक क्याम्पस छन् । ती सबै क्याम्पसहरु त्रिविविबाट सम्वन्धन प्राप्त क्याम्पसहरु हुन् । त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसको तुलनामा ती सवै क्याम्पसहरु माथि ठूलै विभेद गर्ने गरेको भेलामा सहभागी क्याम्पस प्रमुखहरुले खुलासा गरेका छन् ।  त्रिविविका आंगिक क्याम्पसहरुको सबै खर्चहरु सरकार ब्यहोर्ने गर्दछ तर सम्वन्धन प्राप्त क्याम्पसहरुको खर्च भने क्याम्पस आफैले जटाउनुपर्ने बाध्यता छ । नगन्य मात्रामा सानो अनुदान आयोगबाट मात्र प्राप्त हुने गरेको क्याम्पसहरुले जनाएको छ। 
‘योग्यता र क्षमता समान हुने भएपनि आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुलाई सबैखाले सुविधा छन् भने आर्थिक अभावका कारण पब्लिक क्याम्पसका प्राध्यापकहरु न्यून तलव लिने गरेका छन् । कतिपय कमजोर आर्थिक अवस्थाका प्राध्यापकहरुले महिनौंदेखि पारश्रमिक पनि बझेका छैनन्’–भेलामा सहभागी प्राध्यापकहरुले भने । उनीहरुका अनुसार आर्थिक संकटमा रहेका पब्लिक क्याम्पसहरु माथि चर्को शुल्क लगाएर त्रिविविले शोषण गरेको आरोप पनि लगाएका छन् । त्रिविले पब्लिक क्याम्पसलाई नविकरण वापत शुल्क लिने गरेको छ । नविकरण शुल्क पनि मनपरी छ । क्याम्पसमा संकाय थप गर्नका लागि ६० हजार रुपैयाँ लिने गरेको छ । भर्ना भएका विद्यार्थी पिच्छे परीक्षा दस्तुरको अलावा मनोमानी सेवा शुल्क लिने गरेको बताइन्छ  छ । “जनताले खोलेको क्याम्पसमा राज्यले लगानी गर्नुपर्नेमा उल्टो त्रिविले हामीसँग पैसा उठाएर आफ्ना आंगिक क्याम्पस चलाउने गरेको छ’,–नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष भोला ओझाले भने । भेलामा वोल्दै अध्यक्ष ओझाले भने–‘हामीमाथि विभेद भएको छ । त्यसको विरुद्ध आवाज उठाउँदै आएका छौं निकट भविष्यमानै आन्दोलनमा जान्छौं, त्यसमा तपाईहरुको सबैको साथ चाहिन्छ ।’ उनले आन्दोलन पठन–पाठन ठप्प पारेर कडा ढंगको हुने बताए । भेलामा संघका पूर्व अध्यक्ष बैकुण्ठ न्यौपाने, निवर्तमान अध्यक्ष डा. इश्वर गौतम, केन्द्रीय उपाध्यक्ष शिवराज सञ्जेल, सत्रुधन प्रसाद गुप्ता, पूर्व केन्द्रीय उपाध्यक्ष धनलाल महर्जन, महासचिव कृष्ण प्रसाद न्यौपाने, उपमहासचिव अम्व भवानी कार्की, कोषाध्यक्ष झपेन्द्र भुषाल, कास्कीका संयोजक ऋषि वुढाथोकी लगायतले केन्द्रीय नीतिको वारेमा जानकारी गराउँदै आन्दोलनमा जान तयारी रहन आग्रह गरे । भेलामा पब्लिक जनप्रिय क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष दामोदर चालिसे, जनज्योती क्याम्पस भिमादका अध्यक्ष जितप्रसाद आले लगायतले पब्लिक क्याम्पसहरुको गुणस्तर र आर्थिक पारदर्शिताको वारेमा चर्चा गरेका थिए ।  नेपाल पब्लिक क्याम्पस संघ प्रदेश नं. ४ का संयोजक एवं जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख वीरञ्जी गौतमको अध्यक्षतानमा भएको कार्यक्रममा स्वागत सह–संयोजक देवन्द्रवहादुर खत्री र सञ्चालन सचिव राजेन्द्र प्रसाद अर्यालले गरेका थिए । भेलामा पब्लिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घटदै जानु, आर्थिक श्रोतको अभावको कारण क्याम्पसहरुले आर्थिक संकट बारे चर्चा गरिनुको साथै दश जोड दुइका कक्षाहरु हटाउने नीतिको ब्यापक विरोध भएको थियो । उनीहरुले पब्लिक विश्वविद्यालय स्थापनका लागि भएको पहललाई अझ शसक्तरुपमा आवाज उठाउनुपर्नेमा समेत जोड दिएका थिए ।

Post a Comment

 
Top